ट्रान्सफर्मरको काम गर्दा भएको विद्युत अवरुद्धलाई लोडसेडिङ भनियो: नेपाल विद्युत् प्राधिकरण

सफल खबर संवाददाता

आइतबार, ११ साउन २०८२, १५ : ५०
ट्रान्सफर्मरको काम गर्दा भएको विद्युत अवरुद्धलाई लोडसेडिङ भनियो: नेपाल विद्युत् प्राधिकरण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ट्रान्सफर्मरको काम गर्दा भएको लाइन अवरुद्धलाई लोडसेडिङको हल्ला फैलाइएको जनाएको छ । प्राधिकरणले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै चनौली वितरण केन्द्रअन्तर्गतका केही क्षेत्रमा देखिएको विद्युत् आपूर्तिको समस्या प्राविधिक कारणले भएको र यसलाई लोडसेडिङ भन्न नमिल्ने स्पष्ट पारेको हो ।

प्राधिकरणले सामाजिक सञ्जालमा लोडसेडिङको तालिका भनेर फैलाइएको हल्ला भ्रामक रहेको स्पष्ट पारेको छ । चनौली वितरण केन्द्रको कार्यक्षेत्रमा विद्युत् आपूर्ति गर्ने चनौली ३३/११ के.भी. सबस्टेसन तथा भरतपुरबाट आउने ३३ के.भी. लाइनमा अत्यधिक लोड बढेकाले विद्युत् आपूर्तिमा समस्या देखिएको प्राधिकरणले जनाएको छ ।

चनौली क्षेत्रको मागलाई दीर्घकालीन रूपमा सम्बोधन गर्न बसेनी १३२ के.भी. सबस्टेसनबाट चनौली सबस्टेसनसम्म नयाँ ३३ के.भी. लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको छ र सो सम्पन्न भएपछि समस्या समाधान हुने समेत प्राधिकरणले जनाएको छ ।

हाल वर्षायाममा अपेक्षाअनुसार पानी नपरेकाले सिँचाइका लागि विद्युतको माग बढेकोले लाइन तथा ट्रान्सफर्मरहरूमा अतिरिक्त भार परेको प्राधिकरणले जनाएको छ । यो प्राविधिक समस्या भएको र यसलाई समाधान गर्न टोली अहोरात्र खटिरहेको प्राधिकरणले बताइएको छ ।

प्राधिकरणले भ्रामक सूचनाहरूबाट आम उपभोक्तामा अन्योल सिर्जना भएको भन्दै विज्ञप्तिमा भनेको छ, ‘लोडसेडिङ नेपालका लागि इतिहास भएको र सही समाचार सम्प्रेषण गर्दा गरिएको अतिरञ्जना यो फर्किने अवस्था नरहेको हुँदा गलत आशयका साथ छरिएको भ्रमबाट आम उपभोक्ताहरूमा पर्न गएको अन्योलप्रति प्राधिकरण सचेत रहेको छ ।’

चनौली वितरण केन्द्रमा देखिएको समस्या दुईदेखि तीन दिनभित्र समाधान गरी निरन्तर विद्युत् आपूर्ति सुनिश्चित गर्ने प्रतिबद्धता प्राधिकरणले जानकारी दिएको छ ।