काठमाडौँ। आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले स्कटल्याण्डलाई पराजित गरेको छ। भर्खरै सम्पन्न खेलमा नेपालले स्कटल्यान्डमाथि ६ विकेटको जित हात पारेको हो।
१९५ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो। कप्तान रोहित पौडेल र डा। ईशान पाण्डेको उत्कृष्ट साझेदारीमा नेपालले सहजै खेल आफ्नो पोल्टामा पार्यो।
दुई ब्याट्सम्यानबीच १०४ रनको साझेदारी भयो। दुवैले अर्धशतकीय पारी खेले। रोहित ७४ रनमा अविजित रहे भने ईशानले ५५ रनको योगदान दिए।
यस्तै, आसिफ शेखले २९ तथा कुशल भुर्तेलले २८ रन जोडे। बलिङतर्फ स्कटल्यान्डका मार्क वाटले दुई तथा ब्रेन्डन म्याकमुलेनले एक विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ थालेको स्कटल्याण्ड ३९।१ ओभरमा १९४ रनमै अलआउट भयो।
ब्रेन्डन म्याकमुलेनले सर्वाधिक ७७ रन बनाउँदा माइकल इंग्लिसले पनि अर्धशतक बनाए। उनले ५१ रन जोडे। यस्तै, जर्ज मुन्सीले २१ तथा मार्क वाटले २० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङतर्फ नेपालका ललित राजवंशीले चार तथा सन्दीप लामिछानेले तीन विकेट लिँदा नन्दन यादव, दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले एक-एक सफलता हात पारे।
यसै खेलमा लामिछानेले एक दिवसीयमा सर्वाधिक छिटो १५० विकेटको विश्व किर्तिमान राखे। उनले २ विकेट लिने बित्तिकै यो कोसेढुंगा पार गरेका हुन्।
सन्दीपले ७३ म्याचमा १५० लिए। यसअघि यो रेकर्ड अष्ट्रेलियाका मिचेल स्टार्कको नाममा थियो। स्टार्कले ७७ म्याचमा १५० विकेट लिएका थिए।
यसअघिको खेलमा २ रनले पराजित भएको नेपालले आजको खेलमा जित निकाल्दै स्कटल्यान्डमाथि बदला लिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ जेठ २०८३, १५ : ३१
लेखकबाट थप