वामदेव गौतमले आज पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्दै

ललितपुरको सिद्दार्थ कटेजमा आज विशेष कार्यक्रमको आयोजना, त्यहीबाट एकता राष्ट्रिय अभियानको घोषणा गर्ने तयारी

सफल खबर संवाददाता

बुधबार, १४ माघ २०७७, ०८ : ३०
वामदेव गौतमले आज पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्दै

काठमाडौं । नेकपाको एकतामा जुटेका वामदेव गौतमले आज एक कार्यक्रमको आयोजना गरी पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्दैछन् । नेकपाको दुवै खेमामा नखुली बसेका उपाध्यक्ष गौतमले ललितपुरको सिद्दार्थ कटेजमा आज बिहान ११ बजे पछि एक विशेष कार्यक्रमको आयोजना गरी एकता राष्ट्रिय अभियानको घोषणा गर्न लागेका हुन् ।

आफुले लेखेका दुई वटा पुस्तक (जनताको बहुदलीय जनवाद (तुलनात्मक अध्ययन) र एक्काइशौं शताब्दीको कम्युनिष्ट पार्टी नामक पुस्तक) को विमोचन कार्यक्रम पनि उनले सोही कार्यक्रममा राखेका छन् । उनले अहिले आफु कतै नलाग्ने भन्दै दुवै खेमालाई एकताको अपिल गरिरहेका छन् । प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीले संसद विघटन र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अविश्वास प्रस्ताव दर्ताको प्रयास गरेपछि सत्तासिन दल नेकपा दुई खेमामा विभाजन भएको तर्क उनको छ ।

ओली र प्रचण्ड दुवैले आ–आफनो समुह आधिकारिक भएको भन्दै निर्वाचन आयोग, सर्वाेच्च अदालत देखि वडा स्तरसम्मै नेता–कार्यकर्तालाई धुव्रिकृत बनाउने गरी अगाडी बढिरहेका बेला गौतमले तीन साता अगाडी मात्रै वक्तब्य जारी गरेर एकताको अपिल गरेका थिए । निर्वाचन आयोगले पनि दुवै नेकपाको खेमालाई आधिकारिकता दिन नसकिने र अहिले सम्मका कागजातले ओली र प्रचण्ड दुवै नै नेकपाका अध्यक्ष रहेको निश्र्कष सहितको पत्र दुवै नेतालाई पठाएपछि पनि हौसिएका गौतमले नेकपा विभाजन नभएकोले एकताका लागि नेता कार्यकर्ताले दबाब अभियान बढाउनु पर्ने बताईरहेका छन् ।

पार्टी एकताका लागि जुलुस सञ्चालन गर्न र एकताको सन्देश दिने गरी पोष्टर छापेर बाड््न गौतमले अपिल गरिरहेका छन् । उनले आफ्नो कार्यक्रममा दुवै खेमाका प्रभावशाली नेताहरुलाई पनि सहभागिताको लागि निम्तो बाँडेका छन् । ‘एकताको आह्वानमा जुलुस सञ्चालन गर्नुहोस, एकताको सन्देश दिने पर्चा पोष्टर छापेर बाँड्नुहोस । यसो गर्नुभयो भने प्रिय कमरेडहरु हाम्रो प्यारो पार्टी र पार्टीका सबै आदरणीय नेताहरुलाई एकै ठाउँमा ल्याउन सकिनेछ र पार्टीलाई पुनः एकीकरण गर्न सकिनेछ,’ गौतमले यस अगाडी नै वक्तब्य जारी गरेर भनेका थिए ।
तर गौतमको यो अभियानभित्र उनको आफ्नो स्वार्थ रहेको पनि बताइन थालिएको छ ।

उनको आफनो समुहमा रहेका कतिपय नेता नवौं महाधिवशेनबाटै केपी ओलीतिर आफुलाई छोडेर लागिसकेको र कतिपय नेताहरु अहिले उनी भन्दा अगाडी नै प्रचण्ड नेपाल समुहमा लागिसकेका कारण उनी अहिले एक्लो जस्तै देखिएका थिए । पार्टीका शीर्ष नेताहरुका कारण पार्टी विभाजनको अवस्थामा पुगेपनि कार्यकर्ताको तहमा एकताको भावना अझै रहेकोले उनले त्यसैलाई समातेर पून नयाँ रुपमा गुट ब्यूताउने योजनाका साथ यो अभियान चलाउन लागेको हुन सक्ने आशंका पनि गर्न थालिएको छ । अहिले गौतमलाई उनको पूरानो टिमका हरि पराजुलीले मात्र साथ दिईरहेका छन् । 

बहुदलीय प्रतिस्पर्धाको राजनीतिक प्रणाली अन्तरगत कम्युनिष्ट पार्टीले निर्वाचनबाट दुइतिहाई नजिकको बहुमत प्राप्त लोकतान्त्रिक सरकार गठन गर्न सक्नु, सरकारले एउटा कार्यकाल पुरा नहुँदै र पार्टी एकीकरणको तीन वर्ष पनि ब्यतित नहुदै नेकपा विभाजनबाट क्षतविक्षत हुने दिशातर्फ अग्रसर हुनु अत्यन्त दुःखद र पिडादायी भएको भन्दै गौतमले पून नेकपा एकता गर्ने गरी आफु जुटेको बताएका छन् । पार्टीभित्रका दुवै खेमाको कदमलाई सुक्ष्मतम विश्लेषण गर्दै पार्टीको एकता जोगाउन वा पुर्नएकिकरण गर्ने उद्देश्य लिएर आफुले दुबै समूहलाई समर्थन नगरी नेकपा एकता राष्ट्रिय अभियानको संयोजक बनेर अगाडी आएको गौतमले बताएका छन् ।

उनले विभाजन रोक्न नसके नेपाली जनताले कहिल्यै माफी नदिने पनि बताएका छन् । उनले भनेका छन्,–‘यो पार्टी विभाजनमा सामेल हुने र विभाजनलाई नेतृत्व गर्ने कुनै पनि नेतालाई यदि पुर्नएकीकरणको अवस्थामा सामेल हुनुभएन भने लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समृद्ध समाजवाद निर्माणलाई समर्थन गर्ने नेपाली जनताले कहिल्यै माफी दिने छैनन् ।’ उनले पार्टीका नेता कार्यकर्तालाई जो जँहा जुन अवस्थामा रहेपनि नेकपा एकता अभियानको नाममा संगठन खडा गर्न र विभाजनमा ढल्केकाहरुलाई सम्झाउन आग्रह गरेका छन् ।

उनले पार्टीका कुनै समुहका नेता कार्यकर्तालाई गालीगलौजको शैलीमा विरोध नगर्न आग्रह गर्दै अगाडी भनेका छन्,–‘घरमा आउने कमरेडहरुलाई आफुसक्दो सहयोग गर्नुहोस । सबैलाई सम्मान गर्ने कसैलाई पनि अपमान नगर्ने समाजवादी शैली अपनाउनुहोस ।’ प्रधानमन्त्री ओलीलाई समेत उनले पार्टी अध्यक्ष आफुलाई छोड्न आग्रह गरेका छन् । उनले ओलीले अध्यक्ष दिएमा ओली समुहतिर लाग्ने गरी वार्गेनिड गरिरहेको आरोप पनि लागेको छ । 
 

प्रतिक्रिया दिनुहोस