एमालेमा ओलीपछि रस्साकस्सी, सहमतिमा कस्तो आउला नेतृत्व ?

पत्रपत्रिकाबाट

बुधबार, ०१ मंसिर २०७८, ०८ : ४८
एमालेमा ओलीपछि रस्साकस्सी, सहमतिमा कस्तो आउला नेतृत्व ?

काठमाडौँ । एमाले नेताहरूले १०औं महाधिवेशनबाट सहमतिमा नयाँ नेतृत्व चयन गर्ने भनिरहेका छन्। अध्यक्ष पदमा केपी शर्मा ओली निर्विकल्प देखिन्छन्। तर, सहमतिमा अन्य पदाधिकारी को–को आउलान् ? १० बुँदे सहमति गरेका र माओवादीबाट आएका नेताहरूको व्यवस्थापन कसरी होला भन्ने चासोको विषय बनेको छ। 

महाधिवेशनबाट अध्यक्षमा ओली सर्वसम्मत गराउने गृहकार्य भइरहेको छ। उपाध्यक्ष भीम रावलले अध्यक्षमा उठ्ने संकेत गरे पनि खुलेका छैनन्। केही नेताले उपमहासचिव घनश्याम भुसाल अध्यक्षमा उठ्ने हुन कि भन्ने संकेत गरेका छन्। तर, उनी पनि यसबारे बोलेका छैनन्। अध्यक्षमा ओलीको मात्र उम्मेदवारी हाल्ने र सर्वसम्मत अध्यक्ष घोषणा गर्ने तयारीमा नेताहरू जुटेका छन्।

महासचिव ईश्वर पोखरेल १०औं महाधिवेशनबाट ओली नै अध्यक्ष हुने बताउँछन्। ‘यो महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओली नै हुनुहुन्छ भन्ने मलाई लाग्छ’, पोखरेल भन्छन्, ‘यो अहिलेको पार्टीको आवश्यकता पनि हो। अझ देशकै आवश्यकता हो।’ अरू पदमा भने सरसल्लाह र समझदारीले नै टुंगो लगाइने उनी बताउँछन्। 

मैले नगर कमिटीको बैठकमा बोल्ने क्रममा साथीहरूले केमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छु भनेर सोध्नुभयो। मैले केमा प्रतिस्पर्धा गर्दा राम्रो होला तपाईंहरूले नै राय दिनु न भनें। उहाँहरूले नै तपाईं अध्यक्षमा लड्नु राम्रो हुन्छ भन्नुभयो। मैले तपाईंहरूको भावना कदर गर्छु। काठमाडौं पुग्छु। सल्लाह गरेर निर्णय लिन्छु भनेको हो। 

भीम रावल, उपाध्यक्ष 
१० बुँदे सहमति गरी एमालेमै बसेका उपाध्यक्ष रावलले उम्मेदवारीबारे सल्लाह भइरहेको प्रतिक्रिया दिए। ‘नेतृत्वका विषयमा साथीहरूसँग छलफलकै सिलसिला चलिरहेको छ’, रावलले अन्नपूर्ण पोस्ट्सित भने, ‘पार्टीले संस्थागत रूपमा के सोचेको छ ? त्यो पनि आउँला, अनि मात्रै निर्णयमा पुग्छु।’ 

चितवनमा मंसिर १० देखि १३ गतेसम्म हुने महाधिवेशनबाट अध्यक्षसहित १५ पदाधिकारी चुनिनेछन्। त्यस्तै, २ सय २५ केन्द्रीय सदस्य चयन हुनेछन्। १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष, १ महासचिव, १ उपमहासचिव र ७ सचिवसहित ४५ स्थायी समितिको व्यवस्था नयाँ विधानले गरेको छ। आजको अन्नपुर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस