प्रहरी टोली र मदिरा व्यवसायीबीच झडप, तीनजना पक्राउ

सफल खबर संवाददाता

आइतबार, ३० जेठ २०७८, १६ : ३५
प्रहरी टोली र मदिरा व्यवसायीबीच झडप, तीनजना पक्राउ

जनकपुरधाम । धनुषामा प्रहरी टोली र मदिरा व्यवसायीबीच झडप भएको छ । शनिबार राति धनुषाधाम नगरपालिका ९ धरापानीस्थित प्रहरी र मदिरा व्यवसायीबीच झडप भएको हो ।

ईलाका प्रहरी कार्यालय ढलकेवर प्रहरी गोप्य सूचनाको आधारमा अवैध मदिरा नियन्त्रणमा लिन खोज्दा स्थानीय व्यावसायीसँग झडप भएको थियो । इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले मदिरा नियन्त्रणमा लिँन खोज्दा स्थानीयले प्रहरीमाथि आक्रमण गर्दा केही समय झडप भएको जानकारी दिए ।

उनका अनुसार सुरुवात कम संख्यामा प्रहरी पुग्दा स्थानीयले हातपात गर्नुको साथै प्रहरीसंग दुव्र्यवहार गरेको थियो । स्थानीय व्यवसायीले प्रहरीलाई हातपात गर्नुको साथै प्रहरीको शरिरमाथि मदिरासमेत खन्याएका थिए ।

‘मदिरा बरामद गरी प्रहरी ढलकेवर ल्याउने क्रममा स्थानीयले प्रहरीमाथि हातपात पनि गरेका छन्,’उनले भने,‘ढुङ्गा प्रहार तथा प्रहरीको शरिरमाथि मदिरा खन्याएर दुर्वव्यवहार गरको छ ।’

प्रहरीमाथि दुव्र्यवहार र मदिरा खन्याएको आरोपमा तीन जना पक्राउ समेत परेका छन् । धनुषाधाम नगरपालिका ९ धारापानीका शुसिला थापा, लक्ष्मी साह र श्रवण कापरलाई पक्राउ गरेको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए । पक्राउ परेका तीनै जना ढलकेवर प्रहरीको हिरासतमा छन् ।

प्रहरी एक हजार ५० लिटर कच्चा पदार्थ र ६० लिटर तयारी मदिरा नियन्त्रणमा लिएर नष्ट गरेका छन् । स्थानीयको प्रहारबाट ना १ झ १२११ नम्बरको प्रहरी भ्यानको सिसामा क्षति पुर्याएको छ भने प्रहरी जवान राजु खानलाई चोटपटक लागेको छ ।