काठमाडौं । प्रदेश सरकारको नेतृत्व फेरबदल गर्ने तयारीमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेले अहिले मधेस प्रदेशमा बाहेक सरकार बाहिर रहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लाई समेत सत्ता समीकरणमा समेट्ने गृहकार्य अघि बढाएका छन् ।
गत फागुनको प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रमा शक्तिशाली बनेसँगै विपक्षमा पुगेका र सिट संख्यामा निक्कै पछि परेर खुम्चिएका कांग्रेस, एमाले र नेकपाले अब प्रदेश तहमा सहकार्य गरेर ‘गणतन्त्र पक्षधर’ मोर्चा बनाउने रणनीतिअनुसार छलफल तीव्र पारेका हुन् ।
संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका नाममा प्रदेश सरकारहरूमा साझा सत्ता समीकरण बनाउने विषयमा तीन दलबीच अनौपचारिक संवाद चलिरहेको नेताहरूले बताएका छन् । कांग्रेस र एमालेबीच दुई वर्षअघि भएको आलोपालो सरकार नेतृत्वसम्बन्धी समझदारी कार्यान्वयन गर्ने तयारी भइरहेका बेला यही प्रक्रियामा नेकपालाई समेत जोड्ने विकल्पमा छलफल अघि बढेको हो । सत्ता साझेदारी मिलाउन सातमध्ये एक प्रदेशको नेतृत्व नेकपालाई दिने मोडालिटीबारे पनि कुराकानी भइरहेको स्रोतहरू बताउँछन् ।
यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस उपसभापति विश्वप्रकाश शर्माबीच घनीभूत संवाद भइरहेको छ । कांग्रेस सभापति गगन थापाको निर्देशनमा शर्मा प्रदेश सरकार पुनर्गठनको जिम्मेवारी लिएर ओलीसँग निरन्तर छलफलमा रहेको कांग्रेस स्रोतको दाबी छ ।
छलफलअनुसार मधेस प्रदेशमा अहिलेको कांग्रेस नेतृत्वकै सरकारलाई निरन्तरता दिने र त्यहाँ सरकार बाहिर रहेको एमालेलाई समेत सहभागी गराउने तयारी छ । अन्य प्रदेशहरूमा भने सरकार बाहिर रहेको नेकपालाई समेत सहभागी गराएर सातै प्रदेशमा कांग्रेस-एमाले-नेकपा सम्मिलित सत्ता समीकरण बनाउने प्रस्तावमा कुराकानी भइरहेको बताइन्छ ।
एमाले नेतृत्व रहेको कोशी प्रदेशमा कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने विषयमा पनि कांग्रेसले जोड दिएको छ । कांग्रेसभित्र उपसभापति शर्माले कोशीमा नेतृत्व परिवर्तनलाई प्राथमिकतामा राखेका छन् । उता एमाले अध्यक्ष ओली भने सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपालाई दिएर तीन दलबीच सहकार्य बलियो बनाउनुपर्ने पक्षमा देखिएका छन् ।
हाल कांग्रेसले बागमती, गण्डकी, सुदूरपश्चिम र मधेस प्रदेश सरकारको नेतृत्व गरिरहेको छ भने एमालेले कोशी, लुम्बिनी र कर्णाली प्रदेशमा नेतृत्व गरिरहेको छ । अब तीन–तीन प्रदेशको नेतृत्व कांग्रेस र एमालेले लिने तथा एक प्रदेश नेकपालाई दिने वा कांग्रेसले चार, एमालेले दुई र नेकपाले एक प्रदेश नेतृत्व गर्ने विकल्पमा छलफल भइरहेको नेताहरूले बताएका छन् ।
नेकपाका नेता राजेन्द्र श्रेष्ठले कांग्रेस र एमालेसँग सत्ता सहकार्यबारे अनौपचारिक संवाद भइरहेको स्वीकार गरे । उनका अनुसार संविधान र गणतन्त्र पक्षधर शक्तिबीच साझा मोर्चा बनाउने पार्टी निर्णयअनुसार छलफल चलिरहेको हो ।
नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले समेत प्रदेश सरकारमा सहभागी हुन कांग्रेस र एमाले दुवै पक्षबाट प्रस्ताव आएको सार्वजनिक रूपमा बताइसकेका छन् । यद्यपि कांग्रेस वा एमालेलाई अलग गरेर एक पक्षसँग मात्र सहकार्य गर्ने नीति गलत हुने भन्दै उनले ‘सर्वदलीय सहभागिता’ को अवधारणा अघि सारेका छन् ।
कांग्रेस र एमालेभित्र बढ्दो आन्तरिक विवाद, सम्भावित ‘फ्लोर क्रस’ र प्रदेश सरकार अस्थिर हुने जोखिमका कारण पनि नेकपालाई समीकरणमा ल्याउने प्रयास भइरहेको एक नेताले बताए । उनका अनुसार तीन दल एउटै मोर्चामा आए संविधान पक्षधर शक्तिहरू एक ठाउँमा उभिएको राजनीतिक सन्देश जाने अपेक्षा गरिएको छ ।
यद्यपि सत्ता समीकरणबारे अन्तिम सहमति भने भइसकेको छैन । प्रदेशगत अंकगणित, दलभित्रको शक्ति संघर्ष र नेतृत्व दाबीका कारण छलफल अझै जटिल बनेको नेताहरूको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ जेठ २०८३, ०९ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसका १९ नेता-कार्यकर्ताले गरे सामूहिक राजीनामा घोषणा
काँग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. आचार्य नियुक्त
पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै
कांग्रेस भित्र के पाक्दैछ खिचडी ? फुट्ने भन्दा जुट्नेतिरको संवादमा कांग्रेसका शीर्ष नेता
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति