मुस्ताङ । यहाँको प्रदेश अस्पताल जोमसोममा पछिल्ला चार आर्थिक वर्षमा १८८ महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । सेवा थालनी भएको पहिलो आवमा ३८, दोस्रो आवमा ४२ , तेस्रो आवमा ६६ र चालु आवको गतचैत महिनासम्ममा ४२ जनाले गर्भपतन सेवा लिएका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.समीक्षा कँडेलले जानकारी दिइन् ।
अस्पताल जोमसोम मात्र सुरक्षित गर्भपतन सेवाका लागि सूचिकृत भएको छ भने दुई चिकित्सकसहित पाँच स्वास्थ्यकर्मी सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउन तालिम प्राप्त गरेका छन् ।
यहाँ सरकारी अस्पतालमा मात्र सुरक्षित गर्भपतन सेवा सीमित छ । सुपरिटेन्डेन्ट डा.समीक्षा कँडेलले भनिन्,“ अस्पतालमा १२ हप्ता अर्थात् तीन महिनासम्मका गर्भवतीको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ र सो अवधिभन्दा माथिलाई उपल्लो निकायमा प्रेषण गर्ने गरेको छ । ”
अस्पतालमा ‘मिफेप्रिस्टोन’ र ‘मिसोप्रोस्टोल’ नामक औषधिको प्रयोगद्वारा गरिने सुरक्षित गर्भपतन सेवा (एमए) तथा औजार सहित अन्य प्रक्रियाका माध्यमबाट सुरक्षित गर्भपतन सेवा प्रदान गरिँदै आएको डा.कँडेलले बताइन् । १२ हप्तासम्मको गर्भपतनलाई ‘म्यानुअल भ्याकुम एस्पिरेसन (एमभिए)’ विधिमार्फत तालिम प्राप्त स्वास्थ्यकर्मीद्वारा औजारका माध्यमबाट गरिन्छ । १३ देखि १८ हप्तासम्म गर्भलाई ‘कम्प्रिहेन्सिब इमरजेन्सी अब्सटेटिक नियोनेटल कियर’ सुविधा भएको सूचीकृत स्वास्थ्य संस्थामा तालिम प्राप्त स्वास्थ्यकर्मीद्वारा डाइलेटेसन एन्ड इभ्याकुएसन (डिएन्ड) गरिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ बैशाख २०८३, १३ : २१
लेखकबाट थप