काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा सीसी क्यामेरा जडान गर्न पालिका र नेपाल प्रहरीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । काठमाडौं उपत्यकाको प्रमुख प्रवेशद्वार मानिने नागढुंगादेखि कलंकीसम्मको मुख्य सडक तथा वडा कार्यालय जाने बाटोमा सीसी क्यामेरा जडान गर्न बिहीबार (जेठ ७) नगरपालिका र प्रहरीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
नगरपालिका क्षेत्रभित्रको सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन सीसी क्यामेरा जडान गर्न लागिएको छ । उक्त समझदारीमा नगरपालिकाका मेयर घनश्याम गिरी र काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले हस्ताक्षर गरे ।
नगरप्रमुख गिरीले काठमाडौं उपत्यका भित्रने सबैभन्दा ठूलो र मुख्य नाका नागढुंगा चन्द्रागिरि नगरपालिकामा पर्ने भएकाले यो क्षेत्रको शान्ति सुरक्षालाई प्रभावकारी र प्रविधिमैत्री बनाउन प्रहरीसँग सहकार्य गरिएको बताए । उनले सीसीटीभी जडानपछि आपराधिक गतिविधि नियन्त्रण र ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले सुरक्षा व्यवस्थालाई मजबुत बनाउन नागरिक र स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे । “सुरक्षा सबैको सामूहिक प्रयासबाट मात्र सम्भव हुन्छ । स्थानीय सरकारले सुरक्षाको क्षेत्रमा गरेको यो लगानीको हामी उच्च कदर गर्दछौँ र समस्या समाधानमा प्रहरीको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछु,” उनले भने ।
हाल चन्द्रागिरि नगरपालिकाभित्र झन्डै ४०० सीसी क्यामेरा जडान गरिएका छन् । नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गीले पालिकाभित्र जडान गरिएका क्यामेराको संख्या थप गरी एक हजार ५०० पुर्याइने बताए । नगरभित्रको सुरक्षा गर्ने लक्ष्यका साथ सीसी क्यामेरा जडान गर्न नेपाल प्रहरीसँग सम्झौता गरिएको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ जेठ २०८३, १० : १४
लेखकबाट थप