नेकपा आधिकारिकता विवाद : अब के हुन्छ ?

पत्रपत्रिकाबाट

बुधबार, २१ माघ २०७७, ०७ : ४१
नेकपा आधिकारिकता विवाद : अब के हुन्छ ?

राजनीतिक रूपमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले आधिकारिकता दाबी गर्दै मंगलबार निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ।

प्रतिनिधिसभा विघटनपछि नेकपाका केपी शर्मा ओली समूह र दाहाल–नेपाल समूहले डेढ महिना छुट्टाछुट्टै बैठक, एकअर्कालाई कारबाही, आमसभा र पत्राचार गरेपछि आयोगमा औपचारिक रूपमा अधिकारिकता दाबी गर्दै निवेदन परेको हो।  

दाहाल–नेपाल समूहले आयोगमा राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिकता दाबी गरेको छ। ऐनको दफा ४३ मा दुई वा दुईभन्दा बढी दलका पक्षबीच दलको नाम, छाप, विधान, झन्डा, चिह्न, पदाधिकारी र केन्द्रीय समितिको निर्णयको आधिकारिकतामा विवाद भए त्यस्तो विवादको निरूपण आयोगबाट हुने उल्लेख छ। ऐनको दफा ४४ मा विवाद निरूपणसम्बन्धी कार्यविधि तोकिएको छ। जसअनुसार दलको नाम, छाप, झन्डा वा चिह्नसम्बन्धी विवाद भए त्यस्तो नाम, छाप, विधान, झन्डा वा चिह्न दाबी गर्नेले र दलको पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको आधिकारिकता दाबी गर्ने पक्षले केन्द्रीय समितिको चालीस प्रतिशत सदस्यको हस्ताक्षरसहित विवाद प्रारम्भ भएको तीस दिनभित्र आयोगसमक्ष आधार तथा प्रमाणसहित दाबी पेस गर्नुपर्ने व्यवस्था छ। 

तर नेकपामा गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा गरेसँगै विवाद उत्पन्न भएकाले ४५ दिनपछि गरिएको आधिकारिकता दाबीले मान्यता पाउँछ कि पाउँदैन भन्ने प्रश्नसमेत खडा भएको छ।

 ‘ऐनको दफा ४४ मा दलका पक्षहरूबीच आपसी विवाद सुरु भएको ३० दिनभित्र आधार तथा प्रमाणसहित दाबी पेस गर्नुपर्ने व्यवस्था छ। प्रतिनिधिसभा विघटनसँगै विवाद सुरु भएको मान्ने हो भने ४५ दिन बितिसकेको छ,’ एक पूर्वआयुक्तले भने, ‘हदम्याद समाप्त भएपछि पेस भएको निवेदन आयोगले कसरी लिन्छ वा लिँदैन भन्ने भएपछि मात्रै के निर्णय लिन्छ भन्ने कुरा आउला त्यसकारण यसबारे केही भन्न सकिँदैन।’

यसअघि माघ ११ गते आयोगले नेकपाका दुवै पक्षका निर्णय एवं आयोगमा पेस भएका निर्णय विधानसम्मत नभएको भन्दै विवाद सुरु हुनुअघिकै व्यवस्थालाई मान्यता दिने निर्णय गरेको थियो। आयोगले दुवै पक्षलाई लेखेको पत्रमा पार्टीको विवरण परिवर्तन, संशोधन वा हेरफेरका लागि अनिवार्य रूपमा दुवै अध्यक्षको हस्ताक्षर आवश्यक पर्ने भन्दै पेस भएका दाबी पार्टीको विधानविपरीत भएको र प्रस्तुत विवरणबाट सन्तुष्ट हुन नसकेको भन्दै साबिककै व्यवस्था कायम हुने जानकारी गराएको थियो। नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस