मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

सफल खबर संवाददाता

सोमबार, २२ कार्तिक २०७८, १७ : ४३
मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

हेटौँडा । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको सोमबार बसेको बैठकमा उनले विश्वासको मत प्राप्त गरेका हुन् । 

एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले अल्पमतमा परेर राजीनामा दिएपछि गठबन्धनको समर्थनमा पाण्डे ११ कात्तिकमा मुख्यमन्त्री बनेका हुन् । एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले सोमबार प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका हुन् । 

मुख्यमन्त्री पाण्डेले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावको पक्षमा बहुमत मत परेकोसभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए ।बाग्मती प्रदेशसभामा हाल १०९ सदस्य रहेकोमा विश्वासको मतका लागि बहुमत ५५ जना सदस्यको समर्थन चाहिन्छ । सभामुख श्रेष्ठकाअनुसार बैठकमा उपस्थित १०४ मध्ये प्रस्तावको पक्षमा ५९, विपक्षमा ४३ र तटस्थ दुई मत परेको हो ।

प्रस्तावको पक्षमा परेको ५९ मत बहुमत रहेकाले मुख्यमन्त्री पाण्डेले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको सभामुख श्रेष्ठले घोषणा गरेका हुन् ।  प्रदेशसभामा एमालेको ४३, माओवादी केन्द्रको २३, कांग्रेसको २२, एकीकृत समाजवादीको १३, विवेकशील साझा पार्टीको तीन, नेमकिपा र राप्रपाको दुई/दुई, जनता समाजवादी पार्टी नेपालको एक जना सांसद छन् । गठबन्धनमा माओवादी केन्द्र, कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी आवद्ध छन् । मुख्यमन्त्री पाण्डे एकीकृत समाजवादीका नेता हुन् । 

प्रतिक्रिया दिनुहोस