अख्तियारले किन चलाएन लेखराज भट्टलाई मुद्दा ?

निसानामा साना कर्मचारी

सफल खबर संवाददाता

शनिबार, २२ माघ २०७८, १० : ४८
अख्तियारले किन चलाएन लेखराज भट्टलाई मुद्दा ?

काठमाडौं । खानी तथा भूगर्भ विभागमा तत्कालिन यामकुमारी खतिवडा सचिव हुँदा विभागिय मन्त्री थिए लेखराज भट्ट । अवैध चुनढुंगा उत्खनन गर्ने सिमेन्ट उद्योगीहरुलाई विपक्षी बनाएर अख्तियार दुरुपयोग आयोगमा उनकै पालामा मुद्धा दायर भएको थियो त,  नेपाली समाजमा एउटा उखान लोकप्रिय छ । त्यो हो धान खाने मुसो, चोट पाउने भ्यागुतो । सिमेन्ट उद्योगका खानीको बदमासीको निर्णय गर्ने लेखराज भट्ट थिए । तर, चोटमा परे, खानी तथा भूगर्भ विभागका केही साना कर्मचारी । 

खासमा पैसा कमाउनका लागि भनेर केपी ओलीको पछाडि लागेका भट्टले सिमेन्ट उद्योगको नाममा राम्रै लुटपाट गरेका थिए । उनले जसरी पनि पैसा कमाउनुपर्छ भन्ने मान्यताका साथ काम गरेका थिए । किनकी, उनलाई प्रचण्डलाई देखाउनु थियो, हेर ओलीसँग लाग्दा यसरी पैसा कमाउन पाइन्छ, तिमीसँग लाग्दा खाली पार्टी, राजनीतिक र देश भन्दा केही पनि भन्दैनौ ।  त्यसो त लेखराजले बेलाबेलामा राजनीतिमा लागेको जोगी हुन होइन समेत भन्ने गरेका थिए ।  

पछिल्लो पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट दायर भएको ठूलो भ्रष्टाचार मुद्दामा तत्कालीन उद्योग मन्त्री लेखराज भट्ट र सचिव यामकुमारी खतिवडालाई उन्मुक्ति दिएकोमा कतिपयले प्रश्न उठाइरहेका बेला उनीहरुले गरेको एउटा निर्णयका कारण मुद्दा नचलेको खुलेको छ । आयोगले अवैध चुनढुंगा उत्खनन् गर्ने सिमेन्ट उद्योग र खानी तथा भूगर्भ विभागका उच्च अधिकारी समेतलाई विपक्षी बनाएर डेढ अर्ब रुपैयाभन्दा बढी बिगोसहितको मुद्दा विशेष अदालतमा दायर गरेको थियो । सो कार्यमा उनै लेखराज र यामकुमारीको भूमिका रहेको पाइएको छ । एक पूर्व सचिवसँग विशेष सम्बन्ध भएकै कारणले यामकुमारीले पनि सचिव हुने मौका पाएकी थिइन् । क्षमता र अनुभव नभएपनि यामकुमारीले विशेष भूमिका पाएको बताउनेहरु सिंहदरबारमा अझै पनि धेरै छन् । 

सिमेन्ट उद्योगहरुले स्वीकृत माइनिङ स्किमभन्दा बढी खानी क्षेत्र उत्खनन् गरेको विषयमा परेको उजुरी र मन्त्रालयले गरेको छानबिन पछि तत्कालीन मन्त्री भट्ट र सचिव खतिवडाले स्वीकृत माइनिङ स्किमभन्दा बाहिर गएका उद्योगमाथि कारबाही नगर्न लिखित निर्णय गरेको पाइएको छ । तर अख्तियारमा रहेका ओली निकट प्रेम राईले नै उनीहरुलाई जोगाइदिएका छन् ।  अख्तियारले मुद्दा चलाउने सुइको पाएपछि लेखराज ओलीको सामुन्नेमा हाजिर भएका थिए । ओलीले प्रचण्डलाई छाडेर आफूलाई साथ दिएको खण्डमा जोगाइदिने बचन दिएका थिए । भ्रष्टाचारको मुद्दा नचल्ने भएपछि लेखराज ओलीको पछाडि लागेका थिए । सो कुरा अहिले आएर पुष्टि भएको छ । 

किनकी सिमेन्ट प्रकरणमा सबैभन्दा बदमासी उनै लेखराजको देखिन्छ । उनका सहयोगी मार्फत मिसैनट व्यवसायीसँग लेखराजले राम्रै उठाएको बताइन्छ । उनको साथमा रहेका भनिएकाहरु धेरै जसो इमान्दार कार्यकर्ता माओवादीमा फर्किइसकेका छन् । तर पैसा कुम्ल्याएकाहरु लेखराजसँगै  छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत सुइको पाएपछि लेखराज सपत्नी दौड्दै ओली समक्ष पुगेका थिए । लेखराजका एक सहयोगीले त्यो दिन सम्झदै भने, सर, हस्याङ फस्याङ गर्दै ओली समक्ष पुगेका थिए । त्यतिबेला पार्टी एउटै थियो । पार्टी एउटै भएकाले ओलीले पनि मौका चौका लगाए । 

उनले भनेका थिए, प्रचण्डलाई छाडेर मलाई साथ दिने हो र एमालेमा बस्ने भए म जोगाइदिन्छु, प्रेम राईलाई भनेर, अन्यथा हुँदैन र सक्दिन पनि । त्यतिबेला ओलीले अख्तियारको प्रमुखमा प्रेम राईलाई नियुक्ति गर्ने तयारी गरेका थिए । भ्रष्टाचारी बनेर जेल बस्नु भन्दा वा राजनीतिक रुपमा सकिनु भन्दा ओलीको पछाडि लाग्नु नै ठिक ठानेर लेखराज उता लागेको ती सहयोगीको भनाइ छ । सोही कारण लेखराज र यामकुमारीलाई मुद्दा नचलाइएको अख्तियार स्रोतले जनाएको छ । बदमासी लेखराजको देखिएपनि बालकोटको अर्डरलाई प्रेम राईहरुले कार्यान्वयन गरेको बताइन्छ । 

तत्कालीन मन्त्री र सचिवको संलग्नता देखिएको र मन्त्रालयको निर्णयमा कानून विपरित जानेलाई कारबाही नगर्न प्रष्ट रुपमा म्याण्डेट दिएकाले विभागका कर्मचारीलाई मात्रै अख्तियारले मोहोरा बनाएको स्रोतको भनाइ छ ।तत्कालीन मन्त्री र सचिवले हस्ताक्षर गरेको टिप्पणीमा भनिएको छ– सिमेन्ट उद्योगीहरुले स्वीकृत माइनिङ स्किमभन्दा बढी खानी क्षेत्र उत्खनन् गरेको विषयमा पटक पटक सचेत र ताकेता गर्दा पनि स्वीकृत माइनिङ स्किमभन्दा बढी उत्खनन् गरेको सन्दर्भमा खानी सञ्चालकहरुले खानी सञ्चालन गर्दा खानी तथा खनिज पदार्थ ऐन,२०४२ तथा नियमावली र स्वीकृत माइनिङ स्किमको सिमाभित्र रहेर मात्रै खानी उत्खनन् गर्न सम्बन्धित सबै सिमेन्ट उद्योगीहरुलाई निर्देशन दिने,साथै निर्देशन पालना भएको नपाइएमा कानून बमोजिम कारवाही गर्ने । तर यो निर्देशन लेखेर पनि विभागमा पठाइएन । किन  त भन्दा  लेखराज र उनको टिमले त्यसअघि नै मोटो रकम उद्योगीसँग लिइसकेका थिए । 

यो टिप्पणीका आधारमा सिमेन्ट उद्योगीहरुलाई अवैध खानी उत्खनन् गर्न छुट दिन तत्कालीन मन्त्री भट्ट र सचिव खतिवडाको कतै पनि संलग्नता पुष्टि नहुने भएकाले अख्तियारले भट्टसँग वयान समेत नलिएको भन्दै एमाले निकटका केही सञ्चारमाध्यममा प्रचार गराइएको छ । तर, त्यो भन्दा फरक रहेको पाइएको छ ।  अख्तियारका प्रमुख आयुक्त बनाइएका प्रेम राईको जोडबलमा नै उनलाई उन्मुक्ति दिइएको हो । ओलीले प्रेम राईलाई बालकोटमा नै बोलाएर कुनै पनि हालतमा लेखराजलाई मुद्दा नचलाउन भनेका थिए । यसबारेमा बुझ्न पटक पटक अख्तियार प्रमुख प्रेम राईको मोबाइल नम्बरमा सम्पर्क गर्दा समेत उनको मोबाइल उठेन ।

उनको सचिवालयमा बुझ्दा प्रवक्ता मार्फत जानकारी लिन भनियो । अख्तियारका प्रवक्ता समेत यसबारे बोल्न तयार देखिएनन् । राजनीतिक विषयमा हामीले बोल्न मिल्दैन, प्रवक्ता कार्यालयका एक कर्मचारीले भने । अख्तियारले लामो समयको अनुसन्धानपछि चलाएको मद्दामा तत्कालीन मन्त्री भट्टलाई तान्ने कुनै आधार नदेखिएपछि बयान नलिएको हल्ला चलाइएको छ । तर, अख्तियारले विशेष अदालतमा पेश गरेको विवरणमा भने लेखराजसँग बयान लिइएको उल्लेख छ । विशेष अदालतमा दायर गरिएको मुद्दाको विवरण सञ्चार माध्यमहरुमा पनि देखिएको छ । 

भट्टले राजनीतिक प्रतिशोध साँध्न सकिन्छ कि भनेर केही मिडियाबाट नियोजित रुपमा आफूमाथि आक्रमण गर्न खोजिएको आरोप लगाएका छन् । भट्टले आफ्नो पालामा भएका सबै निर्णय मन्त्रालयमै रहेको भन्दै चरित्र हत्या नगर्न भनेपनि अख्तियारले विशेष अदालतमा दर्ता गरेको विवरणमा भने उनीमाथि पनि कारवाही चलाउनुपर्ने आशयको विवरण समावेश छ । उता बिजुलीको बलि समेत नतिर्ने पुशपति मुरारकाले समेत आफूलाई जोगाइदिन भन्दै बालकोटमा नै बास बसाउने गरेका छन् । 

निर्वाचन आउँदैछ कमरेड, मेरो तर्फबाट सबैभन्दा धेरै सहयोग गर्छु, मेरो समूहका धेरै उद्योग व्यवसाय छन् । मलाई यतिबेला समस्या परेको छ , लौन हजुर सहयोग गर्नु प¥यो भन्दै मुरारकाले खड्ग ओलीका सामु लम्पसार नै बसेको बालकोट स्रोतले जनाएको छ । चुनावका लागि भन्दै रिमालले अहिले पनि ओलीको नाम लिएर मोटो पैसा उठाउने गरेको उनी निटकस्थहरुको भनाइ छ ।