नेपालमा भारतद्धारा निरन्तर बलमिच्याइँ बढ्दा मन्त्रालय र दूतावास बिच किन बाँझियो मत ?

विहीबार, ०३ असार २०७८, ०८ : १४
नेपालमा भारतद्धारा निरन्तर बलमिच्याइँ बढ्दा मन्त्रालय र दूतावास बिच किन बाँझियो मत ?

काठमाडौँ । सुदूरपश्चिम क्षेत्रमा भारतद्वारा निरन्तर भइरहेको बलमिच्याइँबारे भारतसँग जानकारी लिने विषयमा नेपालको परराष्ट्र मन्त्रालय र नयाँ दिल्लीस्थित नेपाली दूतावासबीच नै मत बाझिएको छ । मन्त्रालयले आइतबार सीमा क्षेत्रमा भारतीय पक्षबाट भइरहेको गतिविधि आफ्नो जानकारीमा आइसकेको जनाए पनि दिल्लीस्थित नेपाली राजदूत नीलाम्बर आचार्यले ‘पछिल्लो सूचना केही नआएको’ बताएका छन् ।

मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भारतीय गतिविधिबारे जानकारी आइसकेको र त्यसबारे बुझ्न दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिइसकेको बताएकी थिइन् । भारतलाई तत्कालै कूटनीतिक नोट पठाउनुअघि सीमा क्षेत्रको स्थितिबारे थप जानकारी लिएर मात्रै त्यस विषयमा के गर्ने भनेर अघि बढ्ने मनसायमा मन्त्रालय रहेको उनको भनाइ छ । तर राजदूत आचार्यले भने सोमबार भारतीय सडकले नेपाली भूमिमा पुर्‍याएको क्षतिबारे परराष्ट्रबाट कुनै निर्देशन नआएको बताएका थिए ।

‘त्यो त पुरानै कुरा हो । नयाँ कुराका रूपमा केही आएको छैन । न कुनै इन्स्ट्रक्सन (निर्देशन) आएको छ । महाकाली क्षेत्रमा ठूला चट्टानहरू खसेको र त्यसले हाम्रो बाटोलाई अवरुद्ध गरेको बारे विगतमा पनि जानकारी आएकै हो । अहिलेको पछिल्लो सूचना भने केही आएको छैन,’ उनले भनेका थिए । आचार्यको भनाइ सार्वजनिक हुनु अघिल्लो दिन मन्त्रालयले सुरुमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जेठ २७ गते भारतको पिथौरागढस्थित धारचुला जिल्ला अधिकारी (डिस्ट्रिक्ट मजिस्ट्रेट) आनन्द स्वरूपलाई पठाएको पत्रको जवाफलाई कुर्ने र दिल्लीस्थित नेपाली दूतावासलाई पनि भारतीय पक्षसँग पछिल्ला गतिविधिलाई सोधपुछ गरेर जवाफ पठाउन भनेको थियो ।

‘दुवैतिरबाट जवाफ आएपछि हेर्नेछौं । त्यसपछि के गर्ने भन्ने निर्णय हुन्छ,’ प्रवक्ता लम्सालले भनिन् । सीमा सम्बन्धमा भारतसँग थप सोधपुछ गर्ने सम्बन्धमा मन्त्रालय र राजदूत आचार्यको कुरा बाझिएपछि मन्त्रालयले यस विषयमा थप प्रतिक्रिया दिन चाहेको छैन । केही दिनयता भारतीय पक्षबाट सीमा क्षेत्रमा दुई महत्‍वपूर्ण र गम्भीर घटना भएका छन् । पहिलो, महाकाली नदीपारि भारतले बाटो निर्माण क्रममा विस्फोट गर्दा ढुंगा–माटो खस्दा नेपालतर्फको आवतजावत गर्ने बाटो नै बन्द भएको छ ।

दोस्रो, वैशाख २८ गते भारतका रक्षामन्त्री राजनाथ सिंहले भारतको धारचुलाबाट नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा हुँदै तिब्बतको धार्मिक स्थल मानसरोवार जाने बाटो निर्माण गर्ने आफ्नो बोर्डर रोड अर्जनाइजेसन (बीआरओ) लाई सडक निर्माण गरेकोमा धन्यवाद दिए । जसले गर्दा भारतीय पक्षले नेपाली भूमिमा बाटो निर्माण गरिरहेको प्रस्ट पारेको छ । गृहमन्त्री खगराज अधिकारीले आफ्नो मन्त्रालयले मंगलबार नै भारतलाई कूटनीतिक नोट पठाउनका लागि पत्र पठाइसकेको जानकारी दिएका थिए । कान्तिपुर दैनिकमा खबर छ ।