एशियाकै पहिलो सुरुङ निर्माणकर्ता ब्रिगेडियर कर्णेल डिल्लीजङ थापाको सालिक चुरियामाईमा निर्माण

सफल खबर संवाददाता

आइतबार, ०१ चैत्र २०७७, १६ : ०६
एशियाकै पहिलो सुरुङ निर्माणकर्ता ब्रिगेडियर कर्णेल डिल्लीजङ थापाको सालिक चुरियामाईमा निर्माण

हेटौँडा । दक्षिण एसियामा नै ऐतिहासिक तथा पुरातात्विक धरोहरको रुपमा रहेको चुरिया सुरुङ तथा धार्मिक आस्थाको धरोहर एवं शक्तिपीठ चुरियामाई मन्दिर क्षेत्रको समग्र विकासमा राज्यले ध्यान दिन आवश्यक रहेको स्थानीयहरुले बताएका छन् । 

चुरियामाई मन्दिर तथा सुरुङ मार्ग संरक्षण समितिका अध्यक्ष प्रेम बोम्जनले यो सुरुङ मार्ग सबै पर्यटकका लागि अवलोकन गर्न खुल्ला गर्ने बातावरण सरकारले बनाउनु पर्ने बताए । यसको बारेमा देशी तथा बिदेशी सबैलाई ज्ञान दिई हाम्रो ज्ञान, सिप र क्षमतालाई विश्व बजारमा पुर्याउनु  पर्ने बोम्जनको भनाई छ ।

दक्षिण एशियाकै पहिलो चुरिया सुरुङमार्ग नेपालका प्रथम ग्राजुयट सिभिल इन्जिनियर ब्रिगेडियर कर्णेल डिल्लीजङ थापाले निमार्ण गरेका हुन् । निर्माणकर्ता नेपालका प्रथम ग्राजुयट सिभिल इन्जिनियर ब्रिगेडियर कर्णेल डिल्लीजङ थापाको सम्मानमा त्यहाँ अर्धकदको शालिक निर्माण गरिएको छ । 

काठमाडौँका मूर्तिकार लक्ष्मण भुजेलले निर्माण गरेको शालिक गएको मङ्गलबार अनावरण गरिएको थापाकी नातिनी चन्दा राणाले बताइन् । मूर्ति निर्माणका लागि हेटौँडा उपमहानगरपालिकाले आठ लाख रुपैयाँ प्रदान गरेको हेटौँडा उपमहानगरपालिका प्रमुख हरिबहादुर महतले जानकारी दिए ।

थापाले नेपालको प्रथम सुरुङमार्गको रुपमा ५०० मिटर लम्बाईको हेटौँडादेखि अमलेखगञ्जबीचको चुरे पहाडमा सन् १९१७÷१८ मा चुरिया सुरुङमार्ग निर्माण गरेका थिए । चुरे टनेल बनाउने क्रममा चुरियामाई देवीको मूर्ति उत्खनन् गरी टनेलको द्वारको छेउमा वैदिक मन्त्रोच्चारण गरी प्रतिस्थापन गरिएको थियो ।

चुरियामाई सुरुङ मार्ग निमार्णका बेला बारम्बार अवरोध आएपछि उत्खनन् गर्दा चुरियामाई देवीको मूर्ति फेला परेको र त्यही मूर्तिलाई वैदिक मन्त्र उच्चरण गरी स्थापना गरेपछि त्यहाँ सुरुङ खन्न सहज भएको भन्ने जानकारी आफूले बुबा हजुरबुबाबाट पाएको थापाकी नातिनी चन्दा राणाले बताइन् ।  

राणाले चुरिया सुरुङ र चुरियामाई क्षेत्रले अथाह विकासका सम्भावनाहरु बोकेको बताइन् ।  नेपालको मात्रै नभई दक्षिण एसियामा नै ऐतिहासिक तथा पुरातात्विक धरोहरको रुपमा रहेको चुरिया सुरुङ तथा धार्मिक आस्थाको धरोहर एवं शक्तिपीठ चुरियामाई मन्दिर क्षेत्रको समग्र विकासलाई धार्मिक तथा ऐतिहासिक पर्यटनसँग आवद्ध गर्न सकिने राणाले बताइन् ।

प्रतिक्रिया दिनुहोस