२२ दिनदेखि मन्त्री बन्न चाहनेहरुको जोखना हेर्दै देउवा

सफल खबर संवाददाता

बुधबार, २० साउन २०७८, १८ : १५
२२ दिनदेखि मन्त्री बन्न चाहनेहरुको  जोखना हेर्दै देउवा

काठमाडौँ । शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको २२ दिन पूरा भएको छ । तर हालसम्म देउवाले मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् । हाल मन्त्रिपरिषद् भने ६ सदस्यमा सीमित छ । एक राज्यमन्त्री, चार मन्त्री र प्रधानमन्त्रीले मात्रै सरकार चलाइरहेका छन् । कोरोनाको महामारीमा जुट्ने बेला मन्त्रीहरु नै नियुक्त गर्न नसक्ने सरकारको आलोचना भइरहेको छ । 

सरकारले पूर्णता पाउन नसक्दा संसद्ले गतिलो बिजनेस पाउन सकेको छैन । देश कोरोना महामारीको तेस्रो लहरको संघारमा छ। देउवाले पाँच मन्त्री लिएर देश चलाइरहेका छन् । कोरोना संक्रमितको संख्या हरेक दिन बढिरहेको छ । खोपको सहज व्यवस्थापन हुन सकेको छैन । शैक्षिक क्षेत्रको अवस्था उस्तै बेहाल छ । 

प्रधानमन्त्री नियुक्तिको २२ दिन बितिसक्दा पनि किन सरकार गठन हुन नसक्दा १९ गतेको प्रतिनिधि सभा बैठकमा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले व्यग्य गर्दै भने, ‘मन्त्री चुन्न लाइसेन्स जारी गरौं । मन्त्रीको लाइसेन्स जारी गर्दा मन्त्री बन्नका लागि शर्त राखौं । भ्रष्टाचार र कमिसनका सबै दुलाहरू थाहा पाएको, त्यो क्षमता भएको माननीयलाई मन्त्री बनाउने शर्त राखौं । यो सदनमा आइराख्न नपर्ने यसो झल्याकझुलुक गरे हुने प्रावधान राखौं । हाम्रो नेतालाई सजिलो होला ।’  

पाँच दलीय गठबन्धनका नेताहरूलाई मन्त्री छान्न असाध्यै कठिन भएको जानकारी  साउन ९ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै सांसदले मन्त्री मागेपछि आफू आतंकित भएको अभिव्यक्ति दिएका थिए । पार्टी कार्यालय पेरिसडाँडा आयोजित नरबहादुर कर्माचार्यको स्मृति दिवसको कार्यक्रममा प्रचण्डले भनेका थिए, ‘माओवादीका ४९ जना नै सांसदले मन्त्री मागेपछि म आतंकित भएको छु ।’

‘कांग्रेस र माओवादीले मन्त्रिपरिषद्मा सदस्य पठाएको छ । राष्ट्रिय जनमोर्चाले सरकारमा सहभागी हुँदैनौँ भनेको छ । जनता समाजवादी पार्टी र माधव नेपाल समूहले अहिलेसम्म सरकारमा सहभागी हुनेबारे स्पष्ट रूपमा बताउन सकेका छैन,’ माओवादी केन्द्रका नेता देव गुरूङले भने, ‘सरकारमा सहभागी हुने नहुने स्पष्ट नभएको कारण मन्त्रालय बाँड्ने विषय टुंगिन सकेको छैन ।’