छाडा चौपाया व्यवस्थापनले किसानको हैरानी हट्यो

रासस

बुधबार, २० साउन २०७८, १२ : ०२
छाडा चौपाया व्यवस्थापनले किसानको हैरानी हट्यो

कञ्चनपुर । छाडा चौपाया व्यवस्थापनको कार्य गरिएपछि शुक्लाफाँटा नगरपालिकाका किसानले खेप्दै आएको हैरानी हटेको छ। सडक दुर्घटनामा समेत निकै कमी आएको छ। विगतमा छाडा चौपाया भगाउनकै लागि नगरपालिका क्षेत्रका किसानले रातभर खेतबारीमै जाग्राम बस्नुपर्ने अवस्था थियो।

रातभर किसानका खेतमा गएर बालीनालीमा नोक्सानी पुर्‍याउने छाडा चौपाया दिनभर पूर्वपश्चिम राजमार्ग क्षेत्रमा आएर बस्ने हुँदा सडक दुर्घटना बढ्दोरूपमा रहेको थियो। छाडा चौपायाबाट हैरान भएका स्थानीय किसानले नगरपालिकामै ल्याएर छाडा चौपायालाई थुनेपछि नगरपालिकाले बाध्य भएर छाडा चौपाया व्यवस्थापनको कार्य अगाडि बढाएको हो। 

विसं २०७४ मा नगरपालिकाले वडा नं ११ मा छाडा चौपाया व्यवस्थापनका लागि कार्य अगाडि बढाए पनि सफल हुन सकेन। ‘छाडा चौपायाको सङ्ख्या अत्यधिक थियो’, वडा नं ११ का वडाध्यक्ष दिलबहादुर बुढाले भने, ‘तारबार गरी राखिएको क्षेत्रमा स्थानीयवासीले विरोध गरी तारवार नै निकालीदिएपछि वनहरा नदी छेउको क्षेत्रमा टिनसेट निर्माण गरी छाडा चौपायालाई राख्यौँ, त्यहाँसमेत कृष्णपुर नगरपालिका र बेदकोट नगरपालिका क्षेत्रबाट छाडा चौपाया ल्याएर छाड्न थालेपछि निकै समस्या भयो।’

सात सयको सङ्ख्यामा रहेका छाडा चौपायाको सङ्ख्या झण्डै एक हजार पुगेपछि व्यवस्थापनमा समस्या हुन थालेपछि जुम्लाका स्थानीय तहको सिफारिशमा पाल्नका लागि लैजाने व्यक्तिलाई बाटो खर्चसहित २७३ चौपाया पठाइएको उनले बताए। ‘बेदकोट नगरपालिकाको बाटो भएर जुम्ला चौपाया लैजाने व्यक्तिलाई बाटोमै अवरोध गरी लैजान दिइन्’, उनले भने, ‘त्यसपछि कृष्णपुर हुँदै चौपायालाई जुम्ला पठाएका हौं।’

केही छाडा चौपायालाई जुम्ला पठाइए पनि राजमार्गसँगै जोडिएको क्षेत्र भएकाले सङ्ख्यामा कमी आउन सकेन। छाडा चौपायाले स्थानीय किसानको खेतबारीमा नोक्सान पुर्‍याउन थालेपछि स्थानीयवासीले नगरपालिका कार्यालयमा ल्याएर चौपायालाई हुलेपछि वडा नं ८ मा छाडा चौपाया स्थानान्तरण गरियो।

दुई वर्षसम्म सो वडाको बैजनाथ सामुदायिक वन छेउको खोला किनारामा गौशाला निर्माण गरी छाडा चौपाया व्यवस्थापन गरिए पनि स्थानीय बासिन्दासँगको द्वन्द्वका कारण स्थानीय बासिन्दाले छाडा चौपाया ल्याएर पुनः नगरपालिकामा हुले। त्यसपछि समस्या समाधानका लागि वडा नं ९ मा छाडा चौपाया राख्ने निर्णय गरियो। नगरपालिकामा हुलिएका छाडा चौपायालाई बृन्दावन सामुदायिक वन क्षेत्रको बाँझो जग्गामा राख्न थालिएको हो।

वडा नं ११ र ८ मा छाडा चौपाया व्यवस्थापन गर्दा नगरपालिकाले झण्डै डेढ करोड बढी रकम खर्च गरिसकेको छ। छाडा चौपायाको समस्या दीर्घकालीनरूपमा समाधान गर्नका लागि कार्यविधि बनाएर व्यवस्थापनको कार्य गरिएको नगरप्रमुख दिलबहादुर ऐरले बताए।

‘छाडा चौपाया व्यवस्थापनका लागि भौतिक संरचना निर्माणसँगै घाँसखेती, आवश्यक औषधि, चारो र हेरालुहरुको व्यवस्था गरिराखेका छौं’, उनले भने, ‘व्यवस्थितरूपमा छाडा चौपाया राख्ने कार्य गरिएकाले विगतको जस्तो स्थानीय बासिन्दाले छाडा चौपायाबाट सास्ती खेप्नुपर्ने अवस्था छैन।’ छाडा चौपाया व्यवस्थापन केन्द्रमा दुई टिनसेट, दुईकोठे पक्की भवन, माछापोखरी निर्माणसँगै खानेपानीको व्यवस्था गरिएको छ।

छाडा चौपायालाई चारो खुवाउनका लागि दुई बिघा बढी जग्गामा घाँसखेतीसमेत गरिएको छ। ‘दिनभरि छाडा चौपायालाई हेरालुले वन क्षेत्रमा चराउने गर्दछन्’, वडा नं ९ का वडाध्यक्ष रमेश ऐरले भने, ‘साँझपख खोरमा ल्याएपछि घाँससँगै चारो खुवाउने व्यवस्था गरिएको छ।’

बिरामी परेका चौपायाको उपचारका लागि औषधि र पशु प्राविधिकको व्यवस्थासमेत गरिएको छ। छाडा चौपाया व्यवस्थापन केन्द्रमा हाल ५०० चौपायालाई राखिएको छ। नगर क्षेत्रमा छाडारूपमा छाडिएका चौपाया भेटिए व्यवस्थापन केन्द्रमा राख्ने गरिएको छ। पाल्न नसकिएका चौपायालाई ल्याएर स्थानीय बासिन्दाले केन्द्रमा राख्न खोजे रु ५०० शुल्क लिएर राख्न सकिने व्यवस्था गरिएको छ। छाडा चौपायाको मल सङ्कलन गरी वडाका किसानलाई केही शुःल्क लिएर उपलब्ध गराउने योजनासमेत बनाइएको छ।

वडाध्यक्ष ऐरले भने, ‘रासायनिक मललाई विस्थापन गरी गोठेमलको प्रयोगलाई बढावा दिनका लागिसमेत कार्य अगाडि बढाएका छौँ, वडालाई रासायनिक मलमुक्त क्षेत्रकारूपमा परिचित गराउन खोजेका छौं, त्यसका लागि चेतना फैलाउने कार्यसँगै गोठेमलको प्रयोगलाई बढावा दिनका लागि लागेका छौं।’

छाडा चौपाया व्यवस्थापन केन्द्रलाई नमूनाका रूपमा विकास गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ। केन्द्रमा रहेका गाईलाई कृत्रिम गर्भाधान गरी उन्नत नश्लका बाच्छाबाच्छी उत्पादन गरी दुग्ध उत्पादनमा नगरपालिकालाई अग्रणी बनाउने योजनासमेत रहेको उनले सुनाए। नगरपालिकाले छाडा चौपाया व्यवस्थापनका लागि केन्द्रलाई ४० लाख अनुदान रकमसमेत उपलब्ध गराएको छ।

उपलब्ध गराइएको रकमबाट छाडा चौपाया व्यवस्थापन केन्द्रमा कार्यरत हेरालुको ज्याला, काम गर्ने मजदुरको ज्याला, तारबार, नल्का जडान, पराल, ब्रान, औषधि, घाँसको बीउ, डुँड निर्माण, शौचालय निर्माणलगायतमा खर्च गरिएको छ। छाडा चौपाया व्यवस्थापन केन्द्रलाई सुदूरपश्चिम प्रदेशअन्तर्गत रहेको पशुपक्षी तथा मत्यस्य विकास निर्देशनालय दिपायल, डोटीबाट आव २०७५/७६ मा ट्रष्ट निर्माणका लागि ३५ लाख अनुदान रकम उपलब्ध गराइएको छ। उपलब्ध गराइएको अनुदान रकमबाट ट्रष्ट निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ।

छाडा चौपाया व्यवस्थापनको कार्यमा सहयोग पुर्‍याउनका लागि एनिमल नेपाल नामक संस्थाले समेत दुई लाख रकम दिएको छ। सो रकमबाट पशुका लागि औषधि, तरकारी, घाँसको बीउ खरिद, जोताइ, विद्युतीय मोटर, ब्रान खरिदका लागि खर्च गरिएको छ। 

प्रतिक्रिया दिनुहोस