कमरेड प्रचण्ड अब माननीय श्री प्रचण्ड !

सूर्यप्रकाश कँडेल

बुधबार, १२ बैशाख २०७५, ०९ : ४५
कमरेड प्रचण्ड अब माननीय श्री प्रचण्ड !

चितवन । कम्युनिष्टहरु सामान्यतयः श्री, ज्यू, हजुर, बक्सियोस् लगायतका केही आदरार्थी शब्द प्रयोग गर्दैनन् । सबै समान भन्ने अर्थमा उनीहरु एक अर्कोलाई सम्मान गर्दा कमरेड शब्द प्रयोग गर्छन् । कमरेड शब्दको अर्थ साथी हो ।
कमरेड शब्द खोज्न अब डिक्सनरी नै पल्टाउनु पर्ने अवस्था आएजस्तो भएको छ । विगतमा कमरेड शब्दको सबैभन्दा बढी प्रयोग गर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं चितवन क्षेत्र नम्बर तीनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित पुष्पकमल दाहाल प्रचण्ड बुधबार बिहान सहभागी एउटा कार्यक्रमको ब्यानरमा उहाँलाई कमरेड होइन, माननीय श्री भनिएको थियो ।
कमरेड प्रचण्ड अध्यक्ष रहनु भएको नेकपा माओवादी केन्द्रनिकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल, चितवन शाखाले आज बुधबार भरतपुरमा आयोजना गरेको चितवनको विकास र समृद्धिबारे छलफल कार्यक्रमको ब्यानरमा नै कमरेड प्रचण्डलाई मा. (माननीय) श्री पुष्पकमल दाहाल प्रचण्ड लेखिएको थियो । पार्टीको भ्रातृ संगठनले आयोजना गरेको औपचारिक कार्यक्रममा नै यस्तो ब्यानर राखिएकोले कमरेड प्रचण्ड अब माननीय श्री प्रचण्ड हुनु भएछ भन्ने कार्यक्रमस्थलमा चर्चा चलेको थियो ।

प्रतिक्रिया दिनुहोस