प्राधिकरणमा ठूलो चुनौती स्वीकारेर आएको छु : कुलमान घिसिङ

सफल खबर संवाददाता

बुधबार, २७ साउन २०७८, १४ : ५९
प्राधिकरणमा ठूलो चुनौती स्वीकारेर आएको छु : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले ठूलो चुनौती स्वीकारेर विद्युत प्राधिकरणमा दोस्रो पटक नियुक्ति लिएर आएको बताएका छन् । 

बुधबार प्राधिकरणमा उनको स्वागतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले सबैको सहयोग र टीमवर्कलाई विश्वास राख्दै आफूले प्राधिकरणलाई उचाइमा पुर्याउन प्रयास गर्ने बताए । 

‘दोस्रो कार्यकालका लागि ठूलो चुनौती स्वीकारेर आएको छु । यो जति ठूलो चुनौति मलाई अरु केही हुनेछैन’, घिसिङले भने, ‘दोस्रो कार्यकालमा आउँनै पर्छ भन्ने पनि थिएन।  तर प्राधिकरणको आवश्यकता र  सरकारले जिम्मेवारी दिने किसिमको जुन आएपछि नेतृत्व गर्न आइपुगेको छु ।’

विगतदेखि नै  आम पब्लिकले प्राधिकरणमा फेरि आएर  नेतृत्व गर्न आफ्नो पक्षमा अभियान चलाएको स्मरण गर्दै घिसिङले सबैले आफूप्रति गरेको विश्वास कायम राख्न लागिपर्ने बताए । ‘मेरो व्यक्तिगत जीवनमा यो भन्दा ठूलो चुनौति केही होइन’, उनले थपे, ‘यो चुनौति म एक्लैले सामना गर्न सक्ने होइन । हामी सबै मिलेर गर्ने हो ।’

उनले अगाडि थपे, ‘आज मलाई सरकारले जुन जिम्मेवारी दिएको छ । जनअपेक्षा पनि एक पटक आएर काम गर्नुपर्छ भन्ने नै थियो । पहिलो कार्यकालमा प्रचण्डको क्याबिनेटले नियुक्ति गरेको थियो । अहिलेको प्रधानमन्त्री सत्ता साझेदार हुनुहुन्थ्यो ।’आज पहिलेकै जस्तो सत्ता गठबन्धन भएको बेला प्रधानमन्त्री शेरबहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, ऊर्जामन्त्री पम्फा भुसाललगायतको संयुक्त प्रयासमा आफू प्राधिकरणमा आएको कुलमानको भनाइ छ ।

उनले ऊर्जा मन्त्रालयको कार्ययोजनाअनुसार आफूले प्राधिकरणलाई उचाइमा पुर्याउन काम गर्ने पनि बताए ।  ‘सरकारले दिएको जिम्मेवारी दिएको र मन्त्रीज्यूले दिएको निर्देशनअनुसार ऊर्जा क्षेत्रलाई हाइटमा लैजाने प्रतिबद्धता जाहेर गर्न चाहन्छु’, उनले भने।

प्रतिक्रिया दिनुहोस