नेविसंघले भन्यो : ‘सुकुम्वासी व्यवस्थापनमा दीर्घकालीन समाधान आवश्यक’

सफल खबर संवाददाता

शुक्रबार, ११ बैशाख २०८३, १४ : ३७
नेविसंघले भन्यो : ‘सुकुम्वासी व्यवस्थापनमा दीर्घकालीन समाधान आवश्यक’

काठमाडौँ । नेपाल विद्यार्थी संघले सुकुम्वासी बस्ती व्यवस्थापनको सन्दर्भमा स्पष्ट मापदण्ड निर्धारण गरी दीर्घकालीन समाधानतर्फ उन्मुख हुन सरकारलाई सुझाव दिएको छ।

नेपाल विद्यार्थी संघका अनुसार काठमाडौँ क्षेत्रमा बस्ती खाली गराउने तयारी भइरहेका बेला वैकल्पिक व्यवस्थाविना बसोबास हटाउने प्रयास मानवीय दृष्टिले उपयुक्त नहुने उल्लेख गरिएको छ। संगठनले पहिचान प्रक्रिया, पुन:स्थापन योजना र स्थानीय तहसँग समन्वयलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरेको छ।

प्रवक्ता सुरज सेजुवाल द्वारा जारी विज्ञप्तिमा समस्या समाधानका लागि दीर्घकालीन र संस्थागत दृष्टिकोण आवश्यक रहेको औँल्याइएको छ। अल्पकालीन तथा जबरजस्ती उपायहरूले समस्या समाधानको सट्टा थप जटिलता उत्पन्न गर्न सक्ने चेतावनी पनि दिइएको छ।

संगठनले मानव अधिकारको सम्मान, समावेशी नीति तथा न्यायसंगत पुन:स्थापनाको आधारमा समाधान खोज्न सरकारसँग आग्रह गरेको छ। आर्थिक रूपमा कमजोर तथा घरबारविहीन नागरिकहरूलाई राज्यको संरक्षणको दायराभित्र राख्दै वैकल्पिक व्यवस्था सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ।

प्रतिक्रिया दिनुहोस