भरतपुर महानगरपालिकाको नगरसभा : महानगरकै लगानीमा निर्माणाधीन छन् दर्जनौँ आयोजना

सफल खबर संवाददाता

मंगलबार, २८ पुस २०७७, १२ : २३
भरतपुर महानगरपालिकाको नगरसभा : महानगरकै लगानीमा निर्माणाधीन छन् दर्जनौँ आयोजना

चितवन । भरतपुर महानगरपालिकाले आफ्नै लगानीमा सञ्चालन गरेको दर्जनौँ आयोजनाहरु तीव्र गतिमा निर्माण भइरहेका छन् । महानगर प्रमुख रेनु दाहालले सातौँ नगरसभामा महानगरकै लगानीमा सञ्चालन भएका आयोजनाहरु तीव्र गतिमा निर्माण भइरहेका जानकारी गराइन् । उनका अनुसार कोभिड १९ का कारण पनि ती आयोजनाहरुले निर्माणमा तीव्रता पाइरहेका छन् । 

भरतपुर मेट्रो प्लाजा, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, मेयरसँग महिला तथा जोखिममा परेका समुदायसँग मेयर कार्यक्रम, खानेपानी विस्तारका कार्यक्रमलगायतका दर्जनौ आयोजनाहरु निर्माणको अन्तिम चरणमा छन् भने कतिपय आयोजनाहरु निर्माण सम्पन्न भइसकेका छन् । 
आफ्नो तीन वर्षको कार्यकालको समीक्षात्मक पत्रकार सम्मेलनमा महानगर प्रमुख दाहालले महानगरकै लगानीमा दर्जनौँ आयोजनाहरु सञ्चालनमा रहेको बताइन् । उनले भनिन्, ‘कतिपय आयोजनाहरु अन्तिम चरणमा पुगेका छन्, बाँकी दुई वर्षको अवधिमा सबै आयोजनाहरु पूरा गर्ने लक्ष्यका साथ दौडिरहेका छौँ ।’

महानगरको आफ्नै लगानीमा सञ्चालित आयोजनाहरु 

भरतपुर मेट्रो प्लाजा 

भरतपुर महानगरपालिका वडा नं. ३ मा महानगरको स्वामित्वमा रहेको करिव ११ कठ्ठा जग्गामा पीपीपी मोडेलमा बहुद्देश्यीय भवन निर्माणको प्रस्ताव मूल्याङ्कनको अन्तिम चरणमा रहेको छ । 
निर्माण अवधि ३ वर्ष र सञ्चालन अवधि २७ वर्ष गरी जम्मा ३० वर्षको लागि निजी क्षेत्रलाई निर्माण सञ्चालन तथा हस्तान्तरण विधिबाट निर्माण हुने गरी आगामी १ महिनाभित्र सम्झौता गर्ने गरी तयारी कार्य भइरहेको छ्र ।

गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला

देशकै गौरवको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि महानगरको पहलमा प्राप्त भएको जग्गामा निर्माण कार्य तीव्र रूपमा अगाडि बढेको छ । महानगरपालिकाको सक्रियतामा सञ्चालन भएको धनधान्यांचल महायज्ञको माध्यमबाट करिव रु ७० करोड रकम सङ्कलन गरेको तथा आन्तरिक स्रोतबाट यसै आवमा रु ४ करोड अनुदान स्वरूप उपलब्ध गराएको छ । क्रिकेट रङ्गशाला परिसरमा हालै राष्ट्रिय क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ भने अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न सकिने गरी मैदान तयारी हुँदैछ । यसबाट खेल पर्यटनको विकास हुने अपेक्षा लिइएको छ ।

खानेपानीतर्फ

नगरबासीलाई शुद्ध र गुणस्तरीय पिउने पानी प्रवाह गर्न व्यवस्थित खानेपानी सञ्जाल निर्माण गरी खानेपानी वितरण प्रणाली व्यवस्थित गर्न महानगरपालिकाको सहलगानीमा शारदानगर खानेपानी आयोजनाका लागि रु ६२ करोड, भरतपुर ११ को जखडीमाई खानेपानी आयोजनाका लागि रु ३७ करोड, दिव्यनगर खानेपानी आयोजनाका लागि रु २६ करोड, पार्वतीपुर खानेपानी आयोजनाको लागि रु १८ करोड, मेघौली खानेपानी आयोजनाको लागि रु १८ करोड, धनगढा खानेपानी आयोजनाका लागि रु २१ र गीतानगर खानेपानी आयोजनाका लागि रु छ करोड, दिव्यनगर खानेपानी आयोजनाको लागि रु तीन करोड ५० लाख, पटिहानी खानेपानी आयोजनाको लागि रु ६ करोड, देवनगर खानेपानी आयोजनाको लागि रू. ३ करोड ५० लाख, शिवनगर खानेपानी आयोजना रु १८ करोड, चौकीडाँडा खानेपानी (लिफ्टिङ्ग) आयोजना गरी २ अर्ब ४१ करोड भन्दाबढीका आयोजनाहरू सञ्चालनमा छन् भने केही आयोजनाहरू सम्पन्न भइसकेका छन् । यी सबै आयोजना सम्पन्न हुँदा भरतपुरको खानेपानी प्रणाली व्यवस्थित हुने अपेक्षा लिइएको महानगर प्रमुख रेनु दाहालले जानकारी गराइन् । 


 
मेयरसँग महिला तथा जोखिममा परेका समुदायसँग मेयर कार्यक्रम

मेयरसँग महिला तथा जोखिममा परेका समुदायसँग मेयर कार्यक्रमअन्तर्गत गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने कार्यक्रम साथै आर्थिक विपन्न छात्राहरूलाई साइकल वितरण र क्षमता विकासलगायतका कार्यक्रमका लागि कार्यविधि तयार गरी कार्यान्वयनको चरणमा रहेको छ । झन्डै ३०० छात्राहरुलाई साइकल वितरण गरिसकिएको छ । 

कृषि विकासका लागि यान्त्रिकीकरण कार्यक्रम

सामुहिक खेतीतर्फ कृषकहरू आकर्षित गरी कृषि उत्पादनमा वृद्धि तथा रोजगारी  सृजना हुनुका साथै आयात प्रतिस्थापन हुने विश्वास लिइएको यस कृषि विकासका लागि यान्त्रिकीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि तयार भएको छ । यसअन्तर्गत कृषकलाई कृषि उपकरण उपलब्ध गराउने लगायतका कार्यक्रमहरू रहेका छन् ।

नारायणी नदी किनारलाई सीबीच मोडेलमा विकास गर्ने

भरतपुर महानगरपालिकाको वडा नं. १ र ३ को नारायणी नदी किनारालाई सीबीच  मोडेलमा विकास गरी स्वदेशी तथा विदेशी पर्यटक आकर्षण गरी आर्थिक क्रियाकलापमा वृद्धि गर्ने प्रयोजनको लागि  गत आवमा महानगरबाट रु १ करोड रकम खर्च भई फुटपाथ बनेको तथा यस आवमा पर्यटन मन्त्रालयबाट करिब ७ करोडको टेन्डर आह्वान भइसकेको छ ।

यातायात कार्यालय स्थापनासम्बन्धी कार्य

यातायात कार्यालयको स्थापनाको लागि महानगरपालिकाको तर्फबाट सम्पूर्ण तयारी कार्य अगाडी बढेको छ । यस कार्यालयको स्थापनाबाट स्थानीय राजश्वमा वृद्धि, स्थानीय आर्थिक क्रियापकलापहरूमा वृद्धि र स्थानीय बासिन्दाले सहज रूपमा सुविधा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

यस्ता छन् थप आयोजना 

हुलाकी सडक
हाकिमचोक जगतपुर हुलाकी सडकमध्ये हाकिमचोकबाट पकौडीसम्म हालको छ मि. सडकलाई ७ मि. कालोपत्रे बनाउने र बाँकी ९ कि.मि. सडकखण्डलाई सतहढल निर्माणसमेत गरी स्तरोन्नति गर्ने कार्य भइरहेको छ ।

भरतपुर विमानस्थल
भरतपुर विमानस्थल तोकिएको मापदण्डभन्दा कम भई जोखिमयुक्त भएको र हालको मागलाई धान्न ठूला विमान ल्याउन आवश्यक समेत भएकोले विमानस्थल विस्तार एवं सुधार गर्नका लागि विगत लामो समयसम्मको प्रयासपछि विभिन्न चरणमा छलफल गरि गति लिएको छ । यसको निर्माण कार्य निकट भविष्यमा हुने विश्वास लिएको छ ।

चौबिसकोठी मेघौली सडकखण्ड (सहायक राजमार्ग) 
चौबिसकोठी रामपुर चनौली मेघौली सडकखण्डमध्ये हाल रामपुर चनौलीखण्ड निर्माण सम्पन्न भएको छ । साथै चनौली (मेघौली सडकखण्डको निर्माण र मर्मत कार्य अगाडि बढिरहेको छ । 

सिटी हल 
महानगरको गौरवको योजनाको रूपमा रहेको सिटीहल निर्माणको लागि रू. ८८ करोड सघन सहरी तथा भवन आयोजनाबाट ठेक्का सम्झौता भई निर्माण कार्य शुरू भइसकेको छ ।

पुल्चोक गोन्द्राङ ६ लेन सडक 
सडक विभागबाट निर्माणाधिन यस सडकको रु १ अर्ब १२ करोडको ठेक्का सम्झौता भई निर्माण कार्य सुरु भइसकेको छ । यस सडकको निर्माणबाट आधुनिक र व्यवस्थित फुटपाथ सहितको सडक निर्माण हुनुको साथै महानगरको सौन्दर्यमा वृद्धि हुनेछ । साथै सहरी विकास कार्यालयमार्फत् लक्ष्मीनारायण मन्दिर, रानीपोखरी पार्क, विरामी कुरूवा घर, भरतपुर केन्द्रीय बस टर्मिनल गरी रु ३१ करोडको काम अन्तिम चरणमा पुगेका छन् ।

स्मार्ट सडकबत्ती :
महानगरपालिकाको पहल र २०५ लागत सहभागितामा रु २० करोडको लागतमा निर्माणाधिन यस योजनामा नेपाल विद्युत प्राधिकरणबाट बोलपत्र आह्वान भई सम्झौता भएर सात महिनाभित्र कार्य सम्पन्न गर्ने गरी कार्य प्रारम्भ भइसकेको छ ।

महानगररीय रिङरोड
करिब ९५ कि.मि. महानगरीय रिङ्गरोडको लागि सडक विभागबाट डीपीआर तयार भइसकेको छ । सहरी विकास तथा भवन निर्माण विभागबाट ११.५ किमि. सडक निर्माण कार्य सम्पन्न हुने चरणमा छ । सडक विभागबाट यही आव.मा रिङ्गरोड निर्माणका लागि बाँकी खण्ड ठेक्कापट्टा गर्ने गरी आवश्यक कार्य अगाडि बढाइएको छ । रिङ्गरोडको केही खण्ड महानगरको बजेटबाटसमेत स्तरोन्नति गरिएको छ ।

प्रतिक्रिया दिनुहोस