पहाडका गाँउगाँउमा कोरोना संक्रमण फैलिदो

पत्रपत्रिकाबाट

विहीबार, १३ जेठ २०७८, ०८ : १९
पहाडका गाँउगाँउमा कोरोना संक्रमण फैलिदो

ताप्लेजुङ । पूर्वी पहाडी जिल्लाका गाउँगाउँमा कोरोना संक्रमण फैलिने क्रम बढे पनि परीक्षण पर्याप्त हुन सकेको छैन । कोरोना जस्तै लक्षणका बिरामीको संख्या पछिल्ला दिन ह्वात्तै बढेकाले थप जोखिम निम्तिएको छ ।

इलामका ग्रामीण क्षेत्रसम्मै कोरोनाको प्रभाव देखिएको छ । गत वैशाख २८ गतेदेखि जिल्लामा निषेधाज्ञा लागू गरेर आवतजावतमा नियन्त्रण गरिए पनि संक्रमण नियन्त्रणमा आउन सकेको छैन । माइजोगमाई गाउँपालिका–४ को एउटा गाउँमा घरैपिच्छे संक्रमित छन् । संक्रमित हुनेमा २० देखि ८८ वर्ष उमेर समूहका छन् । केही दिनअघिदेखि नै गाउँमा रुघाखोकीको लक्षण देखिएर स्थानीय बिरामी पर्न थालेका थिए । यो गाउँपालिकामा १ जनाको ज्यानसमेत गएको छ ।

अहिलेसम्म परीक्षण दायरा फराकिलो बनाउन नसक्दा धेरै संक्रमित बिनापरीक्षण नै बसिरहेका छन् । लामो समयसम्म सन्दकपुर गाउँपालिकामा कोही पनि संक्रमित भेटिएनन् । तर शुक्रबार भने सन्दकपुर–१ आलुबारीमा ३ जनालाई पोजिटिभ देखियो । जिल्लाको माङ्सेबुङ, फाकफोकथुमलगायतका भित्री गाउँमा पनि संक्रमितको संख्या थपिँदै गएको छ । इलाममा अहिलेसम्म कोरोनाका कारण १६ जनाको ज्यान गइसकेको छ । जिल्लामा ६ सय ५४ जनामा संक्रमण देखिएकामा ७३ जना निको भएका छन् ।

यस्तै, कञ्चनजंघा हिमालको प्रवेशद्वार ताप्लेजुङको घुन्साका प्रत्येकजसो घरमा बिरामी छन् । स्थानीय पेमाल्हामु शेर्पाका अनुसार सुरुमा टाउको दुख्ने, रुघा लाग्ने, ज्वरो आउने, खोकी लाग्ने र झाडापखाला चल्नेजस्ता लक्षण देखिएको छ । ‘यसरी बिरामी हुन थालेको १५र२० दिन भइसक्यो, कसैको परीक्षण भएको छैन,’ उनले भनिन् ‘कोही बिरामी नै छन्, कोही निको हुँदैछन् । मचाहिँ बल्लबल्ल अलिअलि उठ्न थालेको छु ।’

गाउँपालिकाको केन्द्र तापेथोक यो बस्तीबाट एक दिनको पैदलमा छ । तापेथोकबाट घुन्सा जाँदा उकालो हिँड्नुपर्ने भएकाले डेढदेखि दुई दिनसम्म पनि लाग्छ । गाउँले सबै बिरामी हुँदा गाउँपालिका र वडाका जनप्रतिनिधि कोही पनि नआएको स्थानीयको गुनासो छ । फक्ताङलुङ गाउँपालिका–६ घुन्साको पीडा यस्तो भए पनि आठराई त्रिवेणी, पाथीभरा याङवरक र सिरिजंगा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष भने स्वास्थ्यकर्मी लिएर वडा–वडामा पुगेका छन् । गाउँमा संक्रमित निकै बढेको पाइएको सिरिजंगा गाउँपालिका अध्यक्ष टीका गुरुङले बताए । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस