काठमाडौं । शुक्रबारदेखि सुरु भएको नेपाली काँग्रेसको बैठकमा नेताहरु दुइ भागमा विभाजित बने । एक पक्ष वर्तमान सत्ता गठबन्धनसँगै मिलेर चुनावमा जानुपर्ने पक्षमा उभिए भने अर्को पक्षचाहिँ काँग्रेस एक्लै चुनावमा जानुपर्ने पक्षमा उभिए । प्रधानमन्त्री शेरबहादुर देउवाले यही विषयमा बैठकमा आक्रामक रुपमा प्रस्तुत भए । चितवनका नेता तथा हालैको महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका दिनेश कोइरालासँग देउवा आक्रोशित बनेका हुन् ।
कोइरालाले गठबन्धनको विपक्षमा धारणा राखेपछि कांग्रेस सभापति शेरबहादुर देउवा आक्रोशित बनेका थिए । देउवाले सक्छौ भने एक्लै क्याम्पसको चुनाव देखाउ भन्दै आक्रोश पोखेका थिए । ‘क्याम्पसमा चुनाव जित्नुहुन्न। कहीँ कतै जित्नुहुन्न। खालि हामी बलियो छौं भन्नुहुन्छ। अनि गठबन्धनको विरोध गर्नुहुन्छ’, देउवाले भनेका थिए ।
‘एक्लै भिड्नुपर्छ। यदि कहीँ गठबन्धन गर्नुर्पयो भने स्थानीय स्तरबाटै त्यहाँको आवश्यकता र चाहना छलफल गरेर मात्रै गर्नुपर्छ। केन्द्रबाट लादिनुहुँदैन’ कोइरालाको भनाइ थियो।उनले एमाले र माओवादी फुटेकाले काँग्रेस नै बलियो भएको धारणा राखेका थिए । ‘यतिबेला पनि कांग्रेस सिंगल लडेन भने कहिले लड्ने ?’ भन्ने उनको प्रश्न थियो । काँग्रेसका गगन थापासहित शेखर कोइरालालगायत कुनै पनि हालतमा गठबन्धन गर्न नहुने कित्तामा छन् ।
काँग्रेसभित्रै चुनावी गठबन्धनको विषयमा कचिंगल रहेका बेला माओवादीकै केही नेता पनि एमालेसँग गठबन्धन बनाउन लागिपरेको खुलेको छ । माओवादीका अध्यक्ष प्रचण्डले आफ्नै तागतका बलमा चुनावमा जानुपर्ने बताइरहँदा सो पार्टीका एउटा समूह भने अन्तर्राष्ट्रिय लबिइङमै लागेको खुलेको हो । नेता वर्षमान पुनसहितका नेताहरु काँग्रेससँग नभइ एमालेसँग गठबन्धन गर्नुपर्ने भनेर लबिइङमा लागिपरेका हुन् ।
पुन अहिले त्यसकै लबिङमा चीनमा रहेका छन् । उपचारको नाममा श्रीमती ओनसरी घर्ती र पार्टी नेता देव गुरुङसँगै चीनमा रहेका उनी राजनीतिक लबिङकै लागि त्यसतर्फ गएको स्रोतको भनाइ छ । विगतमा कृष्ण बहादुर महराले जस्तै चिनियाँ नेताहरुसँग अहिले पुनले राम्रो सम्बन्ध बनाएको बताइएको छ । उपचारको फलोअप भनिएपनि उनी कम्निङ सम्मेलनमा सहभागी हुने र त्यहीबाट चीनसँग उच्चस्तरीय छलफल गर्ने स्रोतको भनाइ छ । स्रोतका अनुसार पुनले गठबन्धनका लागि एमालेसँग पनि एकचरण छलफल गरेका थिए भने अहिलेको गठबन्धन भत्काउनका लागि एमाले अध्यक्ष केपी ओली पनि सकारात्मक रहेका छन् ।
ओलीकै चाहना अनुसार एमाले उपाध्यक्ष विष्णु पौडेल समेत चीन गएका थिए । पौडेल शुक्रबार स्वदेश फर्किसकेका छन् ।
चीनको कुन्मिङमा आयोजित एक कार्यक्रममा सहभागी हुन भन्द पौडेल नेतृत्वको प्रतिनिधिमण्डल गत सोमवार चीन गएको थियो ।सो प्रतिनिधिमण्डलमा उपाध्यक्ष पौडेलसहित स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष पुष्पराज कँडेल र केन्द्रीय सदस्य मीना रखाल थिए । सो क्रममा पौडेललगायतले वामपन्ती गठबन्धन बनाउने विषयमा चिनियाँ नेताहरुसँग छलफल गरेको स्रोतका दावी छ।
नेपालको संसदबाट एमसीसी पारित गराउन सन्दर्भमा चीन विपक्षमा रहेको थियो । चीनको चर्को लबिङका बीच पनि काँग्रेसको जोडबलमा एमसीसी पारित भएको थियो । उसो त चीन र काँग्रेसको सम्बन्ध राम्रो छैन भने वर्तमान देउवा सरकारले चीनसँगको सीमा विवाद उचाल्दै आएको छ ।सीमा विवाद उचालेको विषय एमालेको हालै सम्पन्न केन्द्रीय समिति बैठकमा पनि उठेको थियो । अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदनमा विवाद नै नभएको सीमासम्बन्धी विषय वर्तमान सरकारले उचालेको भन्दै आलोचना गरिएको छ ।
ओलीमाथि अनेक आरोप लागेपनि उनले राजनीतिक प्रतिवेदनमै चीनसँग सीमा विवाद नभएको र चीनप्रति नरम देखिएका छन् । यसले ओली चीनसँग सकारर्य गरेर अघि बढ्न इच्छुक रहेको देखिन्छ । यही बीचमा एमाले नेताहरुको चीन भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
यहीबीचमा माओवादीको एक समूह चीन जानुले थप अन्योलता र चासो सिर्जना भएको छ। एकसाथ चासो र अन्योलता यसअर्थमा कि सत्ता गठबन्धनबीच नै तालमेलको निर्णय नभएपनि प्रयास भइरहँदा एमाले र माओवादीबीचको गठबन्धनको लागि किन प्रयास भयो र त्यसमा माओवादी र एमालेकै नेताहरु किन सल्बलाए, प्रश्न खडा भएको छ । शुक्रबार मात्रै चिनियाँ विदेशमन्त्री वाङ यी पनि नेपाल आएका छन् भने उनले पनि वामगठबन्धनमा जोड दिने सम्भावना उत्तीकै छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ चैत्र २०७८, १२ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संवैधानिक र लोकतान्त्रिक उपलब्धि रक्षाका लागि संवादमा आउन राजनीतिक दलहरूलाई एमालेको अपिल
भरतपुरमा एमाले पार्टी कार्यालयमा आगजनी
एमालेको केन्द्रीय कार्यालयमा आगजनी
एमाले मन्त्रीलाई राजीनामा नदिन प्रधानमन्त्रीको ह्विप
ओलीको झोले नबन्ने भन्दै एमाले छोड्नेको लर्काे
एमालेको भावी अध्यक्षमा ओली निर्विकल्प