उज्यालो नेपाल अभियान सञ्चालन गर्दै प्राधिकरण

रासस

आइतबार, ०६ भदौ २०७८, २० : ४९
उज्यालो नेपाल अभियान सञ्चालन गर्दै प्राधिकरण

काठमाडौं । सरकारी स्वामित्वका सार्वजनिक संस्थानको दायित्व नागरिकलाई गुणस्तरीय सेवा दिनु हो । यही उद्देश्यमा आधारित भएर नेपाल विद्युत् प्राधिकरणले सहरी सौन्दर्यलाई अभिवृद्धि गर्ने लक्ष्यका साथ ‘उज्यालो र सफाइ सहर अभियान’ सञ्चालन गर्ने भएको छ । 

सरकारको घोषित उज्यालो नेपाल अभियानलाई फरक ढङ्गले अगाडि बढाउने लक्ष्यका साथ प्राधिकरणले ‘उज्यालो सहर अभियान’लाई तीव्रता दिने भएको छ । त्यसका लागि विभिन्न नगरपालिकाकोे समन्वय र सहकार्यमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदा, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानमा सजावटयुक्त अत्याधुनिक बत्ती (स्मार्ट लाइट) जडान गर्ने योजना तय भएको प्राधिकरणले जनाएको छ । 

यस्तो योजना कार्यान्वयनमा आएपछि सहरको सौन्दर्य अभिवृद्धि  हुने, विद्युत् माग बढ्ने र रातिको खेर जाने विद्युत् पनि खपत हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो योजना सुनाउनुभयो । अघिल्लो पटक विद्युत्भार कटौतीको अन्त्यका लागि नेतृत्व गर्नुभएका घिसिङको ध्यान यस पटक सबैलाई गुणस्तरीय बिजुली र विद्युत् खपत बढाउने रहेको छ । 

यस्तै अभियानमा सहरी क्षेत्रमा रहेका अनावश्यक खम्बा तथा तार हटाइन्छ । मुख्य तथा सहायक सडकमा रहेका प्रयोगविहीन अनावश्यक विद्युतीय पोल तथा तारहरू हटाउने, तारहरूलाई भूमिगत गर्नेलगायत काम अगाडि बढाउन लागिएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो । पहिलो चरणमा उज्यालो र सफाइ सहर अभियान सङ्घीय राजधानी काठमाडौँ उपत्यका, भरतपुर एवं पर्यटकीय पोखरा महानगरपालिकामा चलाइने र त्यसपछि विस्तार गर्दै देशभरि नै सञ्चालन गर्ने प्राधिकरणको योजना छ । 

 ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आफ्नो कार्ययोजनामार्फत  वितरण लाइन तथा सबस्टेशनको क्षमता वृद्धि गर्दै वितरण प्रणालीको गुणस्तर सुधार गर्ने र सहरी क्षेत्रमा वितरण प्रणालीलाई भूमिगत गर्ने कार्यलाई विस्तार गर्दै लैजाने घोषणा गरेकी थिइन् । यही घोषणालाई कार्यान्वयन गर्न प्राधिकरणले ‘उज्यालो र सफाइ सहर अभियान’ चलाउन लागेको जनाएको छ ।  

सडकमा प्रयोगमै नरहेका अनावश्यक पोलहरू जताततै देखिन्छन्, त्यसलाई हटाउन सुरु गरिसकेका छ । विद्युतीय तारलाई भूमिगत बनाउन पहिलो चरणमा काठमाडौँको महाराजगञ्ज र रत्नपार्क क्षेत्रमा धमाधम काम भइरहेको छ । 

“सहरलाई कुरूप बनाएका विभिन्न सेवा प्रदायकको तारको जालोलाई हटाएर हाम्रै भूमिगत प्रणालीमा राखिनेछ । यसले सौन्दर्यको वृद्धि एवम् सफा सहर पनि बन्नेछ”, घिसिङले भन्नुभयो, “हाल भइरहेको जमिन माथिको (ओभरहेड) वितरण प्रणालीभन्दा भूमिगत प्रणाली सुरक्षित हुने र सहरलाई कुरूप बनाइरहेको तारको जालो हट्दा दुर्घटनाको जोखिम पनि कम हुने र सहरी सौन्दर्यता कायम राख्न सहयोग पुग्ने भएकाले यसलाई देशका प्रमुख सहरमा विस्तार गरिनेछ ।”

प्राधिकरणले अहिले काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत बनाउन काठमाडौँको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा काम गरिरहेको छ । दोस्रो चरणमा काठमाडौँका बाँकी रहेका ठाउँहरू, ललितपुर, भक्तपुर, पोखरा, भरतपुरको तार भूमिगत गर्ने काम अगाडि बढनेछ । विद्युत्को तारसँगै अप्टिकल फाइबर पनि बिछ्याइने हुँदा इन्टरनेट, दूरसञ्चार, केवल टेलिभिजन सेवा प्रदायकहरूले उक्त अप्टिकल फाइबर प्रयोग गरी सेवा प्रदान गर्न सक्नेछन् ।