काठमाडौ । जेनजीको आन्दोलनका क्रममा गत मङ्गलबार देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारसहित धेरै सरकारी कार्यालयमा आगजनी र तोडफोड भयो । सिंहदरबारभित्रको प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, शिक्षा मन्त्रालयलगायतमा आगजनीबाट सबैभन्दा बढी क्षति पुग्यो ।
बानेश्वरमा रहेको सङ्घीय संसद्सहित बबरमहलको सडक विभागमा आगजनीबाट ठुलो क्षति भयो तर नजिकै रहेको हालै निर्माणसम्पन्न भई सञ्चालनमा आएको नेपाल आयल निगमको केन्द्रीय कार्यालय भवन भने सुरक्षा गार्डको अथक् प्रयासले जोगिएको छ ।
कार्यालयको गेटमा खटिएका तीन जना सुरक्षा गार्डले आगजनी र तोडफोड गर्न आएको आन्दोलनकारीको ठुलो समूहलाई सम्झाइबुझाइ अनुनय विनय गरेपछि भवन आगजनी हुनबाट जोगिएको निगमले जनाएको छ । सडक विभागमा आगो लगाएपछि नजिक रहेको निगमको कार्यलयमा २०/२५ जनाको समूह आगो लगाउन आएर बाहिरबाटै ढुङ्गा हानेर सिसा फुटाउन थाल्यो ।
निगमको गेटमा विक्रम पाण्डेसँगै अन्य तीन जना सुरक्षा गार्ड बसेका थिए । प्रदर्शनकारी ढुङ्गा हानेर भित्र पस्न थाले । निगमका सुरक्षा प्रमुख विक्रम पाण्डेले प्रदर्शनकारीलाई “यो तपाईं हाम्रै करबाट बनाएको सरकारी सम्पत्ति जलाएर के हुन्छ ?” भनेर अनुरोध गरेँ । यसोभन्दा “तँलाई पनि जलाइदिन्छु धेरै नबोल् भनेर प्रदर्शनकारी खनिए ,” उनले भने, “आन्दोलनकारीको हुलमध्येबाट दुई जना महिलाले मेरो शिरबाट टोपी खोसे । फेरि लगाएको लुगा खोल्न भने, मैले उनीहरूले भने अनुसार नै लुगा खोलेँ । मैले खोलेको लुगा उनीहरूले नै लगे ।” नाङ्गो बनाएपछि हातपात गर्न खोजेकोमा आफूले हातपात नगर्न हात जोडेर अनुनय गरेको स्मरण पाण्डेले गरे ।
यस्तैमा भित्र बसेर प्रदर्शनकारीले हाकिमको नम्बर मागे । “म त सुरक्षा गर्न बसेको मान्छे हुँ हजुर मसँग हाकिमसाबको नम्बर छैन, तोडफोड नगर्नुहोस् तपाईंहरू पढेलेखेको मान्छे पछि यही कार्यालयको हाकिम भएर आउन सक्नुहुन्छ, कार्यालय नजलाउनुहोस् भनेर दुई हात जोडेर अनुरोध गरेँ,” पाण्डेले भने । यसोभन्दै गर्दा भुइँ तलामा रहेका तीन वटा सिसी क्यामरा फुटाइसकेका थिए । कार्यालयको सिसा पनि फुटाएतर पनि आफूहरूले सार्वजनिक सम्पत्ति जलाएर के फाइदा हुन्छ ? नजलाउनुहोस्, यो कार्यालयले केही गरेको छैन, भनेर धेरै पटकभन्दा प्रदर्शनकारी हच्किएर बाहिर निस्केको पाण्डेले बताए । आफ्नो हारगुहारले गर्दा भर्खर निर्माण भएको भवन जोगिन सफल भएकोमा धेरै खुसी लागेको उनको भनाइ छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ असोज २०८२, ०७ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आयल निगममा विज्ञ सञ्चालक सदस्य नियुक्ति गर्न दरखास्त आह्वान
आयल निगम करिब १० अर्ब नाफामा