कोरोना कहर : सुरक्षित गर्भपतन सेवा प्रभावित

रासस

विहीबार, १३ जेठ २०७८, १९ : ४६
कोरोना कहर : सुरक्षित गर्भपतन सेवा प्रभावित

काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमण तीब्र गतिमा बढेसँगै सुरक्षित गर्भपतन सेवा पनि प्रभावित हुन पुगेको छ । सङ्क्रमण रोकथामका लागि स्थानीय प्रशासनले एक महिनादेखि निषेधाज्ञा जारी गरेका कारण सुर्खेतका स्वास्थ्य संस्थाहरुमा सेवा लिनेको संख्यामा कमी आएको हो । 

यतिबेला निषेधाज्ञा कारण कर्णाली पनि ठप्प छ । यातायातका साधन बन्द छन् । स्वास्थ्यकर्मीहरु कोरोना रोकथाम तथा उपचारमा केन्द्रीत हुनुपर्ने बाध्यताले गर्दा प्रजनन् स्वास्थ्यसम्बन्धी कार्यक्रम प्रभावित हुन पुगेको बताइएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशक डा रबिन खड्काले कोरोना महामारीले गर्दा आमा सुरक्षा, परिवार नियोजनसम्बन्धी कार्यक्रम, सुरक्षित गर्भपतन सेवा प्रभावित हुन पुगेको बताए ।

“प्रजनन् स्वास्थ्यका आपतकालिनबाहेक अन्य सेवा सञ्चालनमा कठिनाइ भएको छ,” उहाँले भन्नुभयो, “गर्भपतन सेवा गोपनियतासंग जोडिएकाले महिलाहरु नजिकका स्वास्थ्य संस्थाभन्दा टाढा जाने हुँदा निषेधाज्ञाले असर परेको छ, यातायात बन्दले सूचीकृत स्वास्थ्य संस्थामा पुग्न समस्या छ ।” यसले गर्दा सुरक्षित गर्भपतन सेवामात्रै होइन परिवार नियोजनका साधनको प्रयोगकर्तामा पनि कमी देखिएको छ । निर्देशक खड्का अनुसार परिवार नियोजनका इम्प्लान्ट, आइयूसिडी सेवा बन्द छन् । 

निर्देशनालयले आपतकालिन सेवाका लागि हटलाइन नम्बर र नर्स समूहले परामर्श दिइरहेको र आवश्यक परेमा उद्वार गर्ने जनाएको छ । मातृ मृत्युदर कम गर्न, गर्भपतन जटिलता हुन नदिन सजगता अपनाइरहेको निर्देशक खड्का बताउनुहुन्छ । सुरक्षित गर्भपतन गराउन सुर्खेतका ग्रामीण भेगका साथै कर्णाली प्रदेशका अन्य जिल्लाबाट समेत महिलाहरु वीरेन्द्रनगर आउने गर्छन् ।

तर निषेधाज्ञा र लकडाउनका कारण सेवा प्रवाहमा असर पुगेको स्वास्थ्यकर्मी बताउँछन् । सुर्खेतका प्रदेश अस्पताल, मेहेलकुना अस्पताल, नेपाल परिवार नियोजन संघ, मेरि स्टोप्स सेन्टर लगायतका सूचिकृत संस्थाहरुबाट सुरक्षित गर्भपतन गराउनेको संख्यामा निकै कम छ । 

 मनोपरामर्श कर्ता शर्मिला वीसीले कोरोना कहरका कारण असुरक्षित गर्भपतनको खतरा बढेको बताउनुभयो । “निषेधाज्ञाका कारण महिला स्वास्थ्य संस्था पुग्नै सक्दैनन्, स्वास्थ्य संस्थाको पहुँचमा पुगेका महिलाहरुले पनि कोरोनाकै त्रासले प्रभावकारी सेवा पाउन सकिरहेको अवस्था छैन्,” उहाँले भन्नुभयो, “सीमित स्वास्थ्यकर्मी हुँदा गोपनियता भंग हुनसक्ने भएकाले सेवा लिन कम आएका हुन सक्छन् ।”

कोरोना मात्रै भनेर बस्दा महिलाको स्वास्थ्यका लागि अघि सारिएका सबै योजना र लक्ष्यहरू पछि धकेलिँदै गइरहेकाले सरोकारवाला निकाय गम्भीर बन्नुपर्ने उनको सुझाव छ ।