गाउँभरि कोरोना संक्रमण, घुमघाम भने निर्वाध

पत्रपत्रिकाबाट

सोमबार, ०३ जेठ २०७८, ०८ : ०९
गाउँभरि कोरोना संक्रमण, घुमघाम भने निर्वाध

वीरगन्ज । घरैपिच्छे ज्वरो फैलिएको र पछिल्ला १० दिनमा ११ जनाको मृत्यु भएपछि वैशाख २८ मा जिल्लाबाट गएको स्वास्थ्यकर्मीको टोलीले पर्साको जगरनाथपुर गाउँपालिका–५ चिलझपटीमा कोरोना परीक्षण गर्‍यो ।

११ जनाको एन्टिजेन परीक्षणमा ७ जनामा र २५ जनाको स्वाब परीक्षणमा १७ जनामा संक्रमण पुष्टि भयो । त्यही दिन चिलझपटीका दुईवटा टोलमा स्वास्थ्यकर्मीले गरेको लगत संकलनमा १ सय ७३ जनामा ज्वरो आएको पाइएको थियो ।

गाउँपालिका स्वास्थ्य शाखाले वैशाख २७ मा प्रशासन कार्यालय, नारायणी अस्पताल र स्वास्थ्य कार्यालयलाई पत्र लेखी विज्ञ टोली पठाइदिन अनुरोध गरेपछि मात्रै जिल्लाबाट टोली गएको हो । ‘गाउँमा कोरोना फैलिएको पुष्टि भइसक्यो,’ स्वास्थ्य शाखा प्रमुख प्रभेन्द्रप्रसाद साह भन्छन्, ‘तर नियन्त्रण र रोकथामका लागि कुनै पहल भएको छैन ।’

गाउँपालिकामा वैशाख २० यता १६ जनाको मृत्यु भइसकेको छ । जसमध्ये ७ जनामा कोरोना पुष्टि भएको थियो । अन्यको परीक्षण नगरिए पनि कोरोनासँग मिल्दोजुल्दो लक्षण रहेको पाइएको साहले बताए । उनका अनुसार मृत्यु भएकामध्ये ९ जना चिलझपटीका बासिन्दा हुन् । मंगलबार थपिएका २४ संक्रमितको कन्ट्याक्ट ट्रेसिङसमेत गरिएको छैन ।

‘गाउँपालिकामा एन्टिजेन र भीटीएम किट छैन,’ साह भन्छन्, ‘हाम्रो हातमा खाता सञ्चालन गर्ने अधिकार पनि छैन, न त पैसा नै छ, कसरी खरिद गर्नु रु’ माथिल्लो निकायमा किट माग गरे पनि प्राप्त नभएको उनले बताए । ‘व्यवस्थापन गर्छौं भन्छन्,’ उनले भने, ‘तर कहिले गर्ने हो थाहा छैन । संक्रमितहरू गाउँमै डुलिरहेका छन् ।’ कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस