मनाङमा बाढी : चार टहरा र पक्की पुल बगायो, ६ घर विस्थापित

सफल खबर संवाददाता

शनिबार, १५ जेठ २०७८, ०८ : १७
मनाङमा बाढी : चार टहरा र पक्की पुल बगायो, ६ घर विस्थापित

सांकेतिक तस्वीर

बेंसीसहर । बुधबार रातिदेखिको वर्षाले स्थानीय खहरे खोलामा आएको बाढीले हिमालपारीको मनाङ सदरमुकाम चामेको नयाँबजार क्षेत्र जोखिममा पारेको छ। शुक्रबार दिउँसो घट्टेखोलामा आएको बाढीले ४ टहरा र एक पक्की पुल बगाएको छ। २ किलोमिटर सडक क्षतविक्षत बनाएको छ।

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बाढीले केही पक्की घरहरुको जग हल्लाएको र आँगन बगाएको बताए। एभरेष्ट होटलको शौचालय, कुखुराको खोर बगाएको र मुख्य भवनको जग धरापमा पारेको लामिछानेले बताए। उनका अनुसार बाढीका कारण दर्जनौ घरहरु जोखिममा परेका छन्।

बाढीबाट विस्थापित परिवारलाई चामे गाउँपालिकाको भवनमा, लोकप्रिय मावि र आफन्तकोमा राखिएको छ। मनाङको चामे बजारमा बाढी पसेकाले नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र स्थानीयले बाढी नियन्त्रण गरेका थिए। वर्षा जारी रहेकाले जोखिम कायमै रहेको उनले बताए।

सदरमुकाममा एक्कासी बाढी चलेपछि स्थानीय त्रसित बनेका छन्। ‘यतिबेला मनाङमा सञ्चार छैन, खानेपानी छैन, विद्युत, टेलिफोन केही छैन’ प्रारम्भिक कक्षा पढाइ कार्यक्रम मनाङका जिल्ला संयोजक मनोज सुवेदीले भने, ‘पानी पर्न नरोकिएकाले सबैजना डराई डराई बस्नुपरेको छ।’

बढीले बिहीबार तिमाङखोला र स्यार्कुखोलाको काठको पुल बगाएको थियो। पुल बगाउँदा बेसीशहर–चामे सडकखण्ड अबरुद्ध बनेको छ। पुल बगाएपछि तिमाङ क्षेत्रबाट सवारीसाधन तल्लो क्षेत्र आउन र माथिल्लो क्षेत्र जान सकेका छैनन्। दुईवटा पुल बगाएपछि तत्कालका लागि आवतजावत बन्द भएको स्थानीय कमल गुरुङले बताए। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस