विकास बाहिरबाट आयात गर्ने विषय होइन, नेपालको आफ्नै मोडल चाहिन्छ : ज्ञानेन्द्र शाही

सफल खबर संवाददाता

शनिबार, २० असार २०८३, १० : ५१

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नेपालको विकासका लागि विदेशी मोडलको अनुकरण गर्न नहुने बताएका छन्। ‘चिनियाँ कम्युनिस्ट पार्टीको १०५ वर्ष: ऐतिहासिक अनुभव र नेपालको विकास’ सम्बन्धी विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले विकास बाहिरबाट आयात गर्ने विषय नभएको स्पष्ट पारेका हुन् । 

नेपालको भौगोलिक र सामाजिक परिवेशमा अन्य देशमा सफल भएका विकासका मोडल हुबहु लागू हुन नसक्ने भन्दै उनले नेपाली माटो र यथार्थमा आधारित मौलिक मार्ग अवलम्बन गर्नुपर्नेमा जोड दिए। राष्ट्रिय हितलाई केन्द्रमा राखेर नेपालको आफ्नै विकास मार्ग निर्माण गर्नुपर्ने उनको भनाइ छ।

नेपालको मुख्य समस्या सम्भावनाको अभाव नभई कार्यान्वयनको कमजोरी रहेको शाहीले बताए। ‘विकास बाहिरबाट आयात गर्न सकिने विषय होइन, न त कुनै अर्को देशको विकासको मोडललाई जस्ताको तस्तै नक्कल गरेर सफलता हासिल गर्न सकिन्छ,’ शाहीले भने, ‘एउटा देशमा सफल भएको विकास मोडल हिमालको काखमा रहेको नेपालमा हुबहु लागू हुन सक्दैन।’ नेपाल प्राकृतिक स्रोत, अपार जलस्रोत तथा विश्वका दुई ठूला अर्थतन्त्रबीच अवस्थित रणनीतिक भौगोलिक अवस्थाले सम्पन्न राष्ट्र भए पनि कार्यान्वयन पक्ष फितलो हुँदा पछि परेको उनले उल्लेख गरे।

दैनिक हजारौँ ऊर्जाशील नेपाली युवा भविष्य खोज्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशिनु दुःखद रहेको उनले बताए। स्वदेशमै पर्याप्त अवसर नहुँदा नेपालले वस्तुको सट्टा मानव स्रोत निर्यात गरिरहेको शाहीको भनाइ छ। अन्तर्राष्ट्रिय बजारमा वस्तु निर्यात गर्नुपर्ने बेलामा दक्ष जनशक्ति विदेश पठाउनुपरेकाले देशको आर्थिक रूपान्तरणको गति अपेक्षित रूपमा अघि बढ्न नसकेको उनले बताए। यसको समाधानका लागि स्थानीय उद्योगको विकास, कृषिको आधुनिकीकरण र स्वच्छ ऊर्जाको अधिकतम उपयोग आवश्यक रहेको उनको धारणा छ। साथै, नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन राज्यले दीर्घकालीन संरचनात्मक लगानी र पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने उनले सुझाए।

नेपाल–चीन सम्बन्धबारे बोल्दै नेता शाहीले दुई देशबिचको सम्बन्ध पारस्परिक सम्मान, सार्वभौमिक समानता, भौगोलिक अखण्डताको सम्मान र अहस्तक्षेपको सिद्धान्तमा आधारित रहेको बताए। आर्थिक रूपमा आत्मनिर्भर, शक्तिशाली र स्थिर नेपाल नै यस क्षेत्रको शान्ति र स्थिरताको बलियो आधार हुने उनको दाबी छ।

प्रतिक्रिया दिनुहोस