चीनबाट ८ लाख डोज खोप भोलिसम्म आउने

पत्रपत्रिकाबाट

सोमबार, १७ जेठ २०७८, ०७ : ००
चीनबाट ८ लाख डोज खोप भोलिसम्म आउने

काठमाडौं ।  चीनले नेपाललाई दिने घोषणा गरेको १० लाख डोज खोपमध्ये ८ लाख खोप भोलि (मंगलबार)सम्म नेपालमा आइपुग्ने सरकारी अधिकारीले बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार गत २६ मेमा राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिनफिङबीच भएको टेलिफोन वार्तामा चीनका राष्ट्रपति सीले नेपाललाई सहयोगस्वरूप १० लाख खोप उपलब्ध गराउने घोषणा गरेका थिए ।

चिनियाँ राष्ट्रपतिको सो घोषणा लगत्तै ८ लाख डोज खोप नेपाल आउन लागेको हो ।

प्रधानमन्त्री कार्यालयका अनुसार सो खोप लिन नेपाल वायुसेवा निगमका चार्टर्ड विमान आज (सोमबार) राति ११ बजे बेइजिङका लागि प्रस्थान गर्नेछ र सो विमान बेइजिङबाट भ्याक्सिन लिई मंगलबार १० बजे नेपालको लागि प्रस्थान गर्ने तालिका रहेको जनाइएको छ ।

मंगलबार रातिसम्म चिनियाँ खोप नेपाल आइपुग्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

सरकारी निकायको सक्रियतामा कोभिड नियन्त्रण र उपचारका लागि विभिन्न देशबाट सहयोग आउने क्रम जारी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज शर्माले जानकारी दिए ।

चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले नेपाललाई उपलब्ध गराएको दोस्रो लटको स्वास्थ्य सामग्रीहरू ८ सय थान अक्सिजन सिलन्डिर, २ सय थान आईसीयू बेड, ५ थान भेन्टिलेटर, १० थान कन्सन्ट्रेटर, १५ सय थान एन्टिजेन किट आइतबार तातोपानी नाकामा नेपाललाई हस्तान्तरण गरिएको छ । राजधानी दैनिकमा खबर छ ।