चुनावमा जान विप्लव नेतृत्वको नेकपालाई सकस, विभाजन उन्मुख पार्टी

सफल खबर संवाददाता

शुक्रबार, ११ चैत्र २०७८, ०९ : ४८
चुनावमा जान विप्लव नेतृत्वको नेकपालाई सकस, विभाजन उन्मुख पार्टी

कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकमा महासचिव नेत्रविक्रम चन्द विप्लवको राजनीतिक प्रस्ताव अल्पमतमा परेको छ । शुक्रबारदेखि कपिलवस्तुमा जारी केन्द्रीय समिति बैठकमा विप्लवले स्थानीय तह निर्वाचनलाई उपयोग गर्ने गरी पेश गरेको प्रस्ताव अल्पमतमा परेको हो।

बिहीबार साँझसम्म उनको प्रस्तावमाथि ६८ केन्द्रीय सदस्य, सल्लाकार परिषदका चार र सचिवालयका चारजनाले धारणा राख्दा महासचिव विप्लव अल्पमतमा परेको नेकपाका एक केन्द्रीय सदस्यले बताए। ती केन्द्रीय सदस्यका अनुसार ४० जनाले निर्वाचनमा भाग लिन नहुने धारणा राख्दै प्रतिवेदन सच्याउन माग गरेका छन्। सल्लाहकार परिषदका चारजनाले पनि निर्वाचनमा जाँदा संशोधनवादमा फसिने धारणा राखेका छन्। सचिवालयका सन्तोष बुढा र खड्गबहादुर विश्वकर्मा मात्रै विप्लवको पक्षमा छन्। हेमन्तप्रकाश वली र धर्मेन्द्र वास्तोला उनको प्रतिवेदनको विपक्षमा छन्।

बैठकमा उठेका विषयमाथि विप्लवले आज आफ्नो भनाई राख्दैछन्। उनको पक्षमा २८ जनामात्रै खुलेको नेकपा स्रोतले बतायो। माइला लामा, उमा भुजेल, अनिल शर्मा विरही, भरत बम लगायतका नेताहरुले निर्वाचनमा सहभागि भएर प्राप्त उपलब्धीलाई रक्षा गर्नुपर्ने बैठकमा बताएका थिए। नेकपाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसिसी, पार्टीको महाधिवेशन र स्थानीय तह निर्वाचनको विषयमा छलफल भइरहेको छ।

एमसिसीलाई देशव्यापीरुपमा विरोध गरेर जानु पर्ने र महाधिवेशन छिटो गर्ने विषयमा भने केन्द्रीय नेताहरुको मतभेद नदेखिएको ती केन्द्रीय सदस्यले बताए। ‘महाधिवेशन र एमसिसीको विषयमा कुनै विवाद छैन तर स्थानीय तह निर्वाचनको विषयमा भने पार्टीमा मतभेद छ’, ती केन्द्रीय सदस्यले सफलखबरसँग भने ‘ संशोधनवादी भासमा फँस्ने कि क्रान्तिकारी झण्डाको रक्षा गर्ने भन्ने प्रमुख विषय हो।’ २०७७ फागुन २१ गते तत्कालिन केपी ओली सरकारसँग तीन बुँदे सहमति गरेर नेकपाले द्वन्दको बाटो त्यागेको थियो। 

विभाजन उन्मुख बाटो
जसरी पनि निर्वाचनमा जानु पर्ने महासचिव विप्लवको जोडले पार्टीमा विभाजन निम्त्याउन सक्ने देखिएको छ। पार्टीमा बहुमतको कदर नगरिए वैकल्पिक बाटो तय गर्न सकिने विप्लव इतरका नेताहरुले चेतावनी समेत बैठकमा दिएका थिए।

महासचिवले बहुमतको कदर नगरे एकै ठाउँमा बस्न कठिन हुने निर्वाचन बहिस्कारको पक्षमा रहेका एक नेताले बताए। ‘पार्टीमा आन्तरिक जनवाद प्रयोग भएन भने स्थितिले अर्को रुप लिन सक्छ’, ती नेताले भने ‘आशा छ महासचिवले सबैलाई समेट्ने प्रयास गर्नुहुने छ ।’