पहिलो 'ट्रिलियनेयर' बन्ने दौडमा एलन मस्क

एजेन्सी

विहीबार, ०७ जेठ २०८३, ०८ : ४०
पहिलो 'ट्रिलियनेयर' बन्ने दौडमा एलन मस्क

एजेन्सी । विश्वकै धनाढ्य एलन मस्कको अन्तरिक्ष कम्पनी स्पेस एक्सले आईपीओका लागि औपचारिक प्रक्रिया सुरु गरेको छ।

यस ऐतिहासिक कदमसँगै मस्क विश्वकै पहिलो 'ट्रिलियनेयर' (१० खर्ब डलरभन्दा बढी सम्पत्तिको मालिक) बन्ने सम्भावना बढेको छ।

वाल स्ट्रिटको इतिहासकै सबैभन्दा ठूलो मानिएको यो आइपिओ सम्भवतः अर्को महिनादेखि कारोबार हुनेछ। कम्पनीले आफ्नो कुल मूल्याङ्कन १.२५ ट्रिलियन डलर (१२ खर्ब ५० अर्ब डलर) दाबी गरेको छ। स्पेसएक्समा मस्कको बहुमत सेयर रहेकाले उनको हिस्सा मात्रै ६०० अर्ब डलरभन्दा बढी हुने देखिएको छ। गत वर्ष ५०० अर्ब डलरको सम्पत्ति सीमा पार गर्ने पहिलो व्यक्ति बनेका मस्कको कुल सम्पत्ति यो सूचीकरणपछि १ ट्रिलियन डलर नाघ्ने प्रक्षेपण गरिएको छ।

आइपिओका लागि बुझाइएको प्रतिवेदनले स्पेसएक्सको वित्तीय अवस्थाको महत्वपूर्ण पाटो पनि उजागर गरेको छ। प्रतिवेदन अनुसार गत वर्ष कम्पनीले १८.६ अर्ब डलर आम्दानी गरे पनि ४.९ अर्ब डलर खुद नोक्सानी बेहोरेको थियो।

 यस्तै, यस वर्षको पहिलो तीन महिनामा ४.७ अर्ब डलरको बिक्री भए पनि ४.३ अर्ब डलरको घाटा देखिएको छ। कम्पनीसँग १०२ अर्ब डलर बराबरको सम्पत्ति (रकेट र उपकरण) भए पनि ६०.५ अर्ब डलरको ऋण भार रहेको छ।स्पेसएक्सले रकेट निर्माणका साथै 'स्टारलिंक' स्याटेलाइट इन्टरनेट सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस