पोल्ट्रीमा साना किसानहरु विस्थापित हुने खतरा

प्रकाश सिग्देल

शनिबार, १७ पुस २०७८, १८ : १७
पोल्ट्रीमा साना किसानहरु विस्थापित हुने खतरा

चितवन । अठार वर्ष नेपाल बैंकमा जागिर गरेर २०५० मा माध्यमिक शिक्षा विकास परियोजनाको निर्देशकमा राजनीतिक नियुक्ति पाएका पूर्वीचितवन खैरहनी नगरपालिकाका अर्जुन अर्याल करिब २० वर्षदेखि पोल्ट्री ब्यवसायमा आवद्ध छन् । तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नेपाल बैंकको जागिर छोडाएर उनलाई राजनीतिक नियुक्ति दिलाएका थिए । निर्देशक पदबाट हटेसँगै आफ्नै व्यवसाय थालेका उनले अहिले पोल्ट्री व्यवसायमा ७० करोड लगानी गरिसकेका छन् । 

खैरहनी नगरपालिका–१ ज्यामिरेमा उनले सञ्चालन गरेको अन्नपूर्ण पोल्ट्री बिडर्स फार्म एक जना व्यवसायीले  लगानी गरेर सञ्चालन गरेको नेपालको सबैभन्दा ठूलो फार्म रहेको उनको दाबी छ । २०५८ सालमा जर्मनीबाट उपकरण ल्याएर नेपालमा उच्चस्तरको प्रविधिमार्फत व्यवसाय थालेका अर्यालले अहिले दैनिक ६० हजार वटा अण्डा उत्पादन गरेका छन् । उनको खोरमा १ लाख २० हजार वटा बढी कुखुरा रहेका छन् भने थप ८० हजार कुखुरा पाल्न मिल्ने खोर बनाएका छन् । केही समय भित्रैमा १ लाख २० हजार गोटा अण्डा उत्पादन हुने उनले बताए । विभिन्न समस्याका र चुनौतीका बिच पनि आफुले महात्वाकांक्ष्ी काम थालेको उनको अनुभव छ ।

कुखुरा र चल्लाका लागि चाहिने दाना पनि आफै उत्पादन गर्ने गरेका छन् भने कुखुराको सुलीबाट ग्याँस उत्पादन गरी त्यसबाट ६२ केभिएको जेनेरेटर चलाएर बिजुली समेत उत्पादन गरेका छन् । त्यही बिजुली बाट खोरमा बत्ती बाल्ने र मेसमा खाना पकाउने काम गरिएको उनी बताउछन् । निकट भविष्यमा दुई हजार घनमिटरको डोमबाट बायोग्याँस उत्पादन गर्ने गरी बैंकले प्रस्ताव स्वीकृत गरेको र यो परियोजना सबै कुखुरालाई आवश्यक पर्ने इन्धन पुर्ती हुने उनले बताए । त्यसका लागी ४ करोड विश्व बैंकले अनुदान दिने उनको भनाइ छ । ६० हजार कुखुरा बाट व्यवसाय थालेका उनले अहिले दुई बिघा १० कठ्ठा जग्गामा ब्यवसाय बिस्तार गरेका छन् ।

यो पेशामा ठुला किसान ब्यवसायीक रुपमा सवल बन्दै गएको देखिन्छ तर साना लगानीका किसानमा भने जोखिम र चुनौती थप बढ्दो छ  । भरतपुर महानगर १४ शिवनगरका किसान राजेन्द्र शाखीले निर्माण ब्यवसाय छाडेर विगत १० वर्षदेखि सुयोग पोल्ट्री फर्म प्रालि दर्ता गरेर २ करोड लगानी गरी लेर्यस कुखुरा पाल्दै आएका छन् ।

पटक पटक नोक्सान सहेर भए पनि व्यवसायलाई ऋण धन गरेर यो अवस्थासम्म ल्याउन सफल बनेका छन् । उनले सञ्चालन गरेको फर्म हाउसमा १०  हजार कुखुरा रहेका छन् भने दैनिक ७ हजार अण्डा उत्पादन हँुदै आएको छ । पछिल्लो समय दानाका लागि आवश्यक कच्चा पदार्थ मकै भटमासलगायतका अत्यावश्यक पदार्थको मूल्य उच्च हुँदा कुखुरापालनमा लागत बढेको र मुनाफा लिन कठिन भएको उनी बताउँछन् । राज्यले साना ब्यवसायीको संरक्षण गर्ने गरी नीति बनाउन आवस्यक रहेको उनको भनाइ छ ।

पोल्ट्रीजन्य उत्पादनका लागी चितवन परिचत नाम बनेको छ । पोल्ट्री क्षेत्रमा देशलाई आत्मनिर्भर बनाउन चितवनको पोल्ट्री र यहाँका किसानको अहम भुमिका छ । १ लाख लगानीमा ब्यवसाय गर्ने देखी १ अर्व बढि लगानी गर्ने किसान यही छन् । ठुलो लगानी गर्ने किसानहरु उत्साही देखिएका छन् भने साना किसानहरु बिस्थापितहुने खतरा बढेको महसुस गर्न बाध्य छन् ।  

चितवनमा ५०० बढी लेयर्स फार्महरु रहेका छन् । ३ हजार बढी बोईलर पालक किसानहरु छन् । कुखुराका लागी आवस्यक दाना, औषधी, भिटामिनलगायतका चिजको मुल्य पनि अत्यधिक बढेको र गुणस्तर पनि खस्कदै गएकाले साना किसानहरु यसबाट ठुलो मारमा परेका छन् । राज्यले दानाको गुणस्तर निर्धारण गरि मूल्य कायम गर्न आवश्यक छ । 

प्रतिक्रिया दिनुहोस