एमाले एकता जोगाउन अन्तिम प्रयास, बालुवाटारमा दुबै पक्षका दोस्रो तहका नेताबीच दिनभर केके भयो ?

सफल खबर संवाददाता

शुक्रबार, २४ बैशाख २०७८, १८ : ५९
एमाले एकता जोगाउन अन्तिम प्रयास, बालुवाटारमा दुबै पक्षका दोस्रो तहका नेताबीच दिनभर केके भयो ?

काठमाडौं । नेकपा एमालेका दोस्रो तहका नेताहरु एकता जोगाउने अन्तिम प्रयासमा लागिरहेका छन् । दुबै पक्षका दोस्रो तहका नेताहरु आज दिनभर बालुवाटारमै छन् । वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदैछन् । वैशाख २७ अगावै पार्टीलाई एकताबद्ध बनाउन दुबै पक्षका दोस्रो तहका नेताहरु लागिपरेका छन् । 

यतिबेला  प्रधानमन्त्री निवास बालुवाटारमा दोस्रो तहका नेताहरुबीच गम्भीर छलफल चलिरहेको स्रोतको भनाइ छ ।  प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव अनुसार नै दुवै पक्षका नेताहरुबीच बालुवाटारमा भेटवार्ता भएको हो । जसरी हुन्छ पार्टीलाई एकताबद्ध बनाउन नेताहरु लागेका छन् । 

बालुवाटारमा माधव नेपाल पक्षका नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराई दिनभर बालुवाटारमै बसे । पार्टी एकतालाई अन्तिम प्रयासमा लागे । माधव पक्षका एक नेताका अनु्सार अझै सहमति बनेको छैन ।

‘२०७५ जेठ २ अघि नै पार्टीलाई फर्काउने हाम्रो बटमलाइन हो, यसबाट पछि हट्ने कुरै आउँदैन । अन्तिम छलफलमा हामी लागिरहेका छौँ’ माधव पक्षका एक नेताले भने । अध्यक्ष ओलीको तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङलगायतका नेताहरु छलफलमा जुटिरहेका छन् । 

स्थायी कमिटी सदस्य तथा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाललगायतका नेता पनि छलफलमा नै छन् । पार्टीलाई कुनै न कुनै रुपमा जेठ २, २०७५ को अवस्थामा फर्काएर  नयाँ ढंगले अघि बढाउन माधव पक्ष नेताहरुले लविङ गरेका छन् भने ओली पक्षका नेताहरुले त्यो दिनलाई छोडेर पार्टी एकता कायम गर्न खोजेका छन् । छलफलमा केही बुँदाहरुमा अझै सहमति हुन नसकेको स्रोतको भनाइ छ । 


 

प्रतिक्रिया दिनुहोस