प्रधान सेनापतिको कार्यकाल थप्ने भित्री सम्झौता !

सफल खबर संवाददाता

आइतबार, १९ पुस २०७७, ०९ : ०२
प्रधान सेनापतिको कार्यकाल थप्ने भित्री सम्झौता !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रधान सेनापति पूर्णचन्द्र थापाका बीचमा म्याद थप गर्ने भित्री सम्झौता भएको छ । ओलीले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधीमा जाने निर्णय औपचारिक रुपमा लिनुपूर्व प्रधानमन्त्री र प्रधानसेनापतिको भेटमा यो खालको भित्री सम्झौता भएको खुलेको छ ।

एक सैनिक उच्च स्रोतले दिएको जानकारी अनुसार, ३ पुसमा भएको ओली र थापाबीचको भेटमा यो सम्झौता भएको हो । प्रधानसेनापतिको कार्यकाल ३ वर्षको हुन्छ । उमेरको हदबन्दी ६१ वर्ष । पूर्णचन्द्र थापा २०७८ भदौंबाट सेवा निवृत हुने मध्येमा पर्थे । तर उनले आफनो आयु थप्ने योजनामा प्रधानमन्त्री ओलीलाई सघाउने वचन दिएर फर्केको स्रोतको भनाइ छ । थापाको म्याद थपको विषय निक्कै पहिलेदेखि उठेको हो । नेकपाभित्रको आन्तरिक द्वन्द्व चर्किदै गर्दा प्रधान सेनापति थापाले पनि ओलीले खोजेको सहयोगमा आफनो लागि कुनै न कुनै सम्झौता गर्न चाहे । त्यसपछि उठेको हो, म्याद थपको विषय ।

प्रधानमन्त्री ओली र प्रधान सेनापति थापाका बीचमा थापाको म्याद एक वर्ष थप गर्ने कि एक कार्यकाल अर्थात् ३ वर्ष थप गर्ने भन्नेमा कुरा मिलेको थिएन । ओली थप गर्नुपर्ने अवस्थामा एक वर्ष र थापा एक कार्यकाल अर्थात तीन वर्ष नै थप गर्ने पक्षमा उभिए । कुरा गएको जेठ असार तिरकै हो ।  थापाको म्याद थपको विषय छलफलमा आएको । शुरुमा ओलीले १ वर्ष मात्र थप गर्न खोजे । तर सेनापति थापाले एक कार्यकालको कुरा गरे । कुरा मिल्न सकिरहेको थिएन । जब ओलीले प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जाने निर्णय लिए, त्यसबेला भने सेनापतिको साथ आवश्यक ठानेर उनले एक कार्यकाल म्याद थपको विषयमा सम्झौता गरेको हुन सक्ने सैनिक मुख्यालयको उच्च स्रोतले जानकारी दियो ।

एक वर्ष म्याद थप भए थापाको पदावधी २०७९ भदौंसम्म कायम हुनेछ । तर तीन वर्षको थपिएमा भने २०८१ भदौंसम्मको हुनेछ । यसरी एक कार्यकाल म्याद थप भएमा उनी पछिको प्रधानसेनापति बन्नेहरुको रोलक्रममै पनि फेरबदल आउनेछ । जसका कारण उनको म्याद थपको चाहनाभित्र सैनिक मुख्यालयका अन्य अधिकृतहरु खास सन्तुष्ट छैनन् । ओलीको चाहनामै सैनिक मुख्यालयले देशमा संकटकाल लगाउने प्रस्ताव पनि सिफारिस गरेर मन्त्रिपरिषद् पठाइसकेको छ । तर त्यसमा सरकारले औपचारिक निर्णय भने लिएको छैन ।

ओलीले वैशाख १७ र २७ मा चुनाव गराउने गरी निर्वाचनको मिति त घोषणा गरेका छन् । तर ओली स्वयम्ले निर्वाचन आयोगका पदाधिकारी र सुरक्षा निकायका पदाधिकारीहरुसँगको छलफलमा चुनाव मंसिर यता सम्भव नै नहुने वताएका छन् । उनले अहिले संविधानको ब्यवस्था अनुसारमात्रै वैशाखमा निर्वाचन मिति तोके पनि आगामी फागुनतिर संकटकाल लगाएर चुनाव मंसिरमा सार्ने भित्री तयारी ओलीले थालिसकेका छन् । विभाजन भएको पार्टीको वडा तहसम्मै संगठन निर्माण चुनाव अगाडी आवश्यक भएकोले वैशाखमा चुनाव गराउने योजनामा ओली तयार छैनन् ।

त्यसका लागि पनि उनले प्रधान सेनापति थापालाई मनाउनुपर्ने बाध्यता छ । जसका कारण पनि उनी र थापाबीच म्याद थपको भित्री सम्झौता भइसकेको स्रोतहरुको भनाइ छ । तर अहिलेसम्म प्रधानसेनापतिको म्याद थप भएको नजिर छैन ।  तर पनि ओलीले उनको लागि म्याद थप गरेर आफनो मिसन अनुसार खुसी बनाउने प्रयत्न गरेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस