काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको साढे दुई महिना पुग्नै लाग्दा समेत मन्त्रीपरिषद् बिस्तार गर्न नसकेको भनी आलोचना भईरहेका बेला आज एक जना परराष्ट्रमन्त्री मात्रै थपिदैछन् । कांग्रेसले सत्ता गठबन्धन दलभित्र परराष्ट्रमन्त्री आफुले लिने सहमति जुटाई परराष्ट्रमन्त्रीमा डा नारायण खड्कालाई नियुक्त गर्ने तयारी गरेको हो ।
मंगलबार साँझको सत्ता गठबन्धन दलभित्र खड्कालाई परराष्ट्रमन्त्री बनाउने समझदारी जुटेको छ । तर कांग्रेसकै नेता रामचन्द्र पौडेल पक्षले भने विमति जनाएका छन् । खड्काले आजै मन्त्रीको सपथ लिनेछन् । प्रधानमन्त्री सहित ५ जना मन्त्री र एउटा राज्यमन्त्रीका भरमा देउवाले ७२ दिन यता सरकारको बागडोर सम्हालिरहेका छन् । उनको काँधमाथी नै १७ मन्त्रालयको भारी छ । तर यति हुँदा हुदै पनि उनले एक जना मात्रै मन्त्री किन थपे ? अरु अझै कहिले थप्छन् ? प्रश्न उठेको छ ।
यति लामो समयसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेर रेकर्ड राखेका देउवालाई विपक्षीले महत्वपूर्ण समय खेर फालेको भनेर आलोचना गरिरहेको छ । तर पनि मन्त्रीपरिषद् पूर्णता दिने तिरको चासो भन्दा एउटा मात्रै मन्त्री थप्ने हतारो देउवालाई अहिले किन पर्यो ? सबैतिर प्रश्न छ । तर सत्ता गठबन्धन दलभित्र देउवाले परराष्ट्रमन्त्री मात्रै थप्ने गरी सहमति किन लिए ? भन्नेमा उनले दुईटा कारण देखाएको गठबन्धन दलका एक नेताले सफलखबरलाई बताए ।
मंगलबार दिउँसो देउवाले शुरुमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई बालुवाटार बोलाए । परराष्ट्रमन्त्री थप्ने बारे र ओली सरकारले नियुक्त गरेका राजदुतहरु फिर्ता बोलाउने विषयमा छलफल गरे । प्रचण्डले साँझ सत्ता गठबन्धन दलको बैठक बोलाएर त्यसमा सहमति जुटाउन आग्रह गरे । लगत्तै मन्त्री परिषद्को बैठक बस्यो । ओली सरकारले राजनीतिक रुपमा नियुक्त गरेका राजदुत फिर्ता बोलाउने निर्णय मन्त्रिपरिषद्को बैठकबाट लिए । त्यसलगत्तै साँझ बालुवाटारमा सत्ता गठबन्धन दलको बैठक बसाले । त्यहाँ उनले मन्त्री परिषद् विस्तार हुन नसकेको भन्दै अब एक् जना परराष्ट्रमन्त्री भने पनि थप्ने आफ्नो योजना रहेको सुनाए ।
अघिल्लो साता नै आफुलाई मन्त्रीको नाम दिन भनेपनि दलहरुले अझै नदिएको प्रसंग पनि सुनाउँदै देउवाले परराष्ट्र काँग्रेसले लिने र डा. नारायण खड्कालाई पठाउने निर्णय सुनाए । रामचन्द्र पौडेलले आफ्नै पार्टीभित्र छलफल नभएको भन्दै आपत्ति जनाए ।
देउवाले क्याविनेटमा मनलाग्दी आफनो समुहबाट मात्र मन्त्री बनाएको भन्दै पौडेलको आपत्ति थियो । पौडेल समुहले परराष्ट्रमन्त्रीमा दाबी गदै आईरहेको थियो ।
हतारमा परराष्ट्रमन्त्री मात्रै किन ?
७२ दिनसम्म मन्त्रीपरिषद् विस्तार गरी पूर्णता दिन चुकिरहेका देउवाले हतारमा परराष्ट्रमन्त्री मात्रै किन नियुक्त गर्न लागे ? यसका दुई कारण रहेको बालुवाटार स्रोतले बताएको छ । ति यसप्रकार छन् ।
पहिलो : संयुक्त राष्ट्रसंघको ७६ औं महासभा अहिले चलिरहेको छ । त्यहाँ पठाउन नेपालको प्रतिनिधि नभएपछि प्रधानमन्त्रीले कांग्रेस नेता नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउन लागेका हुन् । मन्त्रिपरिषद्ले मंगलबार परराष्ट्रमन्त्रीको नेतृत्वमा नेपाली टोली महासभामा पठाउने निर्णय गरेको थियो । तर मन्त्री थिएन् । लगत्तै साँझ उनले सत्ता गठबन्धन दलभित्रै छलफल चलाएर परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई पठाउने निर्णय लिएका हुन् ।
दोस्रो : नेपाल सार्कको अध्यक्ष राष्ट्रसमेत हो । नेपालले परराष्ट्रमन्त्रीहरुको अनौपचारिक बैठक बोलाईसकेको छ । अफगानिस्तानको प्रतिनिधित्व तय भईनसकेपनि अबको दुई चार दिनमै मन्त्रीस्तरीय अनौपचारिक छलफल गर्ने नेपालको तयारी छ । त्यसका लागि अनौपचारिक छलफलहरु गर्नुपर्ने हुन्छ । त्यसका लागि पनि परराष्ट्रमन्त्रीको आवश्यकता नेपाललार्इ हतारमा भएको थियो । त्यही कारण देउवाले अरु मन्त्री नथप्दै परराष्ट्र भने ७२ दिनमै भएपनि थप्ने निर्णय लिएका हुन् ।
अरु मन्त्री कहिले ?
खासमा मन्त्री परिषद् विस्तार हुन नसक्नुमा माधव नेपालको पार्टी विभाजनका लागि सरकारले ल्याईदिएको अध्यादेश पहिलो अप्ठ्यारोको रुपमा रहेको छ । देउवाले मन्त्रालय भागवन्डा र मन्त्रीहरुको नाम दिन पटक पटक आग्रह् गरेपनि जनता समाजवादी पार्टी (जसपा) ले मानिरहेको छैन् । अध्यादेश फिर्ता या निश्क्रिय नहुँदा सम्म मन्त्रीपरिषद् विस्तार गर्न नहुने मत जसपाको छ । अध्यादेश फिर्ता या निश्क्रिय नपार्दै मन्त्रिपरिषद बिस्तार गर्दा आफनो पार्टी फेरि पनि फुट्न सक्ने भय उपेन्द्र यादवमा छ ।
उपेन्द्रको पार्टीमा मन्त्रीका आकांक्षी धेरै छन् । ५ जना सांसदले असन्तुष्टि जनाउँदै पार्टी विभाजन गर्न सक्ने अवस्था अहिलेको अध्यादेशका कारण छ । त्यही कारण पनि उपेन्द्र माधव नेपालको सहजताका लागि सरकारले ल्याएको राजनीतिक दल सम्वन्धी उक्त अध्यादेश फिर्ता या निश्क्रिय पार्नुपर्ने पहिलो शर्तका रुपमा अडान लिईरहेका छन् । अर्कोतिर नेकपा एकीकृत समाजवादी पार्टीका विषयमा पनि ओलीले खारेजको माग गर्दै सर्वोच्च अदालतमा रिट बोकेर पुगेका थिए । ओलीले आफुले कारवाही गरिसकेका नेताहरुलाई साथ लिएर निर्वाचन आयोग देखि सभामुख सम्मले नेकपा एमाले फुटाउन मतियारको भूमिका खेलेको आरोप लगाउँदै सर्वोच्चमा मुद्दा बोकेर पुगेको थियो ।
यो मुद्दामा सर्वोच्चलेके गर्ला ? आम चासो थियो । तर सर्वोच्चले मंगलबार ओलीले माधव नेपालको पार्टी खारेजका लागि गरेको आग्रह र अन्तरिम आदेश माग दिएन् । अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरिदिएको छ । उसले सभामुखको निर्णय, निर्वाचन आयोगको निर्णय लगायतको सक्कल प्रति मगाएर सबै मिसिलहरुलार्इ एक साथ पेश गर्नु र पेशी तोक्नु भन्ने आदेश दियो । यसले माधव नेपालको पार्टीलाई सुरुआती राहत मिलेको छ । उसको केन्द्रीय समितिको बैठक आज सम्म जारी हुनेछ । यो बैठकपछि उसले पार्टीका तर्फबाट मन्त्री हनेहरुको नामको टुंगो लगाउनेछ ।
एमालेले निरन्तर संसद अवरुद्ध गरिरहेको कारण दल विभाजन अध्यादेशको निर्णय लिन सरकारलाई सकस परिरहेको छ । यो विषय टुंगो लागउन प्रधानमन्त्रीमाथी दबाब छ । जसकाकारण अझै केही दिन मन्त्रिपरिषद् बिस्तार नहुने देखेपछि परराष्ट्रमन्त्री मात्रै भएपनि थप्ने योजना प्रधानमन्त्री देउवाले बनाएका हुुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ असोज २०७८, ०८ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालको विकास र समृद्धिको आधार पर्यटन : परराष्ट्रमन्त्री
अब वैदेशिक ऋण अनुदान पहिलाभन्दा कम आउनेछ : परराष्ट्रमन्त्री देउवा
परराष्ट्रमन्त्री आरजु भारत हुँदा मल्दोभाका विदेशमन्त्री नेपालमा
भारतबाट १२ दिनपछि आज फर्किंदै परराष्ट्रमन्त्री आरजु राणा
परराष्ट्रमन्त्री विदेश घुमेको घुम्यै, मन्त्री भएको २४१ दिनमा झण्डै ६० दिन देशबाहिरै
महिलाविरुद्धका अवरोध तोड्न आवश्यक : परराष्ट्रमन्त्री राणा