एकै परिवारका पाँचबाट सामूहिक आत्महत्या

रासस

मंगलबार, २५ फागुन २०७७, १९ : ४४
एकै परिवारका पाँचबाट सामूहिक आत्महत्या

सांकेतिक तस्वीर

काठमाडौं । दैलेखको आठविस नगरपालिका–३ निमाइलका एउटै घरका पाँचले कर्णाली नदीमा हाम फालेर आत्महत्या गरेका छन् । यही फागुन २३ गते राति घरबाट बेपत्ता भएकी सुखी बडुवाल, उहाँका तीन छोरी र एक छोराले सामूहिकरुपमा कर्णाली नदीमा हाम फालेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । 

बेपत्ता भएकामध्ये दुई छोरी १५ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालकोे हात बाँधेको अवस्थामा २४ गते सोमबार साँझ कर्णाली नदीमा शव फेला परेको थियो भने आमा सुखी बडुवाल र ८ वर्षीय छोरा ललित बडुवालको शव आज दिउँसो नदीमा फेला परेको छ । पाँच वर्षीया रजनी बडुवालको खोजी तीव्र पारिएको जिल्ला प्रशासन कार्यालय दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी हरि देवकोटाले जानकारी दिनुभएको छ । अहिले घटनास्थलमा दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल, दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठ र सुर्खेतका प्रहरी प्रमुख डिआइजी वसन्त पन्त र गोताखोरको टोलीसमेत पुगिसकेको छ । खोजी कार्य तीव्र पारिएको छ ।

सनाखत भएका चारको शव परीक्षणका लागि अछामको मङ्गलसेनतर्फ लगिएको दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिनुभएको छ । घरमूली मानसिंह बडुवालले श्रीमतीसहित सबै परिवारलाई मदिरा सेवन गरेर लगातार तनाव दिएपछि २३ गते साँझनै चार केटाकेटीसहित सुखी बडुवाल घरबाट निस्किएको स्थानीयले बताएका छन् । 

गरिब परिवार भएकाले एउटा समस्या थियो तर मदिरा सेवनसँगै लगातार घरमूलीले तनाव दिएपछि उनीहरु नदीमा हाम फाल्नुपर्ने अवस्था आएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घरमूली मानसिंह बडुवाललाई प्रहरीले पक्राउ गरेर राकम कर्णाली प्रहरीचौकीमा अनुसन्धान गरिरहेको छ । 

घरेलु हिंसाकै कारण नाबालकले समेत अनाहकमै ज्यान गुमाउनुपरेको विषयलाई लिएर अधिकारकर्मीले विरोध जनाएका छन् । तीनै तहका सरकारले वडा तहसम्मका नागरिकको समस्या के छ, कसरी बसेका छन्, घरेलु मदिराको बिगबिगी कस्तो छ ? भन्नेबारेमा समस्यामा परेका महिला र बालबालिकाको अवस्था तत्काल चित्रण गरेर आगामी दिनमा यस्ता घटना हुन नदिने वातावरण तयार गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस