भरतपुर महानगरपालिकाको सातौँ नगरसभा : कोभिड १९ को कारण पनि उत्साहजनक राजस्व संकलन

सफल खबर संवाददाता

मंगलबार, २८ पुस २०७७, ११ : ३५
भरतपुर महानगरपालिकाको सातौँ नगरसभा : कोभिड १९ को कारण पनि उत्साहजनक राजस्व संकलन

चितवन । चितवनको भरतपुर महानगर सातौँ नगरसभा सम्पन्न भएको छ । कोरोनाका कारण देशको आर्थिक अवस्था मजबुद हुन नसक्दा पनि भरतपुर महानगरले राम्रै राजस्व संकलन गर्न सफल भएको महानगर प्रमुख रेनु दाहालले जानकारी दिइन् । यद्यपी गत वर्षको तुलनामा भरतपुर महानगरमा राजस्वमा कमी आएको छ । 

भरतपुर महानगरको सातौ नगरसभामा नगर प्रमुख रेनु दाहालबाट भएको आर्थिक वर्ष २०७७\०७८ को नीति तथा कार्यक्रम एवं बजेट कार्यान्वयनको समीक्षात्मक प्रस्तुतिमा कोभिड १९ का कारण पनि राजस्व संकलनमा निराश हुनुपर्ने अवस्था नरहेको उल्लेख छ । २०७७ साल पौष २३ गतेसम्म महानगरपालिको आन्तरिक राजस्व रु २२ करोड २७ लाख ९९ हजार १४ रुपैयाँ संकलन भएको छ ।

जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.४१ प्रतिशत अर्थात् रु ९८ लाख ३३ हजार ४३६ सय ४६ ले कमी भएको महानगर प्रमुख दाहालले बताइन् ।  उनका अनुसार विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ को प्रभाव लगायतका कारण महानगरपालिकाको आन्तरिक आयमा केही कमी आएको छ । यद्यपी यस अवधिसम्मको आन्तरिक आयको तथ्याङ्कलाई विश्लेषण गर्दा निराशाजनक अवस्था नरहेको प्रमुख दाहालको भनाइ छ । 

चालु आवको बाँकी अवधिमा लक्ष्य अनुसार राजस्व असूलीका लागि साना ठूला करदातको सूचीकरण, वडामा स्थलगत रूपमा कर शिक्षा र स्थलगत रूपमा व्यवसाय दर्ता अभियान सञ्चालन, करदाताको कर अभिलेखाङ्कन डिजिटाइजेसन तथा अनलाइन भुक्तानीको व्यवस्था जस्ता उपायहरू अवलम्बनमा जोड दिई करको दायरा फराकिलो पार्दै लगिएको प्रमुख दाहाल बताउँछिन् । करदातामैत्री प्रणाली विकास मार्फत् करको लक्ष्य हासिल गर्न सकिने उनको भनाइ छ । 

महानगर प्रमुख दाहालले नगर सभामा चालु आर्थिक वर्ष २०७७÷०७८ को लागि कूल राजस्व रु ३ अर्ब ३१ करोड ६४ लाख ८९ हजारमध्ये आन्तरिक श्रोततर्फ रु ९० करोड अनुमान गरिएको जानकारी गराएकी थिइन् । उनका अनुसार उक्त आन्तरिक राजस्वका श्रोतका शीर्षकहरूमा मुख्य रूपमा घर वहाल करतर्फ रु ८ करोड, नक्सा पास दस्तुरतर्फ रु ७ करोड २० लाख, एकीकृत सम्पत्ति करतर्फ रु ४ करोड, व्यवसाय दस्तुरतर्फ रु ६ करोड, विभिन्न सिफारिस दस्तुरतर्फ रु ७ करोड, अन्य क्षेत्र आय रु ४० करोड, अन्य बिक्रीमा ढुङ्गा, गिट्टीलगायतका बिक्रीबाट जम्मा रु ६ करोड ८० लाखसमेत गरी राजस्व प्रक्षेपण गरिएको थियो ।
 

प्रतिक्रिया दिनुहोस