काठमाडौं । नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा नयाँ सरकार गठन भएको दुई महिना नपुग्दै लगातार तेस्रो उच्चस्तरीय अमेरिकी अधिकारी काठमाडौं उत्रिन लागेपछि कूटनीतिक वृत्तमा नयाँ तरंग पैदा भएको छ । १६ जेठमा अमेरिकी विदेश मन्त्रालयका अर्का एक उच्च अधिकारी सारा बी रोजर्सको नेपाल आगमन हुँदैछ । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुरदेखि ट्रम्प प्रशासनका विशेषदूत सर्जियो गोर हुँदै अहिले सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्ससम्मको भ्रमण श्रृंखलाले एउटा स्पष्ट संकेत दिएको छ- अमेरिका नेपाललाई गम्भीर चासोका साथ हेरिरहेको छ ।
१३ चैतमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार गठन भएपछि अमेरिकाबाट भएका यी भ्रमण सामान्य शिष्टाचार भ्रमण मात्रै होइनन् । यी भ्रमणले नेपालको बदलिँदो भूराजनीतिक महत्व, दक्षिण एसियामा बढ्दो शक्ति प्रतिस्पर्धा, डिजिटल अर्थतन्त्रमा नेपालको सम्भावना, र चीन–भारतबीच रहेको नेपालको रणनीतिक अवस्थाप्रति अमेरिकाको बढ्दो चासोलाई झल्काउँछन् ।
अमेरिकाको तर्फबाट भएका लगातारका यी तीन भ्रमणमा अघिल्ला भन्दा पछिल्ला अधिकारीहरु क्रमशः माथिल्लो सिनियारिटीका अधिकारीको भ्रमण भईरहेका छन् । १६ जेठमा नेपाल आउन लागेकी सारा बी रोजर्स अघिल्ला भ्रमणमा आएका भन्दा माथिल्लो तहकी उच्च अमेरिकी अधिकारी हुन् ।
पहिलो चरणमा आएका समीर पल कपुरले नेपालको लगानी वातावरण, डिजिटल पूर्वाधार, कृत्रिम बुद्धिमत्ता, साइबर सुरक्षा र अमेरिकी लगानी आकर्षणका विषयलाई प्राथमिकतामा राखे । उनले ‘सेलेक्ट यूएसए इन्भेस्टमेन्ट समिट’ मा सहभागी हुन नेपाली पक्षलाई आग्रह गर्नु संयोग मात्र थिएन । त्यो नेपालको अर्थतन्त्रलाई अमेरिकी निजी क्षेत्रसँग थप जोड्ने रणनीतिक प्रयासको संकेत थियो ।
त्यसको ठीक एक सातापछि काठमाडौं उत्रिएका ट्रम्प प्रशासनका दक्षिण तथा मध्य एसिया विशेषदूत सर्जियो गोरको सक्रियता अझ अर्थपूर्ण देखियो । उनले व्यापार, लगानी र आर्थिक साझेदारी विस्तारलाई केन्द्रमा राखे । यसले देखाउँछ— अमेरिकी राजनीतिक वृत्तका फरक धारहरूबीच पनि नेपालप्रतिको चासोमा निरन्तरता छ ।
अब आउन लागेकी सारा बी रोजर्स भने अझ उच्च तहकी अधिकारी हुन् । उनको जिम्मेवारी केवल परराष्ट्र सम्बन्धमा सीमित छैन, उनी पब्लिक डिप्लोमेसी अर्थात् जनस्तरमा प्रभाव विस्तार गर्ने अमेरिकी रणनीतिक अभियानको नेतृत्व तहमा छिन् । यही कारण उनको भ्रमणलाई अझ चासोका साथ हेरिएको छ ।
रोचक के छ भने, यी सबै भ्रमणको केन्द्रमा केवल सरकार–सरकार सम्बन्ध छैन । अमेरिका अहिले नेपालमा नयाँ पुस्ता, डिजिटल इकोनोमी, युवा उद्यमशीलता, सार्वजनिक छवि, पर्यटन कूटनीति र सफ्ट पावर विस्तारमा केन्द्रित देखिन्छ ।
यसै सन्दर्भमा अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले सगरमाथा आरोहण गरेको घटनालाई पनि सामान्य पर्वतारोहण उपलब्धि मानेर मात्रै हेर्न सकिँदैन । अमेरिकाले त्यसलाई फ्रिडम २५० अभियानसँग जोडेर आफ्नो राष्ट्रिय आत्मविश्वास, साहस र विश्व नेतृत्वको प्रतीकका रूपमा प्रस्तुत गरेको छ । सगरमाथा जो नेपालको राष्ट्रिय पहिचान र गौरवको प्रतीक हो । यो विश्वकै सबैभन्दा अग्लो हिमाल हो । त्यसलाई अमेरिकी सार्वजनिक कूटनीतिक सन्देशसँग जोडिनु आफैंमा अर्थपूर्ण छ ।
१७ जेठमा आयोजना हुने नेपाल्स एसेन्ट समिट २०२६ मा पर्वतारोहण, पर्यटन, आउटडोर उद्योग र अन्तर्राष्ट्रिय साझेदारीलाई जोडेर अमेरिका नेपालमा आफ्नो ‘सफ्ट इन्फ्लुएन्स’ विस्तार गर्ने प्रयासमा देखिन्छ । तर यी सबै गतिविधिका बीच अर्को रोचक प्रश्न पनि उठेको छ- किन अमेरिकी अधिकारीहरूले प्रधानमन्त्री वालेन्द्र शाहसँग भेट गर्न पाएनन् ? नेपालका प्रधानमन्त्रीले प्रोटोकल भन्दै विदेशी राजदूत, कुटनीतिक नियोगका अधिकारी देखि यसरी नेपाल भ्रमणमा आएका अमेरिकी अधिकारीहरुसँग भेटवार्ता गरिरहेका छैनन ।
प्रधानमन्त्री बालेनले आफु प्रधानमन्त्री नियुक्त भएपछि एकपटक नेपालस्थित विदेशी राजदूतहरुलाई सामुहिक भेटवार्ता दिएका थिए भने आजै इयु मिसन टोलीलाई पनि सामुहिक भेट गदैछन् । तर लगातार आउने अमेरिकी अधिकारीहरू र प्रधानमन्त्रीसँग हुन नसकेका भेटवार्ताले काठमाडौं र वासिङ्टनबीच औपचारिक सम्बन्धभन्दा परको सन्देश आदानप्रदान भइरहेको संकेत अवश्य दिन्छ ।
अमेरिका अहिले नेपाललाई केवल सहायता लिने देशका रूपमा होइन, दक्षिण एसियाको उदीयमान रणनीतिक साझेदारका रूपमा हेर्न थालेको देखिन्छ । चीनको बढ्दो प्रभाव, भारतको क्षेत्रीय सक्रियता र हिन्द–प्रशान्त रणनीतिका बीच नेपाल फेरि विश्व शक्तिहरूको चासोको केन्द्रमा उभिएको छ ।
लगातारका अमेरिकी भ्रमणले एउटा सन्देश स्पष्ट दिएको छ- नेपाल अब केवल हिमालको देश होइन,भूराजनीतिक प्रतिस्पर्धाको नयाँ केन्द्र बन्दैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ जेठ २०८३, ११ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण
अमेरिकाका विदेशमन्त्री रुबियो आइपुगे भारत
ट्रम्प प्रशासनद्वारा ग्रीन कार्ड प्रक्रियामा हेरफेर, अब अमेरिका छाडेर मात्र आवेदन दिन पाइने
अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य
अमेरिका–इरानबीच फेरि तनाव, दुवै पक्षबाट आक्रमण
भारतमा रहेका अमेरिकी राजदूत किन आउन लागे नेपाल ?