‘पढ्दै : कमाउँदै’ कार्यक्रम सञ्चालन हुन्छ : अर्थमन्त्री शर्मा

सफल खबर संवाददाता

शनिबार, २३ असोज २०७८, १२ : ५३
‘पढ्दै : कमाउँदै’ कार्यक्रम सञ्चालन हुन्छ : अर्थमन्त्री शर्मा

काठमाडौँ  । सरकारले ‘पढदै : कमाउँदै’ भन्ने कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमूलक अर्थतन्त्र निर्माणका लागि आफूले सो कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिएका हुन्।

शनिबार काठमाडौंमा आयोजित ‘कोरोना महामारीमा शैक्षिक रुपान्तरण विषयक’ छलफल कार्यक्रममा बोल्दै उनले त्यसले मुलुकको शैक्षिक क्षेत्र र आर्थिक क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वाससमेत व्यक्त गरे।

अर्थमन्त्री शर्माले सरकारले उत्पादनमूलक अर्थतन्त्र निर्माणका लागि जोड दिइरहेको दोहोर्‍याए। उनले नेपालको विकास मोडल समुदायमा आधारित हुनुपर्ने आवश्यकता औंल्याए।

‘अहिले म अर्थमन्त्री भएको बेला पढदै : कमाउँदै भन्ने कार्यक्रम सञ्चालनमा ल्याउने गरी तयार भएको छ। त्यसलाई लेख्ने बेला बिग्रिएन भने राम्रो परिणाम देला भन्ने मलाई विश्वास छ। त्यसकारणले अब हामीलाई चाहिएको विकास भनेको उत्पादनमा आधारित हुनुप¥यो हाम्रो शिक्षा’, अर्थमन्त्री शर्माले भने, ‘नेपालमा समुदायमा आधारित शिक्षा उपयुक्त छ। शिक्षा क्षेत्र पनि समुदायले चलाएको हो। समुदायलाई पनि शिक्षित बनाउनुपर्ने, जिम्मेवार बनाउनुपर्ने, राजनीतिक नेतृत्वलाई उत्तरदायी बनाउनुपर्ने र शिक्षकहरुलाई प्रतिबद्ध बनाउन सकेमात्रै नेपालको शिक्षा जीवनोपयोगी हुनेछ।’

उनले शिक्षा क्षेत्रमा लगानी बढाउन आफूले राजस्व संकलन वृद्धि गर्न जोड दिएको बताए। शिक्षा क्षेत्रलाई समयानुकूल बनाउन प्रविधिको विकास गर्नुपर्नेमा सरकार सचेत रहेको उनको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस