रुकुम पश्चिममा जनार्दनलाई चुनाव जित्न मुश्किल, यसरी बन्दैछन् गोपाल शर्मा भारी

सफल खबर संवाददाता

विहीबार, १५ माघ २०८२, ०६ : ३७
रुकुम पश्चिममा जनार्दनलाई चुनाव जित्न मुश्किल, यसरी बन्दैछन् गोपाल शर्मा भारी

मुसिकोट । कर्णाली प्रदेशको पहाडी जिल्ला रुकुम पश्चिममा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनले यसपटक असाधारण राजनीतिक चित्र कोर्दैछ ।

दुई दशकदेखि जनार्दन शर्माले एकछत्र चुनाव जित्दै आएको र विगत देखि अहिलेसम्म माओवादी आन्दोलनको ‘उद्गम थलो’ मानिँदै आएको यो जिल्लामा यसपटक जनार्दन शर्मा (प्रभाकर) ले माओवादी (हालको नेकपा) विरासत छोडेर नयाँ दल बनाई चुनाव भिड्न लागेका छन् ।

तत्कालिन नेकपा (माओवादी केन्द्र) (हालको नेपाली कम्युनिष्ट पार्टी) बाट उनीसँग आफ्नै लामो समयदेखिको सहयोगी गोपाल शर्मा (अनल)ले प्रतिस्पर्धा गर्न लागेका छन् ।  जनार्दनले प्रचण्डको साथ छोडेर अलग्गै राजनीतिक बाटोमा हिँडेपछि अहिले रुकुम पश्चिममा उनलाई आफ्नै सहकर्मीहरुको साथ छैन । 

बरु यसपटक उनलाई (जनार्दन) चुनाव जिताउन एमालेले आफनो उम्मेदवारलाई ‘डम्पिङ’ गरेर जनार्दनकै चुनावी कमाण्डर बनाएको छ । तर पनि उनलाई आफ्नै विगतका सहयोगी गोपाल (अनल) सँगको चुनावी भीडन्त सजिलो भने छैन । 

नेकपा एमाले र जनार्दन शर्माको नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच चुनावी तालमेलपछि रुकुम पश्चिमको प्रतिस्पर्धा थप रोचक  भने बनेको छ । एमालेले आफ्ना उम्मेदवार नन्दराम देवकोटालाई पछि हटाएर प्रलोपा उम्मेदवार जनार्दन शर्मालाई साथ दिने निर्णय गरेसँगै जिल्लाको चुनावी अंकगणितमा केही फेरबदल भने पक्कै देखिनेछ । 

जनार्दन शर्मा २०६४ देखि २०७९ सम्म भएका सबै चुनावमा ‘हसियाँ–हतौडा’ चुनाव चिन्ह लिएर विजयी हुँदै आएका नेता हुन् । तर प्रचण्डले माधव नेपाल लगायतका अन्य २१ वटा पार्टी-५समुहसँग एकता गरेपछि जनार्दनले प्रचण्डबाट अलग हुँदै बाबुराम भट्टराईसहित प्रलोपा गठन गरेपछि यसपटक उनी आँखा चुनाव चिन्ह लिएर मैदानमा छन् ।

प्रचण्डको पार्टी नेपाली कम्युनिष्ट पार्टी (तत्कालिन माओवादी केन्द्र) को पनि हसियाँ हतौडा चुनाव चिन्ह्र यसपटकको चुनावमा छैन । अनलले पनि नयाँ चिन्ह्र तारा चुनाव चिन्ह्र लिएर चुनावी प्रतिस्पर्धा गदैछन् ।

रुकुम पश्चिमका मानिसहरु भन्छन्– ‘चुनाव चिन्ह्र जे लिएपनि यसपटकको चुनावमा पनि मुख्यतः जनार्दन शर्मा र गोपाल शर्मा (अनल)कै बीचमा प्रतिस्पर्धा हुन्छ । यी दुईमध्ये एकले नै चुनावमा बाजी मार्नेछन् ।’

रोचक त के छ भने रुकुम पश्चिममा यो पटकको चुनावमा ४ जना उम्मेदवार विगतमा एकै पार्टीमा सँगैका सहयात्री थिए । प्रलोपाका जनार्दन शर्मा, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का गोपाल शर्मा, विप्लव नेतृत्वको पार्टी नेकपा (माओवादी)बाट चन्द्रबहादुर बुढा र राष्ट्रिय स्वतन्त्र पार्टीका मानबहादुर शाही चारै जनाको पृष्ठभूमि माओवादी धार नै हो । 

यी चार बाहेक पनि अन्य ७ जना उम्मेदवार अन्य पनि छन् । नेपाली कांग्रेसले यसपटक राजु केसीलाई उम्मेदवार बनाएको छ। तर टिकट वितरणप्रति कांग्रेसभित्रै असन्तुष्टि छ। जिल्लाका पुराना नेताहरू खुलेरै केसीको उम्मेदवारीको विरुद्दमा देखिन्छन्। विशेष महाधिवेशन पक्षधर गगन थापाको समुहमा रहेका केसीलाई टिकट दिएपछि रुकुम पश्चिममा पूराना कांग्रेसी नेताहरुले असन्तुष्टि जनाएका छन् ।

टिकट लिएर गगन थापा पक्षका नेता पुगेपनि जिल्लामा शेरबहादुर देउवा निकट समूह बलियो भएकोले यी दुई समुहका बीचमा मनोवैज्ञानिक दूरी देखिन्छ। यही असन्तुष्टिको फाइदा लिन जनार्दन र गोपाल दुवै लागेका छन् । तर, कांग्रेसभित्रै एउटा बुझाइ छ—जनार्दनलाई फेरि जिताउनु भन्दा, नेकपाका गोपाल शर्मालाई जित्न सघाउँदा जिल्लामा कांग्रेसलाई दीर्घकालीन राजनीतिक फाइदा हुन सक्छ। यही द्विविधाले कांग्रेसको चुनावी अभियान कमजोर देखिएको छ।

२०७९ मा रुकुम पश्चिममा प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ कांग्रेसको समर्थनमा जनार्दन शर्माले ३९ हजार ५ सय ४९ मत ल्याएर जित्दा एमालेका नन्दराम देवकोटाले १२ हजार ९ सय ६१ मत ल्याएका थिए। अहिले जनार्दनसँग एमालेको गठबन्धन छ । 

गणितीय हिसाबले हेर्दा, यो तालमेल जनार्दनका लागि निर्णायक हुन सक्छ। २०७९ को निर्वाचनको समानुपातिक तर्फ एमालेले रुकुम पश्चिममा ८,७६९ मत पाएको थियो। कांग्रेसले झन्डै उस्तै ८,७६६ मत । माओवादी (हालको नेकपा) को मत ३४ हजार बढी थियो । 

जनार्दनले प्रचण्ड र तत्कालिन माओवादी (हालको नेकपा)सँगको सम्वन्ध तोडेपछि उनलाई जिल्लामा साथ दिने नेता कार्यकर्ता त्यक्ति देखिएनन । जनार्दनले अलग पार्टी बनाएपनि नेकपातिरै माओवादीका नेता– कार्यकर्ता संगठित छन् । 

माओवादी धार (नेकपा)बाट जनार्दनको पक्षमा खुलेको त्यक्ति नेता देखिएका छैनन् । आठविसकोटका उपप्रमुख धन कुमारी शाही र चौरजहारीका केही वडा अध्यक्षहरु मात्रै स्थानीय हतका जनप्रतिनिधिहरु जनार्दनतिर खुलेका छन् । तर अन्य स्थानीय तहका जनप्रतिनिधि सबै नेकपातिरै छन् । 

रुकुम पश्चिममा ३ नगरपालिका ३ गाउँपालिका र ७३ वडा छन् । तीन नगरपालिका मुसीकोट, चौरजहारी र आठबीसकोट नगरपालिकामा १४/१४ वडा छन् । बाँफिकोट, त्रिवेणी गाउँपालिकामा १०/१० वडा छन् । सानीभेरी गाउँपालिकामा ११ वडा छन् । ७३ वडामध्य ५१ वडामा माओवादीले जितेको छ । नेपाली कांग्रेसले १९ वडा जित्दा नेकपा एमालेले २ वडा जितेको छ भने स्वतन्त्रले १ वडा जितेका छन् । 

जिल्लाका ६ वटै स्थानीय तहमा माओवादीले बढी वडा जितेको छ । मुसीकोट नगरपालिकामा माओवादीले ८ र नेपाली कांग्रेसले ६ वडा जितेको छ । चौरजहारी नगरपालिकामा माओवादीले ११ वडा जित्दा कांग्रेसले ३ वडा जितेको छ । आठबीसकोट नगरपालिकामा माओवादी केन्द्रले १० वडा जित्दा एमाले र कांग्रेसले २र२ वडा जितेका छन् । सानीभेरी गाउँपालिकामा माओवादीले ९ र कांग्रेसले २ वडा जितेको छ । बाँफिकोट गाउँपालिकामा माओवादीले ८ र नेपाली कांग्रेसले २ वडा जितेको छ ।

त्रिवेणी गाउँपालिकामा माओवादीले ५, नेपाली कांग्रेसले ४ र स्वतन्त्रले १ वडा जितेका छन् । मुसीकोटको प्रमुख कांग्रेसले जित्दा उपप्रमुख एकीकृत समाजवादीले जितेको छ । चौरजहारीको प्रमुख उपप्रमुख, र आठबीसकोटको प्रमुख उपप्रमुख माओवादी केन्द्रले जितेको छ । सानीभेरी र त्रिवेणी गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष दुवैमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । बाँफिकोट गाउँपालिका अध्यक्षमा कांग्रेसले जित्दा उपाध्यक्षमा भने माओवादीले जितेको छ ।

हाल माओवादी केन्द्र, एकीकृत समाजवादी मिलेर नेपाली कम्युनिष्ट पार्टी बनेको छ । यसमध्ये एउटा उपमेयर र तीन जना वडा अध्यक्ष बाहेक कोही पनि जनार्दनतिर छैनन । माओवादी केन्द्र र एकीकृत समाजवादीबाट जितेका सबै स्थानीय तहका जनप्रतिनिधि नेपाली कम्युनिष्ट पार्टीमै छन् । जसको कारण जनार्दन पार्टी छोडेर गएपनि संगठनात्मक रुपमा जनार्दन भन्दा गोपाल नै रुकुम पश्चिममा बलियो देखिएका छन् । 

जिल्ला संयोजक रहेका सचिन रोका, केन्द्रीय सदस्य लक्ष्मी पुन र महेन्द्र केसीले पनि जनार्दनको साथ छाडेका छन् । अहिले जनार्दनको पक्षमा कर्णालीका पूर्वमुख्यमन्त्री राजकुमार शर्मा र आठबीसकोट नगरपालिकाका पूर्वमेयर गोरखबहादुर केसी सन्देश सहितका केही नेताहरू मात्रै छन् । 

रुकुमका पुराना कम्युनिस्ट नेता बुद्धप्रसाद शर्माले पनि जनार्दनको साथ छोडेका छन् । उनी जनार्दनका आफ्नै कान्छाबुवा हुन् । पछिल्लो समय जनार्दनमा बढ्दो महत्त्वाकांक्षा, दम्भ र वैचारिक स्खलन देखेपछि उनको साथ छोडेको बुद्धप्रसादले बताएका छन् । 

अहिले त्यो पुरानो आधार जस्ताको तस्तै जनार्दनसँग छैन । तर जनार्दनको पूर्व माओवादी मतबाट करिब १०–१२ हजार मत तान्ने, एमालेको करिब ८–९ हजार मत जोड्ने र कांग्रेसको आन्तरिक असन्तुष्टिमा खेल्ने र कांग्रेसको पनि मत तानेर आफु विजयी हुने हिसाव निकालिरहेका छन् ।तर, रुकुमको राजनीति केवल अंकगणित होइन, भावना र इतिहासको राजनीति पनि भएकोले जनार्दनले सोचेको जस्तो अंकगणित उनको पक्षमा नपर्ने नेकपाका उम्मेदवार गोपाल शर्माको जिकिर छ । 

गोपाल त चुनावमा आफुँसँग जनार्दनको प्रतिस्पर्धा नै नहुने तर्क गर्छन् । ‘जनार्दन मेरो निकटतम प्रतिस्पर्धी होइन, उहाँले विगतमा पाउनु भएको मत नै पाउनुहुन्न । सबैले देख्नुभएकै छ उहाँको पछि कति नेता कार्यकर्ता लागेका छन्, हाम्रो जनमत (माओवादी मत) कतै गएको छैन, यो जिल्लाको बलियो शक्ति हामी नै हो । त्यसैले हामीलाई चुनाव जित्न गाह्रो छैन,’ गोपाल शर्मा भन्छन् ।

एमालेभित्र जनार्दनका लागि गरिएको तालमेलले नेताहरु मिलेपनि कार्यकर्ता तहमा असन्तुष्टि बाक्लिएको, त्यसको मत नेकपातिर आउने देखिएको, कांग्रेसभित्रबाट पनि नेकपालाई मत आउने आधार देखिएको र आफुहरुको मत एकढिक्का रहेकोले ठूलो मतभारमा नेकपाले चुनाव जित्ने दावी गोपालको छ ।

प्रतिक्रिया दिनुहोस