काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षा आज

२६ हजारभन्दा धेरै विद्यार्थी सहभागी हुँदै

सफल खबर संवाददाता

आइतबार, १७ जेठ २०८३, ०७ : २७
काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षा आज

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा भर्ना हुने विद्यार्थीका लागि आज (आइतबार) छात्रवृत्ति परीक्षा सञ्चालन गर्दैछ। 

बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुने परीक्षामा २६ हजार ६८० जना विद्यार्थी सहभागी हुने काठमाडौँ महानगरपालिकाले जनाएको छ। त्यसका लागि ८३ वटा  परीक्षा केन्द्र निर्धारण गरिएको छ। काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ का लागि निजी विद्यालयलाई शिफारिस गर्ने छात्रवृत्तिका लागि २६ हजार ६८० जना परीक्षार्थी सहभागी हुन योग्य भएका छन्। 

आवेदन दिने २६ हजार ८८८ जना विद्यार्थीमध्ये २०८ जनाको फाराम अस्वीकृत भएको महानगरपालिकाले जनाएको छ। ती विद्यार्थी आज परीक्षामा सहभागी हुन लागेका शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काले जानकारी दिए। परीक्षार्थीले जुन प्रणालीबाट आवेदन दिएका थिए त्यही प्रणालीबाट पाप्त हुने प्रवेश पत्र प्रिन्ट गरेर परीक्षा केन्द्रमा जानुपर्ने छ। प्रवेश पत्र रंगीन हुनु पर्ने पनि महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाले २०८० सालदेखि नीतिगत निर्णय गरेर महानगरपालिका क्षेत्रभित्र भएका ११ र १२ कक्षा सञ्चालन हुने निजी विद्यालयमा छात्रवृत्ति प्रदान गर्न परीक्षा सञ्चालन थालेको हो। परीक्षा केन्द्रमा जाँदा प्रवेशपत्रका साथै फोटोसहितको परिचय खुल्ने आधिकारिक कागजात (एसईई प्रवेशपत्र, विद्यालयको आइडी कार्ड वा नागरिकताको प्रमाणपत्र) अनिवार्य रूपमा साथमा लिई उपस्थित हुनुपर्ने महानगरले जनाएको छ। 

२०८० सालदेखि महानगरले व्यवस्थित रूपमा संस्थागत विद्यालयमा कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न थालेको हो। महानगरको यो कार्यक्रमबाट अहिलेसम्म देशभरका करिब १५ हजारजति विद्यार्थी लाभान्वित भइसकेका छन्। गत वर्ष काठमाडौँ महानगरपालिका सञ्चालन गरेको कक्षा ११ र १२ को छात्रवृत्ति प्रवेश परीक्षामा १४ हजार भन्दा धेरै विद्यार्थी सहभागी भएका थिए। 

त्यसमध्ये १० हजार ८६७ जना विद्यार्थी उत्तीर्ण भएका थिए। उत्तीर्ण भएकामध्येबाट पनि करिब ४५ सय विद्यार्थीले मात्रै छात्तवृत्ति प्राप्त गरेका थिए। वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँ महानगरपालिकाको मेयर हुँदा छात्रवृत्तिको यो प्रणाली विकास गरेका थिए।