एमालेले गठबन्धनसँग प्रतिस्पर्धा गर्छ : अध्यक्ष ओली

रासस

सोमबार, २१ भदौ २०७८, २० : ४३
एमालेले गठबन्धनसँग प्रतिस्पर्धा गर्छ : अध्यक्ष ओली

फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले पाँच दलीय गठबन्धनसँग प्रतिस्पर्धा गरेर जनमत ल्याउने विश्वास व्यक्त गरेका छन् ।

पार्टी निकट राष्ट्रिय युवा सङ्घ नेपालले आज आयोजना गरेको भेलामा पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी अबको एमालेलाई फुट्दा नफुट्ने, निःस्वार्थी र देश बनाउन सक्षम शक्ति बनाउनेछौँ ।”

उहाँले सरकारले राष्ट्रिय स्वाधीनताका पक्षमा प्रदर्शन गर्ने र अभिव्यक्ति दिनेलाई कारबाहीको चेतावनी दिनु लोकतन्त्रको मर्मविपरीत भएको बताए । अध्यक्ष ओलीले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो पार्टीले कारबाही सिफारिस गरेका सांसदलाई कारबाही नगरेको गुनासो गरे ।

एमालेका स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले सर्वाेच्च अदालतले गत असार २८ गते दिएको संसद् पुनस्र्थापना र प्रधानमन्त्री नियुक्तिसम्बन्धी फैसलाप्रति आफ्नो पार्टीको विमति रहेको बताए ।

युवा सङ्घका इन्चार्ज महेश बस्नेतले सरकारले सुकुम्बासी र भूमिहीनतलाई जमिन दिन गठित आयोगलाई विघटन गरेर निराश बनाएको आरोप लगाए । सङ्घका अध्यक्ष किरण पौडेलले समृद्धिको स्पष्ट योजनासहित अघि बढिरहेको सरकारलाई पार्टीकै केही नेताको संलग्नतामा हटाइएको आरोप लगाएयो ।

कार्यक्रममा रेस्लिङ खेलाडी विष्णु सिंह, बडिबिल्डर मिलन श्रेष्ठ, काठमाडौँका प्रतीक श्रेठ, नरेश महर्जन, मनोहर श्रेष्ठ, प्रवीण सिलवाल, विकास शाक्य लगायतलाई पार्टी प्रवेश गराइएको थियो । सो अवसरमा कलाकार जीवन शर्मा, राजाराजेन्द्र पौडेल लगायतले प्रस्तुति दिनुभएको थियो भने अध्यक्ष ओलीले आफूहरूले आगामी दिनमा जीवन शर्मा साङ्गीतिक कार्यक्रम गर्ने घोषणा गरे ।

सोही अवसरमा सगरमाथाको शिखरमा २०७८ साल जेठ १७ गते पुगेर अध्यक्ष ओलीको फोटो लैजान सफल सङ्खुवासभाका कार्यकर्ता पासाङ शेर्पा ग्याल्जेनको शिखर चुमेको तस्बिर हस्तान्तरण गरिएको थियो ।