काठमाडौँ। हालैको ठूलो हिमपातपछि केही दिन सुस्त बनेको मनाङको पर्यटन गतिविधि पुनः सामान्य गतिमा फर्किन थालेको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) इलाका संरक्षण कार्यालय मनाङ पर्यटक चेकपोस्टले पछिल्ला केही दिनयता दैनिक रूपमा २७० जनाभन्दा बढी विदेशी पर्यटकले नाम दर्ता गरेको जनाएको छ ।
चेकपोस्टमा प्राप्त तथ्यांकअनुसार कात्तिक २० गते १९६ जना, कात्तिक २१ गते २८६ जना, कात्तिक २२ गते २९७ जना र कात्तिक २३ गते २६८ जना पर्यटकले दर्ता गरेका छन् । यो दैनिक तथ्यांकले पनि हिमपातका कारण केही समय रोकिएको पर्यटन गतिविधि पुनः सामान्य अवस्थामा फर्किएको देखाउँछ ।
हिमपातका कारण केही दिनसम्म पदयात्रा मार्गमा हिउँ र चिसोको असरले आवतजावत प्रभावित बनेको तर अहिले मौसम स्थिर बनेसँगै पदयात्रा मार्गहरू खुल्न थालेको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) इलाका संरक्षण कार्यालय मनाङले जनाएको छ ।
उनले भने, ‘‘पर्यटकहरूको आगमन पुनः उत्साहजनक रूपमा बढेको छ । हिमपातपछि केही दिन पर्यटक कम थिए, अहिले त फेरि हिजोजस्तै चहलपहल बढेको छ ।”
मनाङका होटेल व्यवसायी फुर्वा लामाले हाल अधिकांश होटेलहरू पुनः बुकिङले भरिएको बताए। मनाङ नेपालको चर्चित अन्नपूर्ण परिक्रमा पदमार्गमा पर्ने भएकाले यहाँको पर्यटन गतिविधिले राष्ट्रिय पर्यटन अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँछ ।
हिमाल, उपत्यका र स्थानीय आतिथ्यका कारण यो क्षेत्र सधैंजसो विदेशी पर्यटकहरूको रोजाइमा रहँदै आएको छ । धारापानी चेकपोस्टका कर्मचारी भूपेन्द्रजंग गुरुङले हिमपातपछि यात्रा कठिन भए पनि अब बाटोहरू सुरक्षित रहेकाले यात्रुले मौसमअनुसार तयारी गरेर यात्रा गरेमा कुनै समस्या नहुने बताए ।
एक्यापले उच्च भू-भागमा यात्रा गर्दा सावधानी अपनाउन सुझाव दिएको छ । यात्रुहरूलाई पर्याप्त तातो लुगा कपडासहित समूहमा यात्रा गर्ने सुझाएको छ ।
मनाङको हिमाली वातावरण, स्थानीय आतिथ्य र हिउँले ढाकिएका दृश्यले अहिले फेरि पर्यटकहरूलाई आकर्षित गरिरहेको छ । हिमपातपछि पुनः जागेको पर्यटन गतिविधिले स्थानीय अर्थतन्त्रमा नयाँ उत्साह भरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ कार्तिक २०८२, १५ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनाङमा एमाले र राप्रपाका उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता
मनाङमा हुने उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता सुरु हुने
वन्यजन्तुको आक्रमणबाट मनाङमा ८७ पशुधन क्षति
मनाङमा रैथाने बाली उत्पादन घट्दै