नेपाल यूएईसँग २५ रनले पराजित

सफल खबर संवाददाता

शनिबार, २९ माघ २०७८, १५ : ३२
नेपाल यूएईसँग २५ रनले पराजित

काठमाडौं । चार देशीय शृङ्खलाको दोस्रो खेलमा नेपाल संयुक्त अरब एमिरेट्स (यूएई) सँग २५ रनले पराजित भएको छ । यूएईले प्रस्तुत गरेको १ सय ९३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा मात्र १६७ रन बनाउन सक्यो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४१ रन तथा आसिफ शेखले ३४ रनको योगदान दिए। नेपालले सुरुवात भने राम्रो गरेको थियो । ओपरद्वय ज्ञानेन्द्र मल्ल र आसिफ शेखले अर्धशतकीय साझेदारी गरेका थिए । मल्ल छैटौँ ओभरमा २२ रन बनाएर आउट भए । नेपालले त्यसपछि लक्ष्य भेट्टाउन प्रयास गरेपछि उच्च रन रेटलाई कायम गर्न सकेन । खेलको अन्त्यतिर लोकेश बमले ३३ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । युएईका लागि रोहन मुस्तफा र कासिफ दौडले २–२ विकेट लिए । 

यसअघि खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गर्दै यूएईले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ९२ रन बनायो । यूएईका लागि चिराज सुरीले विस्फोटक ब्याटिङ गर्दै सर्वाधिक ८४ रन बनाए । उनले यस क्रममा उनले ५ चौका र ५ छक्का हिर्काए । त्यस्तै, रोहन मुस्तफाले ४९ तथा मुहम्मद वसिमले २२ रनको योगदान दिए ।

प्रतिक्रिया दिनुहोस