क्षति हेरेर निराश हुने छुट छैन, धुलो टकटकाएर उठौँ’: प्रचण्ड

सफल खबर संवाददाता

विहीबार, ०२ असोज २०८२, १७ : ३०
क्षति हेरेर निराश हुने छुट छैन, धुलो टकटकाएर उठौँ’: प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन जेड आन्दोलनका क्रममा भएको क्षतिलाई हेरेर निराश हुने छुट नभएको भन्दै धुलो टकटकाएर निर्माणको क्षमता र इच्छाशक्ति देखाउने बेला भएको बताएका छन् ।

बिहीबार एक भिडियो सन्देश जारी गर्दै अध्यक्ष ‘प्रचण्ड’ले यस्तो बताएका हुन् ।

उनले भने, ‘हामी यतिखेर ७० भन्दा बढी युवाहरूको जघन्य हत्याको शोकमा छौँ । २३ गतेको नरसंहार र २४ गतेको विध्वंसले आम सार्वजनिक सेवा नै अस्तव्यस्त भएको छ । यतिखेर धुलो हेरेर निराश हुने छुट हामीलाई छैन । धुलो टकटक्याएर हामीले निर्माणको क्षमता र इच्छाशक्ति देखाउनु छ ।‘

अध्यक्ष ‘प्रचण्ड’ले उच्च प्राथमिकताका साथ देशव्यापी पुनर्निर्माणमा लाग्न पार्टी पङ्क्ति र जनसमुदायलाई हार्दिक आह्वान समेत गरे ।

उनले अगाडि भने, ‘देश र जनताप्रतिको हाम्रो निष्ठा र प्रतिबद्धता पुनर्निर्माणमा देखिनु पर्दछ ।’

२३ र २४ भदौमा भएका घटनाहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन आयोग गठन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन उनले सरकारसँग माग समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस