विदेशमा यसरी मान्दैछन् महिला क्रिकेटरहरु तिहार

सफल खबर संवाददाता

शुक्रबार, १९ कार्तिक २०७८, ०८ : ४५
विदेशमा यसरी मान्दैछन् महिला क्रिकेटरहरु तिहार

काठमाडौं । बडा दशैपछिका दोस्रो ठुलो महान् चाड तिहार अहिले चलिरहेको छ । घर परिवारमा देउसीभैली खेल्दै र विभिन्न तरिकाले घर रंगाउँदै सुरु भएको छ, तिहार । आफ्ना दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाउन तयारी थालिसकेका छन् । 

दशैँ तथा तिहार लगायत अन्य पर्वबाट नेपाली खेलकुद अछुतो रहने कुरै भएन । विभिन्न धर्म मान्दै आएका अझ भनौ हिन्दुधर्मका खेलाडीको लागि दशैँतिहार सधैँ विशेष रहन्छ ।

तर, यस्तै पर्वका समय खेलाडीलाई प्रतियोगिता तालिका पर्दा भने एक प्रकारको तनाब सृजना हुन्छ । चाडपर्व आइरहन्छ राष्ट्रको लागि खेल्नु सौभाग्य भन्दै खेलाडी प्रतियोगितामा होमिन बाध्य हुन्छन् ।

हो, यस्तै भएको छ अहिले महिला टोलीलाई, आईसिसी वुमन्स टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटका लागि नेपाली टोली संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरिसकेको छ । त्यसअघि तिहारकै समय नेपाली टोलीको बंगलादेशमा एक साताको प्रशिक्षण समय तय भएको छ । नेपाली टोली त्यसका लागि बिहीबार त्यसतर्फ प्रस्थान गरिसकेको छ ।

नेपाली टोली बंगलोदशमै रहँदा खेलाडीले तिहार मनाउने छन् । नेपालले यसै समयमा बंगलादेशको एक स्थानिय एकेडेमीसँग मैत्रिपूर्ण खेल खेल्ने तालिकासमेत तय भएको छ । नेपालले बंगलादेशमा ४ देखि १४ नोभेम्बरसम्म तयारी गर्नेछ । त्यसपछि नेपाली टोली सिधै युएई प्रस्थान गर्नेछ ।

सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी–ट्वान्टी विश्वकपको लागि नेपालसहित ६ राष्ट्रले ग्लोबल छनोटका लागि यूएईमा एसिया छनोट खेल्न लागेका हुन् । नेपालले हङकङविरुद्ध खेल्दै अर्को महिना प्रतियोगिताको सुरुवात गर्नेछ । छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र यूएई गरी ६ राष्ट्रले सहभागीता  जनाउनेछन् ।

‘राउन्ड रोबिन लिग’ प्रणालीमा हुने प्रतियोगिताको शीर्ष टोलीले ‘ग्लोबल क्वालिफायर’मा स्थान बनाउनेछन् । ग्लोबल क्वालिफायर प्रतियोगिताबाट शीर्ष दुईले २०२३ मा दक्षिण अफ्रिकामा हुने विश्वकपका लागि स्थान पक्का गर्नेछन् ।नेपाल हालसम्म ग्लोबल छनोटमा स्थान बनाउन सकेको छैन ।

प्रतियोगिताको लागि नेपाल क्रिकेट संघ (क्यान) ले कात्तिक १० गते रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय महिला क्रिकेट टोलीको घोषणा गरेको थियो ।

नेपालको खेल तालिका –
२२ नोभेम्बर– हङकङविरुद्ध नेपाल
२३ नोभेम्बर – भुटानविरुद्ध नेपाल
२५ नोभेम्बर  – कुवेतविरुद्ध नेपाल
२६ नोभेम्बर – मलेसियाविरुद्ध नेपाल
२८ नोभेम्बर – युएईविरुद्ध नेपाल
 

प्रतिक्रिया दिनुहोस