चितवन प्रहरी प्रमुखमा रामेश्वर पौडेल आउने बित्तिकै ७ वर्षदेखि फरार प्रतिवादी पक्राउ

सफल खबर संवाददाता

विहीबार, ०७ जेठ २०८३, १८ : ०९
चितवन प्रहरी प्रमुखमा रामेश्वर पौडेल आउने बित्तिकै ७ वर्षदेखि फरार प्रतिवादी पक्राउ

चितवन । चितवन प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नासाथ प्रहरी उपरीक्षक रामेश्वर पौडेलको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय चितवनले उल्लेखनीय सफलता हासिल गरेको छ। ७ वर्षअघि कर्तव्य ज्यान मुद्दामा फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार २०७६ साल मंसिर २३ गते चितवनको खैरहनी नगरपालिका क्षेत्रमा भएको कर्तव्य ज्यान घटनामा संलग्न रही फरार रहेका पन्चदेव महतोलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो। लामो समयदेखि फरार रहेका उनलाई खोजतलास तीव्र बनाइएपछि प्रहरी टोलीले बारा जिल्लाको फेटा गाउँपालिका–१ त्रिवेणी टोलबाट नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका महतोमाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। सम्मानित चितवन जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी प्रमुख रामेश्वर पौडेलको आगमनसँगै चितवन प्रहरी अपराध अनुसन्धान तथा फरार अभियुक्त पक्राउ अभियानलाई थप प्रभावकारी बनाएको स्थानीयले बताएका छन्। जिल्लामा शान्ति सुरक्षालाई थप मजबुत बनाउने प्रतिबद्धतासहित प्रहरी सक्रिय रूपमा परिचालन भएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस