महन्थ ठाकुरको बोली सुनेर देउवा छक्क !

सफल खबर संवाददाता

आइतबार, २६ बैशाख २०७८, ११ : २०
महन्थ ठाकुरको बोली सुनेर देउवा छक्क !

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर केपी ओलीलाई सरकारबाट हटाउने निर्णय पार्टीले नगरेको बताएका छन् । उनले प्रधानमन्त्री ओलीलाई हटाउने निर्णय बाबुराम र उपेन्द्र यादवको व्यक्तिगत भएको बताए । उनले यसो भन्दा देउवा छक्क परेका थिए । 

वरिष्ठ नेता राजेन्द्र महतोसहित आज बूढानीलकण्ठ पुगेर ठाकुरले जसपाको भर परेर कुनै निर्णय नलिन देउवालाई सुझाव दिए । उनले देउवालाई भने, ‘जसपाले कुनै निर्णय गरेको छैन, कसैको कुरा सुनेर अविश्वासको प्रस्ताव नल्याउनू, हाम्रो साथ र सहयोग रहने छैन ।’  उनले बाबुराम र उपेन्द्र यादवको निर्णयलाई विश्वास गरेर कदम नचाल्न देउवालाई सुझाव दिए । देउवा ठाकुरको बोली सुनेर अचम्मित भएका थिए । 

ठाकुर र महतोले देउवालाई आफूहरूबीच पार्टीमा कुनै विवाद नभएको बताएका थिए। ठाकुर र महतोले पार्टीको कार्यकारिणी समिति र संसदीय दलमा आफूहरू बहुमतमा रहेको पनि देउवालाई बताएका थिए । ठाकुरको कुरा सुनेपछि देउवा केही तनावमा परेका छन् । 

प्रतिक्रिया दिनुहोस