चितवनमा निषेधाज्ञा थप, के के भयो कडाइ ?

सफल खबर संवाददाता

आइतबार, ३१ साउन २०७८, १७ : ५१
चितवनमा निषेधाज्ञा थप, के के भयो कडाइ ?

भरतपुर । जिल्ला प्रशासन कार्यालय चितवनले भदौ १० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । यसअघि साउन ३२ गते राति १२ बजेसम्मलाई निषेधाज्ञा कायम भएको थियो । कार्यालयले जारी गरेको निषेधाज्ञामा अत्यावश्यक काम नपरी घर बाहिर नस्किन र अनिवार्य रुपमा मास्क र भौतिक दुरी कायम गर्न आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जारी निषेधाज्ञामा ठेला तथा फुटपाथ पसल, सपिङ महल, स्ट्रिट फुट पसल, सैलुन, व्यूटीपार्लर सञ्चालनमा रोक लगाइएको छ ।  पूजा सामग्री पसल, विद्यालय, विश्वविद्यालय लगायतका शैक्षिक सस्था सञ्चालन गर्न नपाइने ।  
खाद्यान्न, तरकारी, फलफूल, डेरी, पोल्टीजन्य पसल, एग्रोभेट, रासायनिक मल, पूजा सामग्री पसल दैनिक बिहान १० बजेसम्ममात्र सञ्चालन गर्न पाइनेछ ।

यस्तै, इलेक्ट्रिक, भाँडा पसल, कपडा पसल, कपडा पसल, कस्मेटिक पसल, स्टेशनरी, टेलरिङ, सुनचाँदी पसल, मोटरपार्टस्, अटोमोबाइल, निर्माण सामग्रीलगायतका व्यापारिक पसलहरु आइतबार, मंगलबार र बिहीबार दिउँसो १२ बजेदेखि ६ बजेसम्ममात्र सञ्चालन गर्न पाइनेछ ।

यस्तै, खाजाघर, रेष्टुरेन्ट तथा मिठाइपसलहरु दिउँसो १२ बजेदेखि बेलुका ६ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ । हरेक दिन बैंक तथा अन्य वित्तीय संस्था, सहकारी, रेमिट सेवा सञ्चालन गर्न पाइनेछ । सहकारीहरुले घरदैलोमा गएर रकम संकलन गर्न पाइनेछैन । यसैगरी निजी तथा सार्वजनिक सवारी साधनहरु जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर सञ्चालन गर्न पाइनेछ ।

यसअघि जस्तै अब पनि कुनै प्रकारको सभा, सम्मेलन, सेमिनार, महोत्सव सञ्चालन गर्न नपाइने उल्लेख छ । भौतिक रुपमा नै उपस्थित भइ गर्नुपर्ने साधारण सभा गर्न पाइने छैन । यसैगरी भौतिक रुपमै उपस्थित भएर पठनपाठन गर्न नपाइने, सिनेमा, पार्टी प्यालेस, ब्युटी पार्लर, सैलुन, जिमखाना, फुटसलहरु सञ्चालन गर्न पाइने छैन । यस्तै मठमन्दिर, मस्जिद, गुम्बा तथा चर्चलगायतका धार्मिकस्थलमा नित्य पूजा बाहेक अन्य जमघट गर्न नपाइने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस