काठमाडौँ । ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापामगरले श्रीमती ईश्वरी भुजेलको हत्या गरेको स्वीकार गर्दै कानुनबमोजिमको सजाय भोग्न तयार रहेको बयान दिएका छन्। उनले अनुसन्धानका क्रममा दिएको बयानमा आफूले धारिलो चक्कुले श्रीमतीको घाँटी रेटेर हत्या गरेको स्वीकार गरेका हुन्।
बयानअनुसार नेपाली सेनामा कार्यरत रहँदा ईश्वरी भुजेलसँग चिनजान भई प्रेम विवाह भएको थियो। केही वर्षपछि सेनाको जागिर छाडेर वैदेशिक रोजगारीमा गएका उनी नेपाल फर्किएपछि सामाजिक सञ्जाल टिकटकमार्फत ‘नेपाली ब्रो’का रूपमा चर्चित बनेको र त्यसक्रममा विभिन्न व्यक्तिसँग चिनजान बढेको बताएका छन्।
उनले टिकटकमार्फत प्रतिक्षा आचार्यसँग चिनजान भई पछि प्रेम सम्बन्धमा परिणत भएको तथा उनीहरूबीच पटक–पटक भेटघाट र शारीरिक सम्बन्धसमेत भएको बयान दिएका छन्। यही सम्बन्धका कारण श्रीमतीसँग मनमुटाव बढ्दै गएको र त्यसपछि वैवाहिक करणी तथा सम्बन्ध विच्छेदसम्बन्धी मुद्दा अदालतमा पुगेको उनको दाबी छ।
बयानमा उनले आफूले पटक–पटक मिलापत्रको प्रयास गरेको उल्लेख गरेका छन्। घटनाको दिन वैवाहिक करणी र सम्बन्ध विच्छेदसम्बन्धी मुद्दाको पेशी रहे पनि श्रीमती अदालतमा उपस्थित नभएको र त्यसपछि घरमा काम गर्ने युवती तथा छोरासँग भएको विवादका कारण आफू थप तनावमा परेको उनले बताएका छन्।
त्यसपछि घरबाट कार लिएर निस्किएको क्रममा ड्युटी सकेर स्कुटरमा घर फर्किरहेकी श्रीमतीलाई देखेपछि आफूले पछ्याएको र गाडीमा राखेको धारिलो चक्कु लिएर पछाडिबाट समात्दै घाँटी रेटेको उनले बयानमा स्वीकार गरेका छन्। घटनापछि चक्कु फालेर कारमा फर्किएको र त्यसपछि पक्राउ परेको विवरण पनि उनले दिएका छन्।
अनुसन्धानका क्रममा बरामद भएको चक्कु आफूले प्रयोग गरेको हतियार नै भएको तथा घटनास्थल आसपासको सीसीटीभी फुटेजमा देखिएको व्यक्ति पनि आफू नै रहेको उनले स्वीकार गरेका छन्। फुटेजमा देखिएको महिला आफ्नी श्रीमती ईश्वरी भुजेल रहेको उनको बयानमा उल्लेख छ।
नेपाली ब्रोको पूरा बयानः
मलाई नामथर थाहा हुन आएको राजु भट्टराई भन्ने मानिसको घरतर्फ अर्थात घटनास्थलतिर जाने बाटोतर्फ स्कुटर मोडिन् । मैले पनि निज श्रीमतीले चलाएको स्कुटर मार्फत निजलाई चिनी हाले । म गाडीबाट झरी मैले सधैं गाडीमा बोक्ने बटनवाला धारिलो चक्कु निकाली गोजीमा राखि निज श्रीमती ईश्वरी भुजेललाई पिछा गर्दै गएँ । सो बाटोको अन्तिमतिर घर भएकाले बाटो त्यहाँसम्म मात्रै रहेछ । निज श्रीमती ईश्वरी भुजेलले स्कुटर रोकी घरको वालतर्फ गएकोमा मैले पछाडी गोजीबाट चक्कु निकाली हातमा चक्कु समाई समात्न खोज्दा निज श्रीमती ईश्वरी भुजेलले प्रतिकार गर्न खोजिन् । त्यसपछी मैले निजलाई पछाडीबाट समाई हातले अंगालो मारे जस्तो गरी नियन्त्रणमा लिई मैले साथमा बोकेको धारिलो चक्कुले निज श्रीमती ईश्वरी भुजेलको घाँटी रेटी सोही स्थानमा मरिन् भनि छाडी त्यहाँबाट हिड्दै गाडी भएको ठाउँतर्फ आई वारदातमा प्रयोग गरेको चक्कु गाडी रोकेको ठाउ नजिकै बाटो छेउमा फाली, आफ्नो कार चलाई बालाजुतर्फ आएको हुँ । गाडीलाई बालाजु चमातीस्थित सडक छेउमा छाडी प्रहरी कार्यालयतर्फ आउने क्रममा पक्राउ परेको हुँ ।
अनुसन्धानको क्रममा मैले वारदातमा प्रयोग गरेको चक्कु मेरो रोहवरमा बरामद भएको हो । श्रीमती ईश्वरी भुजेलको चक्कुले घाँटी रेटी कर्तव्य गरी मारेकोमा कानुन बमोजिम सहन भोग्न मञ्जुर छु । प्रस्तुत वारदातमा अन्य प्रतिवादीहरु कोही कसैको संलग्नता छैन । प्रतिवादी पुजन थापा क्षेत्रीको बालाजुस्थित रिकण्डिसन हाउसमा म र प्रतिवादी प्रतिक्षा आचार्य गइरहने र मैले निजको रिकण्डिसनमा रहेका गाडीहरुको भिडियो बनाई टिकटकमा हाल्ने गरेको थिएँ । प्रतिवादी पुजन थापा क्षेत्री, बिक्रम थापामगर मेरो र प्रतिक्षा आचार्यको सम्बन्ध बारेमा थाहा जानकारी भएका मानिस हुन् । प्रतिवादी बिक्रम थापामगर मेरो सहोदर भाई हुन् । निज प्रतिवादीहरुको प्रस्तुत वारदातमा संलग्नता छैन । मिसिल संलग्न सिसिटिभी फुटेजमा देखिएको कारबाट झरी पैदल हिँडी स्कुटरमा सवार महिलाको पछी-पछी जाने र फर्कि आई गाडी चढी गोजीबाट केही चिज निकाली फालेकोजस्तो देखिने मानिस म हुँ । स्कुटरमा सवार महिला मेरी श्रीमती ईश्वरी भुजेल हुन् । सो फुटेज वारदात समयको फुटेज हो । मैले श्रीमती ईश्वरी भुजेललाई चक्कु प्रहार गर्ने बेलाको र चक्कु प्रहार गरिसकेपछी चक्कु फाली आफ्नो कारमा चढी आउने बेलाको सिसिटिभी फुटेजहरु हुन् । हेरी चिनी सनाखत गरी दिए भन्ने समेत व्यहोरा भन्ने व्यहोराको प्रतिवादी नेपाली ब्रो भन्ने कुमार थापामगरले गरेको बयान ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ असार २०८३, ११ : ५६
लेखकबाट थप