विद्युतको खपत बढाउन इन्डक्सन चुल्हो र इलेक्ट्रिक गाडी अभियान चलाउँछौ : कुलमान घिसिङ

सफल खबर संवाददाता

शनिबार, २७ कार्तिक २०७८, १५ : २८
विद्युतको खपत बढाउन इन्डक्सन चुल्हो र इलेक्ट्रिक गाडी अभियान चलाउँछौ : कुलमान घिसिङ

बुटवल । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उत्पादित विद्युतको खपत बढाउन इन्डक्सन चुल्हो र इलेक्ट्रिक गाडी अभियान चलाइने बताएका छन् । शनिबार  बुुटवल आएका विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले इन्डक्सन चुल्हो र इलेक्ट्रिक गाडीमा सहुलियतका कार्यक्रम सञ्चालन हुने बताएका हुन् ।

निर्देशक घिसिङले भनेका छन्, ‘अब घर–घरमा इन्डक्सन चुलो र सडकमा इलेक्ट्रिक गाडी गुडाउने अभियानमा प्राधिकरणले काम गरिरहेको छ । विद्युतको आन्तरिक खपत बढाउन उपभोक्ताका घरमा विद्युत क्षमता बढाउने र ठाउँ–ठाउँमा चार्जिङ स्टेशन बनाउने काम भइरहेको छ ।’

त्यस्तै उपभोक्ताहरुले आफ्नो घरमा विद्युतीय क्षमता बढाउन चाहेमा आवेदन दिएको एक महिनाभित्र स्थानीय कार्यालयमार्फत निःशुल्क क्षमता बढाइदिने काम थालिएको पनि उनले बताए । जसको कारण पनि घरमा विद्युतीय सामग्रीको उपयोग बढ्दै गएको उनको भनाइ छ ।

त्यस्तै निर्देशक घिसिङका अनुसार मुलुकभर ५० वटा इलेक्ट्रिक चार्जिङ सेन्टर बनाइन लागिएको छ । मुख्य शहर र राजमार्गलाई लक्षित गरी स्टेशन बनाउन लागिएको उनले बताए । त्यसोत पछिल्लो समय विद्युतीय साधन किन्ने र चढ्नेको संख्या बढ्दै गएको अवस्थामा नीजी क्षेत्रले चार्जिङ स्टेशन बनाउन चाहे निःशुल्क जडान गरिदिने सहमति भएको पनि उनले बताए ।

रुपन्देहीको भैरहवा धकधइ, नवलपरासीको परासी र सुनवल क्षेत्रमा विद्युतको माग बढेको भन्दै उनले भने, ‘उद्योग निरीक्षण गर्ने प्रयोगको अवस्था हेर्ने र माग अनुसार विद्यत उपलब्ध गराउने काममा खटेका छौं । बुटवल मैनहिया १३२ केभी प्रसारण लाइन सकिएपछि भैरहवा, लुम्बिनी क्षेत्रमा समेत माग अनुसार विद्यत् दिइनेछ ।’

त्यस्तै यसवर्ष मंसिर अन्तिम साता वा पुसबाट केही विद्युत आयात गर्नु परेपनि आगामी वर्षदेखि सुख्खा मौसममा पनि विद्युत आयात गर्न नपर्ने उनले बताए । हाल विद्युत् प्राधिकरणले हाल त्रिशूली र देवघाटको २० मेघावाट विद्युत् दैनिक अनलाइनमार्फत बेच्दै आएको र कोशी र मस्र्याङदीको समेत अनलाइन बिक्रीको तयारी भइरहेको निर्देशक घिसिङको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस